लुम्बिनीलाई राष्ट्रपति रनिङ सिल्ड

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको च्याम्पियन ट्रफी जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बिहीबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदक जितेको हो । प्रतियोगितामा ६ खेल समावेश थियो ।

लुम्बिनीलाई राष्ट्रपति रनिङ सिल्ड

दोस्रो भएको वाग्मती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य जित्यो । तेस्रो स्थान हासिल गरेको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले ५–५ स्वर्ण जिते । गण्डकीले थप ११–११ रजत र कांस्य पनि जित्यो । कर्णालीले १० रजत र १५ कांस्य थपेको थियो ।

प्रतियोगितामा चार कीर्तिमान स्थापित भए । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले दुई व्यक्तिगत र एक टिम स्पर्धामा कीर्तिमान रचिन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमान उछिनिन् । १ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारू र सम्झना थारूसँग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । छात्र लङजम्पमा सुदीप थारूले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान रचेका थिए ।

प्रत्येक कीर्तिमानका लागि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कुल नगद पुरस्कार राशि ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेस्रोपटक हो ।

कीर्तिमान बनाएका निशा चौधरी र सुदीप थारू । तस्बिर : राखेप

भलिबलको छात्रमा गण्डकी र छात्रामा वाग्मती च्याम्पियन भए । त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५, १५–१२ को सेटमा हरायो । कर्णाली तेस्रो भयो । छात्रा उपाधि भिडन्तमा वाग्मतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९, १५–७ ले हरायो । गण्डकी तेस्रो बन्यो ।

त्यस्तै, कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोबिन लिगमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोस्रो भयो । छात्रामा सुदूरपश्चिम बुधबार नै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । मार्सल आर्ट्समा वाग्मतीकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा वाग्मती टिम च्याम्पियन बन्यो ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराईले पुरस्कृत गरे ।

प्रकाशित : असार ३१, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?