१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जानिनन् खुसी मनाउन

साँच्चै एलेना रेबकिनालाई विम्बल्डन जितको खुसियाली नै मनाउन आएन
द गार्डियन

लन्डन — एक घण्टा र १८ मिनेट । काजकिस्तानकी एलेना रेबकिनालाई जम्मा यत्तिमात्र समय लाग्यो, विश्व टेनिसमा नयाँ इतिहास रच्न । उनी कुनै पनि ग्रान्ड स्लामको उपाधि जित्ने पहिलो काजाक खेलाडी भइन् । यसका लागि उनले विम्बल्डन टेनिसको महिला एकल फाइनलमा ओन्स जाबेरलाई हराइन् । यसको अर्थ अबदेखि रेबकिना सधैंका लागि कुनै न कुनै रूपमा विम्बल्डनसँग जोडिएकी छन् । फाइनलमा उनी ‘अन्डर डग’ थिइन् । किनभने सबैको इच्छा थियो जाबेरले जितोस् । 

जानिनन् खुसी मनाउन

साँच्चै जाबेरले जितेकी भए उनी यस्तो उपलब्धि हात पार्ने पहिलो अरबी खेलाडी हुन्थिन् । यसलाई लिएर अनेक कथा हुन्थे । उनको देशसँग ट्युनेसियासँग जोडेर अरब क्रान्तिकै कथा बुन्न सकिन्थ्यो । उनले फाइनलको सुरुआती सेट पनि जितिन्, तर २३ वर्षीया रेबकिनाले खेलमा बलियो पुनरागमन रचिन् । सन् २०११ यता विम्बल्डन जित्ने सबैभन्दा कान्छी खेलाडी बनिन् । त्यतिबेला पेट्रा भिटोभाले विम्बल्डन जितेकी थिइन् ।

जतिबेला रेबकिनाले साँच्चै उपाधि जितिन्, उनले खुसी नै मनाउन चाहिनन् । खासमा उनलाई आउँदैन पनि । मुसुक्कमात्र हाँसिन् । उनले जितको खुसीयाली बिरलै मात्र मनाएकी छन्, आफ्नो खेलजीवनमा । बरू, खेलको केही मिनेटपछि आफ्ना समर्थकतिर फर्केर तिनको अभिवादन स्वीकारिन्, त्यो पनि हल्का मुस्कानसहित । उनको जन्म मस्कोमा भएको थियो । रुसी आमाबुबाबाट । सन् २०१८ मा उनी काजकिस्तानकी थिइन् ।

उनले आफ्नो नयाँ देशका लागि फेड कप र ओलम्पिक पनि खेलिसकेकी छन् । अहिलेसम्म रेबकिना काजकिस्तानमा उति साह्रो लोकप्रिय नभएको हुनसक्छ, तर विम्बल्डन जितेयता सबै काजाकले कम्तीमा उनको नाम जान्ने छन् । कम्तीमा अब भने उनी सबैका प्रिय हुनेछिन् । ‘अब भने उनी काजकिस्तानमा सबैको मुखमा झुन्डिएको नाम हुनेछ,’ उनका प्रशिक्षक स्टेफानो भुकोभ भन्छन् । एक प्रकारले रेबकिना काजकिस्तानमै केही नयाँ जस्तै छिन् ।

उनी थप्छन्, ‘यो लोकप्रियता एकै देशमा मात्र सीमित नहोस् चारैतर्फ होस् । अब कम्तीमा विश्व टेनिसले रेबकिनालाई राम्रैसँग चिन्नुपर्नेछ ।’

अल इंग्ल्यान्ड क्लबलाई डर थियो, कतै रुसी पृष्ठभूमिका कारण रेबकिनालाई दर्शकले मन नपराऊने त होइनन् ? युत्रेनमाथिको आक्रमणका कारण रुसमात्र नभएर बेलारुस पनि विम्बल्डनमा प्रतिबन्धित छ । तर विम्बल्डनका दर्शकले २३ औं वरीयताप्राप्त खेलाडीलाई माया नै देखाए, केही खराब गर्ने प्रयास गरेनन् ।

प्रशिक्षक भुकोझ मान्छन्, युत्रेनमाथि भएको रुसी आक्रमणबाट अहिलेसम्म सबै स्तब्ध छन्, तर रेबकिनाले कुनै प्रकारको दबाब महसुस गर्नुपरेन, न त दुर्वचन । तर मिडिया न हो, उनलाई आफ्नो रुसी पृष्ठभूमिबारे तिनले सोध्न भने बिर्सेनन् । प्रशिक्षक भुकोभ के मान्छन् भने यस्तो प्रश्न आउन अपेक्षा त थियो नै । उनी भन्छन्, ‘यस्ता प्रश्न नकार्न सकिन्न, अहिलेको विश्वका लागि यो ठूलो मुद्दा हो । सबै चाहन्छन्, युक्रेनमाथिको आक्रमण रोकियोस् ।’

रेबकिनाको रुसीबाट काजाक बन्ने काम पनि आफैंमा सजिलो थिएन । रुसीहरूको प्रश्न नै थियो, किन यस्तो आवश्यकता रह्यो ? जता गयो, प्रश्न यही हुन्थ्यो । किन काजकिस्तान, किन रुस होइन ? तर रेबकिनाले यसको उत्तर लुकाउने प्रयास कहिल्यै पनि गरिनन् ।

बरु, अब के हुनेछ भने उनको विम्बल्डन सफलताले काजकिस्तानमा टेनिस अझ लोकप्रिय हुनेछ । स–साना बालबालिकाले टेनिस खेल्न सुरु गर्नेछन् र सपना बुन्नेछन्, कुनै दिन अर्को रेबकिना बन्ने ।

साँच्चै रेबकिनालाई आफ्नो जितको खुसियाली नै मनाउन आएन । रमाइलो के पनि छ भने यसपल्टको विम्बल्डनले वरीयतामा धेरै फरक पनि पार्ने छैन किनभने प्रतियोगिताबाट धेरै अंक पनि प्राप्त हुने छैन । तर रेबकिनालाई यसको धेरै चिन्ता किन आवश्यक छ र ? तिनै प्रशिक्षक भुकोभ भन्छन्, ‘वरीयतामा अंक आउने जाने गरिरहन्छ, तर विम्बल्डन उपाधि भने सधैं रहनेछ ।’ कुनै तडकभडक नभए पनि आखिरमा रेबकिना ग्रान्ड स्लाम विजेता त भइन् नै ।

प्रकाशित : असार २९, २०७९ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?