राहत महसुस गर्दै छन् फराह- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहत महसुस गर्दै छन् फराह

‘फराहभित्र एक प्रकारको दुःख थियो, वृत्तचित्रमा बोलेपछि उनलाई राहत भएको छ’
द गार्डियन

लन्डन — सर मो फराहले अहिले निकै राहत महसुस गरिरहेका छन् । तत्कालको राहत हो, उनलाई बेलायतको गृह मन्त्रालयले कारबाही गर्ने छैन । उनी बेलायत गैरकानुनी तरिकाले आएका थिए । पूरा जीवनकै उनले महसुस गरेको राहत हो । आखिरमा उनले आफ्नो वास्तविक जीवनी बताउन सके । उनले केही लुकाएनन् । ओलम्पिक स्टार फराहले यसअघि भनेका थिए, आफ्नो वास्तविक नाम ‘हुसैन अब्दी कहिन’ हो । तर उनले बेलायतमा मोहम्मद फराहको नाममा नागरिकता लिए ।

फराहलाई यो नाम त्यो समूहले दिएको थियो, जसले गैरकानुनी तरिकाले उनलाई बेलायत ल्याएका थिए । उनले यो जानकारी बीसीसीको एक वृत्तचित्रमा बताएका हुन् । उनले त्यसमा के बताएका छन् भने उनका आमाबुवा कहिल्यै पनि बेलायत आएनन् । उनका बुवा अब्दी त सोमालिल्यान्डमा भएको गृहयुद्धका क्रममा मारिए । त्यति बेला उनी चार वर्षका मात्र थिए । अहिले पनि उनका दुई भाइ सोमालिल्यान्डको कुनै फार्ममा काम गरिरहेका छन् ।

फराहले आफ्नो यो वास्तविकता बताए पनि बेलायतको गृह मन्त्रालयले उनलाई कुनै कारबाही गर्ने छैन । अझ सबैभन्दा ठूलो कुनै जाँच पनि गरिने छैन । यसलाई लिएर फराहले प्रतिक्रिया दिएका छन्, ‘यसले मलाई तत्काल धेरै राहत दिएको छ । यो मेरो देश हो । यदि एलेन (पीई टिचर) ले मलाई समर्थन गर्दैन थिए त मैले यो कथा भन्ने हिम्मत पनि गर्दिनँ थिएँ । उनले मलाई सानो छँदा पनि साथ दिएका थिए । मेरो जीवनमा धेरैको ऋण लागेको छ, धेरैको सहयोग छ । विशेषतः मेरी श्रीमतीको ।’

उनले थपे, ‘विशेषतः श्रीमतीले मेरो खेलजीवनमा साथ दिए । उनले नै मलाई आफ्नो कथा सबैका अगाडि भन्न प्रेरित गरेकी हुन् । उनको हिसाबमा मैले यस्तो गर्नु नै ठीक थियो । मलाई आफ्नो कथा परिवारलाई भन्न पनि गाह्रो थियो । सार्वजनिक रूपमा म जहिले पनि आफूलाई एक्लो महसुस गरिरहेको थिएँ । तर अहिले म खुसी छु र धेरै राहत महसुस गरिरहेको छु । मैले वृत्तचित्रमा सबै भनेको छु, मेरो बाल्यकालमा वास्तवमै के भएको थियो भनेर ।’

त्यस वृत्तचित्रमा उनले आफू कसरी बेलायत आएँ, आफ्नो बाल्यकाल कसरी बित्यो र सन् २०१२ को लन्डन ओलम्पिकमा पदक जित्दाको अनुभवबारे खुलेर बताएका छन् । फराहका अनुसार उनी भाग्यमानी रहे, किनभने उनले खेलकुद रोजे । त्यसले उनलाई अन्तर्राष्ट्रिय ख्याति दियो । तर उनी जस्ता धेरै छन्, जो अहिले पनि लन्डनका गल्लीमा त्यसै घुमिरहेका छन् । यो आधुनिक गुलामीको नयाँ उदाहरण हो । उनीहरूको जीवन त्यसै खेर गइरहेको छ ।

पत्नी तानियाका साथ फराह ।

फराहकी श्रीमती हुन् तानिया । उनी पनि आफ्ना श्रीमानको कथा पहिलोपल्ट सुनेपछि स्तब्ध जस्तै भइन् । अनेक प्रकारका भावनात्मक आरोह अवरोहबाट गुज्रिइन् । तानियाले भनिन्, ‘पहिलोपल्ट कथा सुन्दा मलाई दुःख लाग्यो, म स्तब्ध भएँ । मलाई जसले फराहलाई यो परिस्थितिबाट गुज्रिन बाध्य पारे, उनीहरू देखेर रिस उठ्यो ।’ उनी के पनि मान्छिन् भने अन्ततः फराहले आफ्नो पूरा वास्तविकता भन्ने हिम्मत गरे र यो उनका लागि एकप्रकारले औषधि पनि हो ।

उनी भन्छिन्, ‘फराहभित्र एक प्रकारको दुःख थियो । वृत्तचित्रमा बोलेपछि उनलाई राहत भएको छ । यो एकप्रकारले उनका लागि औषधि हो ।’

बेलायतको कानुनअनुसार यदि कसैले गलत तरिकाले नागरिकता लिएको छ भने त्यसलाई रद्द गरेर देश निकाला गर्न सक्छ । तर फराहको घटनामा सरकारले यस्तो गर्ने छैन, किनभने जसरी गलत तरिकाले नागरिकता लिइएको थियो, यसमा तस्करी गरेर बेलायत पुगेका बच्चाहरूको कुनै दोष थिएन ।

फराहले अहिले आएर किन आफ्नो कथा भन्नुपरेको थियो त ? प्रश्न यो पनि रहन्छ । एक त उनी व्यक्तिगत रूपमा आफ्नो कथा भनेर पक्कै राहत महसुस गर्न चाहन्थे । दोस्रो उनी बेलायतमा हुने यस्तै मानव तस्करीलाई रोक्न चाहन्छन् । उनी भन्छन्, ‘म त धेरै भाग्यमानी रहें, किनभने मैले एथलेटिक्स रोजें र सफल भएँ । म अरूभन्दा अलग पनि थिएँ । तर यस्ता युवा अझै धेरै छन्, जसले सबै प्रकारका पीडा बेहोरेका छन् ।’

३९ वर्षे फराहले लन्डन २०१२ र रियो २०१६ ओलम्पिकमा ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित : असार ३१, २०७९ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्

जानिनन् खुसी मनाउन

साँच्चै एलेना रेबकिनालाई विम्बल्डन जितको खुसियाली नै मनाउन आएन
द गार्डियन

लन्डन — एक घण्टा र १८ मिनेट । काजकिस्तानकी एलेना रेबकिनालाई जम्मा यत्तिमात्र समय लाग्यो, विश्व टेनिसमा नयाँ इतिहास रच्न । उनी कुनै पनि ग्रान्ड स्लामको उपाधि जित्ने पहिलो काजाक खेलाडी भइन् । यसका लागि उनले विम्बल्डन टेनिसको महिला एकल फाइनलमा ओन्स जाबेरलाई हराइन् । यसको अर्थ अबदेखि रेबकिना सधैंका लागि कुनै न कुनै रूपमा विम्बल्डनसँग जोडिएकी छन् । फाइनलमा उनी ‘अन्डर डग’ थिइन् । किनभने सबैको इच्छा थियो जाबेरले जितोस् । 

साँच्चै जाबेरले जितेकी भए उनी यस्तो उपलब्धि हात पार्ने पहिलो अरबी खेलाडी हुन्थिन् । यसलाई लिएर अनेक कथा हुन्थे । उनको देशसँग ट्युनेसियासँग जोडेर अरब क्रान्तिकै कथा बुन्न सकिन्थ्यो । उनले फाइनलको सुरुआती सेट पनि जितिन्, तर २३ वर्षीया रेबकिनाले खेलमा बलियो पुनरागमन रचिन् । सन् २०११ यता विम्बल्डन जित्ने सबैभन्दा कान्छी खेलाडी बनिन् । त्यतिबेला पेट्रा भिटोभाले विम्बल्डन जितेकी थिइन् ।

जतिबेला रेबकिनाले साँच्चै उपाधि जितिन्, उनले खुसी नै मनाउन चाहिनन् । खासमा उनलाई आउँदैन पनि । मुसुक्कमात्र हाँसिन् । उनले जितको खुसीयाली बिरलै मात्र मनाएकी छन्, आफ्नो खेलजीवनमा । बरू, खेलको केही मिनेटपछि आफ्ना समर्थकतिर फर्केर तिनको अभिवादन स्वीकारिन्, त्यो पनि हल्का मुस्कानसहित । उनको जन्म मस्कोमा भएको थियो । रुसी आमाबुबाबाट । सन् २०१८ मा उनी काजकिस्तानकी थिइन् ।

उनले आफ्नो नयाँ देशका लागि फेड कप र ओलम्पिक पनि खेलिसकेकी छन् । अहिलेसम्म रेबकिना काजकिस्तानमा उति साह्रो लोकप्रिय नभएको हुनसक्छ, तर विम्बल्डन जितेयता सबै काजाकले कम्तीमा उनको नाम जान्ने छन् । कम्तीमा अब भने उनी सबैका प्रिय हुनेछिन् । ‘अब भने उनी काजकिस्तानमा सबैको मुखमा झुन्डिएको नाम हुनेछ,’ उनका प्रशिक्षक स्टेफानो भुकोभ भन्छन् । एक प्रकारले रेबकिना काजकिस्तानमै केही नयाँ जस्तै छिन् ।

उनी थप्छन्, ‘यो लोकप्रियता एकै देशमा मात्र सीमित नहोस् चारैतर्फ होस् । अब कम्तीमा विश्व टेनिसले रेबकिनालाई राम्रैसँग चिन्नुपर्नेछ ।’

अल इंग्ल्यान्ड क्लबलाई डर थियो, कतै रुसी पृष्ठभूमिका कारण रेबकिनालाई दर्शकले मन नपराऊने त होइनन् ? युत्रेनमाथिको आक्रमणका कारण रुसमात्र नभएर बेलारुस पनि विम्बल्डनमा प्रतिबन्धित छ । तर विम्बल्डनका दर्शकले २३ औं वरीयताप्राप्त खेलाडीलाई माया नै देखाए, केही खराब गर्ने प्रयास गरेनन् ।

प्रशिक्षक भुकोझ मान्छन्, युत्रेनमाथि भएको रुसी आक्रमणबाट अहिलेसम्म सबै स्तब्ध छन्, तर रेबकिनाले कुनै प्रकारको दबाब महसुस गर्नुपरेन, न त दुर्वचन । तर मिडिया न हो, उनलाई आफ्नो रुसी पृष्ठभूमिबारे तिनले सोध्न भने बिर्सेनन् । प्रशिक्षक भुकोभ के मान्छन् भने यस्तो प्रश्न आउन अपेक्षा त थियो नै । उनी भन्छन्, ‘यस्ता प्रश्न नकार्न सकिन्न, अहिलेको विश्वका लागि यो ठूलो मुद्दा हो । सबै चाहन्छन्, युक्रेनमाथिको आक्रमण रोकियोस् ।’

रेबकिनाको रुसीबाट काजाक बन्ने काम पनि आफैंमा सजिलो थिएन । रुसीहरूको प्रश्न नै थियो, किन यस्तो आवश्यकता रह्यो ? जता गयो, प्रश्न यही हुन्थ्यो । किन काजकिस्तान, किन रुस होइन ? तर रेबकिनाले यसको उत्तर लुकाउने प्रयास कहिल्यै पनि गरिनन् ।

बरु, अब के हुनेछ भने उनको विम्बल्डन सफलताले काजकिस्तानमा टेनिस अझ लोकप्रिय हुनेछ । स–साना बालबालिकाले टेनिस खेल्न सुरु गर्नेछन् र सपना बुन्नेछन्, कुनै दिन अर्को रेबकिना बन्ने ।

साँच्चै रेबकिनालाई आफ्नो जितको खुसियाली नै मनाउन आएन । रमाइलो के पनि छ भने यसपल्टको विम्बल्डनले वरीयतामा धेरै फरक पनि पार्ने छैन किनभने प्रतियोगिताबाट धेरै अंक पनि प्राप्त हुने छैन । तर रेबकिनालाई यसको धेरै चिन्ता किन आवश्यक छ र ? तिनै प्रशिक्षक भुकोभ भन्छन्, ‘वरीयतामा अंक आउने जाने गरिरहन्छ, तर विम्बल्डन उपाधि भने सधैं रहनेछ ।’ कुनै तडकभडक नभए पनि आखिरमा रेबकिना ग्रान्ड स्लाम विजेता त भइन् नै ।

प्रकाशित : असार २९, २०७९ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×