१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टेबलटेनिसमा हार्न नजानेका अमन

लगातार छपल्ट टेबलटेनिस राष्ट्रिय च्याम्पियन बने अमन चित्रकार । यति धेरै राष्ट्रिय उपाधि कसैले जितेका छैनन् । अहिले उनी दक्षिण कोरियाली नागरिक भएका छन् । साँच्चै उनी नेपाल फर्कन्छन् त ?
हिमेश

काठमाडौँ — सबैभन्दा पहिलो प्रश्न, नेपाली टेबलटेनिसले अहिलेसम्म पाएका सर्वकालीन उत्कृष्ट पुरुष खेलाडी को हुन् ? जति धेरै मुख, उत्तिकै उत्तर । यी उत्तरमा बारम्बार, अलि बढी दोहोरिने नाम हो, अमन चित्रकार । फेरि प्रश्न बन्छ, को हुन् त यी अमन ? नेपाली टेबलटेनिस वृत्तमा नयाँ पुस्ताका लागि उनी प्रायः अपरिचितजस्तै छन् । धेरै नाम सुन्न पाइने, तर भौतिक रूपमा भेटन नपाइएका । समकालीनका लागि भने उनी ‘हाम्रा अमन’ हुन् ।

टेबलटेनिसमा हार्न नजानेका अमन

तिनीहरू भन्ने गर्छन्, ‘हाम्रा अमन सोझा छन्, भलाद्मी छन्, राम्रा खेलाडी हुन् ।’ राम्रा मात्र के र, असाध्यै राम्रा । ठ्याक्कै भने हुन्छ, नेपाली टेबलटेनिसका खेलाडीमध्ये अहिलेसम्मकै नम्बर एक । यसमा कोही कसैको विमति हुनसक्छ, तर एउटा तथ्य अगाडि सार्नुपर्छ, सबै चुपचाप हुन्छन् । तथ्य हो, अमन लगातार छपल्ट नेपालका राष्ट्रिय च्याम्पियन बने । यति धेरै राष्ट्रिय उपाधि यसअघि र यसपछि कसैले जितेका छैनन् । यस्तोमा उनलाई नम्बर एक नमाने कसलाई मान्ने ?

अचेल उनी दक्षिण कोरियामा बस्छन् । उतैका भइसके । बरोबर काठमाडौं भने आइरहन्छन् । ती सबै प्रश्नबीच एउटा कौतूहलता त बन्छ नै । कस्ता होलान् उनी । लामो प्रयासपछि बल्लतल्ल उनी भेटिए । आजभोलि यतै छन् । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यको एकखाले करकापमा उनी कुरा गर्न तयार भए । यी राजवैद्य कहिलेकाहीं तिनै अमनको प्रशंसा गरेर थाक्दैनन् । जेहोस, जतिबेला प्रत्यक्ष भेट भयो, यी वास्तवमै असल मान्छे रहेछन् ।

इतिहास पल्टाउने हो भने ००८ सालदेखि टेबलटेनिसको राष्ट्रिय प्रतियोगिता सुरु भएको पाइन्छ । पहिलो च्याम्पियन थिए जीपी लोहनी । अहिलेसम्मका च्याम्पियनको सूची बनाउनुपर्छ, केही खास परिवारको यसमा दबदबा पाइन्छ । जस्तो कि लोहनी, सुवाल, चित्रकार परिवार आदि । भनिरहनुपरेन, अमन परे चित्रकार परिवारका । उनको परिवारले दुई राष्ट्रिय च्याम्पियन दिएको छ । पहिलो भए साजल चित्रकार । अर्को यिनै अमन । यिनी भने विशेष रहे ।

लगभग ‘अनडिफिटेड’

भित्री काठमाडौंको किलागल । यहाँको एउटा यस्तो चित्रकार परिवार छ, जसका दाजुभाइले जम्माजम्मी दुई थोक जाने । पहिलो संगीत भयो, अर्को टेबलटेनिस । पाँच दाजुभाइमध्ये दुई जना त राष्ट्रिय च्याम्पियन नै भए । एक अर्को कमल चित्रकारले पनि विभिन्न अवसरमा नेपालको प्रतिनिधित्व गरेर विदेशमै खेले । अमनको जन्म ०२२ सालमा भएको थियो, सुरुमा जिम्न्यास्टिक खेले । पछि फुटबललाई मनपराए । तर आफूलाई स्थापित भने टेबलटेनिसमा गरे ।

जम्माजम्मी १८ वर्षको उमेरमै उनी पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने । ०४० सालमा पोखरामा भएको प्रतियोगितामा । त्यसको एक वर्षअगाडि उनी जुनियर च्याम्पियन बनेका थिए । त्यसपछि उनले कहिल्यै फर्केर हेर्नुपरेन । उनले ०४१ सालमा पाल्पा, ०४२ सालमा वीरगन्ज, ०४३ सालमा सुर्खेत, ०४५ मा धनगढी र ०४६ मा धरानमा राष्ट्रिय प्रतियोगिता जिते । उनले यी जति प्रतियोगिता खेले, ती सबैमा अपराजित रहे । यो आफैंमा दुर्लभ कीर्तिमान भयो ।

आफ्नो आठ वर्षजतिको छोटो खेलाडी जीवनमा उनी नेपालभित्र बिरलै मात्र पराजित भए । हातका औंलामै गन्न सकिने गरी । त्यस अर्थमा उनी ९८–९९ प्रतिशतको हाराहारीमा खेलेका खेलमा विजयी रहे । वास्तवमै के छ त यी अमनमा ? सबैभन्दा पहिले उनी खुबै फिट थिए । अहिले पनि छन् । त्यसैले अहिलेसम्म पनि वास्तविक उमेरभन्दा कान्छा देखिन्छन् । दायाँ हातले ‘सेक ह्यान्ड ग्रिप’ को मदतबाट खेल्थे । उनी आक्रामक खेलाडी नै थिए, तर सुरक्षात्मक खेलेर प्रतिद्वन्द्वीलाई मस्त थकाउने काम गर्थे ।

उनका केही समकालीन खेलाडी अझै भन्ने गर्छन्, अमन जत्तिको खेलाडी नेपाली टेबलटेनिसले देखेकै छैन । उनी स्वयं आफ्नो खेलबारे के भन्छन् त ? यसबारे उनले धेरै सोचेनन् र धेरै जटिल उत्तर पनि दिएनन् । भने, ‘मेरो खेल एकनासे हुन्थ्यो । अरूको जस्तो कहिले धेरै राम्रो, कहिले धेरै खराब रहेन, प्रायः समान हुन्थ्यो । म खेलमा क्रममा कममात्र भुल गर्थें । फिटनेसमा पनि असाध्यै ध्यान दिन्थें । सबैभन्दा ठूलो म अरूको तुलनामा बढी मिहिनेत गर्थें ।’

राष्ट्रिय च्याम्पियनसिपमा ह्याट्रिक

उनले लगातार छपल्ट जिते, त्यसमध्ये वीरगन्जमा प्राप्त जित बढी सम्झने गर्छन् । किनभने त्यो जितको ह्याट्रिक थियो । अझ उनको खेल हेर्न आमा कमलदेवी पनि पुगेकी थिइन् । तर प्रतियोगिताको क्वाटरफाइनलमा ध्रुव पालिखेविरुद्ध खेलमा एक समय पछाडि परे । प्रतिद्वन्द्वीले सुरुआती दुई सेट जितेपछि अमन पराजित भयो भनेर उनको परिवार खेल चलिरहेको हल छाडेर बाहिर गएछन् । धन्न, त्यसमा अमन पाँच सेटमा विजयी रहे । बुबा दिलबहादुरले भने उनको खेल प्रायः हेरे ।

उनी खेल्दा सम्भवतः नेपाली टेबलटेनिस सबैभन्दा उत्कृष्ट अवस्थामा थिए । एकसेएक खेलाडी थिए । ती पनि धेरै संख्यामा थिए । एक प्रकारले भन्दा दुई–तीन पुस्ताका खेलाडी थिए । यसैबीच पनि उनी लगातार छपल्ट च्याम्पियन बने । त्यसैले यो विशेष रह्यो । सुरुमा राष्ट्रिय च्याम्पियन बन्दा उनलाई विश्वास नै भएन । यस्तो पनि भयो भनेर । जतिबेला दुईपल्ट जिते, त्यसपछि भने दबाब महसुस गर्न थाले । अझ केहीले त ‘यो अमनले कति मात्र जितेको’ पनि भन्न थाले ।

उनका मिल्ने साथीभाइ पनि यो मान्छेले कहिले हार्छ भनेर कुर्न थालेका थिए । यसले युवा अमनलाई दुईखाले प्रभाव पारेको थियो । एक त आफ्नै मिल्ने साथीभाइले यस्तो भनेपछि उनको मन केही दुखेको थियो । दोस्रो, यही कारणले उनलाई मिहिनेत गर्न झन प्रेरित गरेको थियो । अहिले पछाडि फर्केर हेर्दा छपल्ट च्याम्पियन हुनुको गौरव उनमा छर्लङ्ग देखिन्छ । अनि उनी टेबलटेनिसले धेरैथोक दिएको तर आफैंले धेरै दिन नसकेको मान्छन् ।

‘लभ इन टोकियो’

उनले वास्तवमै धेरै लामो समय खेलेनन् । नेपालका लागि दक्षिण एसियाली खेलकुदमा चार कांस्य जिते, मेन्स डबल्स र टिम इभेन्ट्समा । यो तेस्रो र चौथो दक्षिण एसियाली खेलकुदको प्रसंग भयो । लगभग २४ वर्षको उमेरमै खेल्न छाडे । केही समय खेलेको भए अझ बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता मिल्थ्यो कि ? सायद । उनले औपचारिक रूपमा अहिलेसम्म संन्यास लिएका छैनन् । तर एकाएक खेल्न भने छाडे । यस पछाडि पनि ठोस कारण छ ।

छैटौंपल्ट राष्ट्रिय च्याम्पियन भएपछि उनलाई जापानमा अध्ययन गर्न जाने अवसर मिल्यो । खेल्दाखेल्दै उनी पढाइमा पनि उत्तिकै ध्यान दिन्थे । त्यसैले जापान जाने अवसर खेर पठाएनन् । टोकियोमै रहँदा उनी प्रेममा पनि परे । ‘लभ इन टोकियो’ की नायिका थिइन्, दक्षिण कोरियाली युवती युन–ही । पछि तिनैसँग विवाह पनि गरे । कोरियाली राजधानी सोलमा बस्न थाले । सन् २००० मा उनी औपचारिक रूपमा दक्षिण कोरियाकै नागरिक भए । उनीहरूका एक छोरा छन्, नाम हो ‘जुन’ ।

उनी उताकै भए पनि केही वर्षमा योजना छ, बुढाबुढी नेपाल फर्कने । यतै बस्ने । कहिलेकाहीं कोरियातिर जाने । विशेषतः उनको मनमा नेपाली टेबलटेनिसका लागि केही गर्ने धोको छ । यसका लागि त नेपालमै बस्नुपर्‍यो । यसका लागि युन–ही पनि तयार छिन् । उनलाई लाग्छ, टेबलटेनिसले उनलाई यहाँसम्म पुर्‍याएको हो भने यसकै लागि केही गर्नैपर्छ । कुनै समय अमन कहिले हार्छ भनेर हाकाहाकी भन्ने साथीहरू अचेल भन्न थालेका छन्, के ‘अमन’ नेपाल फर्कन्छन् त ?’ अब मूल प्रश्न यही भएको छ ।

प्रकाशित : असार २५, २०७९ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?