मारिया अन्तिम आठमा

एएफपी

लन्डन — जर्मनीकी ३४ वर्षीया तात्जन मारियाले आइतबार विम्बल्डन टेनिसको महिला एकलमा पहिलोपल्ट अन्तिम आठको यात्रा तय गरेकी छन् ।

मारिया अन्तिम आठमा

उनले १२ औं वरीयताप्राप्त जेलेना ओस्टापेन्कोलाई तीन सेट चलेको कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गरिन् । दोस्र्रो सेटमा दुई म्याच प्वाइन्टमा जोगिएकी मारिया ४–६, ६–३, ६–४ ले विजयी रहिन् ।

एक सेटले पछाडि रहेको स्थिति उल्टाएकी १ सय ३ औं वरीयताकी मारियाले आफ्नो जित अविश्वसनीय रहेको बताइन् । उनले भनिन्, ‘केहीलाई मेरो खेलमाथि विश्वास छ, त्यसैले पनि म राम्रो खेलिरहेकी छु ।’ दुई छोरीकी आमा मारियाले यसअघि केही समय टेनिसबाट विश्राम लिएकी थिइन् । महिलाकै अर्को खेलमा मारिया बुज्कोभाले फ्रान्सकी क्यारोलिन गार्सियालाई सोझो दुई सेटमा पराजित गरिन् । पहिलो सेटमा कडा चुनौती सामना गर्नुपरेकी २३ वर्षीया चेक खेलाडी बुज्कोभाले खेल भने ७–५, ६–२ ले पराजित गरिन् र अन्तिम आठमा प्रवेश गर्न सफल रहिन् । उनी ग्रान्ड स्लाम प्रतियोगिताको क्वाटरफाइनल पुगेको यो पहिलोपल्ट हो ।

त्यसअघि शनिबार रातिको खेलमा विजयी रहेर राफेल नडालले अन्तिम १६ को यात्रा तय गरेका छन् । उनले इटालीका लोरेन्जो सोनेगोलाई सजिलै ६–१, ६–२, ६–४ ले पराजित गरे । कीर्तिमान २२ ग्रान्ड स्लाम उपाधि विजेता रहेका नडालले दुई पटक विम्बल्डन जितेका छन् । अब उनले नेदरल्यान्ड्सका बोटिक भानको सामना गर्नेछन् । अर्को प्रमुख खेलमा निक क्रिगोसले स्टेफानोस सिसिपासलाई चार सेटको कडा प्रतिस्पर्धामा हराए । निकै तनावपूर्ण साबित खेलमा क्रिगोसले चौथो वरीयताप्राप्त ग्रिक खेलाडीलाई ६–७, ६–४, ६–३, ७–६ ले पराजित गरे । खेलका क्रममा दुवै खेलाडीलाई खराब व्यवहारका कारण कोर्टमै चेतावनीसमेत दिइएको थियो ।

सेन्टर कोर्टको सय वर्ष

विम्बल्डनले आइतबार सेन्टर कोर्टको सय वर्ष विशेष कार्यक्रमसहित मनाएको छ । त्यसक्रममा सांगीतिक कार्यक्रम पनि राखिएको थियो । त्यस्तै त्यस अवसरमा प्रतियोगिताका पूर्वविजेताहरूले परेडमा भाग लिए । पुरुषतर्फ आठपल्टको विजेता रोजर फेडेररले आफ्नो इच्छा सेन्टर कोर्टमा फेरि खेल्ने रहेको बताए ।

उनी घुँडाको चोटका कारण यसपल्ट पनि विम्बल्डनमा खेलिरहेका छैनन् । अहिलेसम्म संन्यास घोषणा पनि नगरेका ४० वर्षीय फेडेररले भने, ‘सेन्टर कोर्टमा खेल्न पाउनु नै आफैमा ठूलो हो र म आफैं पनि यहाँ खेल्न पाएकोमा भाग्यमानी छु । पूर्व च्याम्पियनहरूका यो भेला पनि ऐतिहासिक रह्यो ।’

त्यस अवसरमा विम्बल्डनका प्रशंसक क्लिफ रिचार्ड तथा बेलायती गायिका फ्रेया रिडिङ्सले आफ्नो प्रस्तुति दिएका थिए । दर्शकदीर्घामा पनि अधिकांश परिचित अनुहारको उपस्थिति थियो । कार्यक्रममा आउन नसक्ने मध्ये एक नौपल्टका महिला विजेता मार्टिना नाभ्रातिलोभाले आफू निराश रहेको बताएकी छन् । उनले ट्विट गर्दै कार्यक्रममा कोभिड संक्रमणका कारण आउन नसकेको बताएकी छन् ।

प्रकाशित : असार २०, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?