मारियाको सनसनीपूर्ण जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मारियाको सनसनीपूर्ण जित

एएफपी

लन्डन — जर्मनीकी तात्जना मारियाले पछाडि परेको स्थिति उल्टाउँदै जुली निमिरलाई ४–६, ६–२, ७–५ ले हराएर पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको सेमिफाइनल स्थान बनाएकी छन् ।

विम्बल्डन टेनिसको अन्तिम चारमा पुगेकी ३४ वर्षीया उनी दुई सन्तानकी आमा हुन् । उनले फाइनल प्रवेशका लागि तेस्रो वरीयताकी ओन्स जाबेर वा म्यारी बोज्कोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।

‘मलाई जहाँ पनि उत्सुकता थियो,’ प्रसूतिबाट एक वर्षअघि मात्रै फर्किएकी मारियाले भनिन्, ‘मेरा दुई साना छोरीहरू । यसरी परिवारमा बाँच्नु सपनाजस्तै हो । झन्डै एक वर्षअघि मैले बच्चा जन्माएकी थिएँ । यो पागलपन जस्तै लाग्छ ।’

उनले सेमिफाइनलमा जाबेरको सामना गर्न चाहेको पनि बताइन्, ‘उनीसँग खेल्न पायो भने साँच्चिकै राम्रो हुनेछ । उनी मेरो परिवारकै हुन् । उनले मेरा बच्चाहरूलाई मन पराउँछन् । उनी हरेक दिन मेरा बच्चाहरूसँग खेल्छिन् ।’

‘ओपन एरा’ मा तेस्रोपल्ट जर्मनीका दुई खेलाडीबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा भएको हो । निमिरले सुरुबाट खेलमा नियन्त्रण राखेकी थिइन् र पहिलो सेट जितिन् पनि । २२ वर्षीया उनले दोस्रो सेटमा पनि राम्रो सुरुआत गरिन् । तर, त्यसपछि मारियाले उत्कृष्ट पुनरागमन गर्दै तीनपल्ट उनको सर्भिस ब्रेक गरेर खेल बराबरी गरिन् । विश्व वरीयतामा ९७ स्थानकी निमिरले निर्णायक तेस्रो सेटमा पनि उत्कृट खेल्दै ४–२ को अग्रता लिएकी थिइन् । तर, मारियाले ४–४ को बराबरी गर्दै अन्त्यमा ७–५ को जित रच्दै सेमिफाइनल यात्रा तय गरिन् ।

जर्मन भेट्रान मारियाले अघिल्लो चरणमा दुई ‘म्याच प्वाइन्ट’ जोगाएकी थिइन् । सन् २००७ मा ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेकी उनी यो वर्षको बिम्बल्डनअघि ग्रान्ड स्लाममा कहिल्यै तेस्रो चरणभन्दा माथि उक्लिएकी थिइनन् ।


प्रकाशित : असार २१, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्

ब्याडमिन्टन कभर्डहललाई राष्ट्रपतिले पहल गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्न दिवस (जुलाई ५) को अवसरमा शुभकामना दिँदै ब्याडमिन्टनको कभर्डहल निर्माणमा पहल गर्ने बताएकी छन् । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी तथा एकडेमीका खेलाडीहरूसँग राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा भण्डारीले भनिन्, ‘ब्याडमन्टिन पुरानो र लोकप्रिय खेल हो ।

यसको विकासका लागि पूर्वाधारमा ध्यान दिनुपर्छ । ब्याडमिन्टनको कभर्डहल निर्माण गर्न तपाईंहरू जग्गा पत्ता लगाउनुहोस्, त्यसमा मैले सक्ने र सम्बन्धित मन्त्रालय, विभाग र निकायमा पहल गर्ने काम गर्नेछु ।’

राष्ट्रपतिलाई एकेडेमीका अध्यक्ष एवं पूर्वराष्ट्रिय खेलाडी रीता विष्टले मायाको चिनो, प्रशिक्षक शान्ति मानन्धरल पुष्पगुच्छा र संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले र्‍याकेट प्रदान गरे । त्यसपछि एकेडेमीका बालबालिकासँग र्‍याकेट उचाल्दै तस्बिर खिचाएकी राष्ट्रपति भण्डारीले भनिन्, ‘ब्याडमिन्टन दिवसको अवसरमा पुराना खेलाडीहरू भेट्न पाउनु खुसीको कुरा हो । साना खेलाडीसँग पनि भेट्न पाउँदा खुसी लागेको छ । तपाईंहरू भविष्यका तारा हुनुहुन्छ । तपाईंहरूले नै भविष्यमा सफलता हासिल गर्दै अन्तर्राष्ट्रियजगतमा नेपालको नाम फैलाउनुहुनेछ, नेपालीको शीर उँचो पार्नुहुनेछ ।’ उनले बालबालिकासँग अन्तरक्रिया गरेकी थिइन् ।

भेटमा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं एकेडेमीका सचिव दीपक थापाले भने, ‘नेपालमा २००४ सालबाटै ब्याडमिन्टनको प्रतियोगिता सुरु भएको थियो । दोस्रो पुरानो संघको रुपमा राष्ट्रिय खेलकुद परिषदमा २००८ सालमा दर्ता भएको थियो । हाम्रो देशमा यत्तिका पुरानो र लोकप्रिय खेल ब्याडमिन्टनको विकासमा निरन्तर लागिरहेका छौं । उत्कृष्ट खेलाडी उत्पादनको लागि पूर्वाधार र व्यवस्थित एकेडेमीहरू आवश्यक छ ।’

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ) ले यसपालि विश्व ब्याडमिन्टन दिवस जुलाई ५ मा मनाउने घोषणा गरेको थियो । त्यसैले यो नै पहिलो विश्व ब्याडमिन्टन दिवस हो । बीडब्लूएफका निर्णायक (लाइन जज) समेत रहेका थापाका अनुसार बीडब्लूएफmका १ सय ९८ सदस्य देशमा विश्व ब्याडमिन्टन दिवस मनाइएको छ ।


प्रकाशित : असार २१, २०७९ २२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×