३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दिवसमा खेल पयर्टनको चर्चा

काठमाडौँ — नवनियुक्त पयर्टनमन्त्री जीवनराम श्रेष्ठले खेलकुद पर्यटनको विकासलाई प्राथमिक राखेर आफ्नो कार्यकाल उपलब्धिमूलक बनाउन प्रयास गर्ने बताएका छन् ।

दिवसमा खेल पयर्टनको चर्चा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा शनिबार विश्व खेलकुद पत्रकार दिवसको अवसरमा आयोजित ‘नेपालमा खेल पर्यटनको सम्भावना विषयक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको र आफ्नो कार्यकाल खेलकुद पर्यटन विकासको खाका कोर्ने बताए । ‘खेलक्षेत्रमा सरोकार राख्ने निकायमध्ये एक पर्यटन मन्त्रालय पनि हो । म आफैं पनि पर्यटन र खेलकुद जोड्नुपर्छ भन्ने व्यक्ति हुँ । अहिले म त्यो निकायमा पुगेको छु । पक्कै पनि हाम्रो देशमा प्राकृतिक रूपमा खेल पर्यटनका धेरै सम्भावना छन् । त्यसका लागि काम गर्नेछु,’ श्रेष्ठले भने ।

उनले कोरोना भाइरस महामारीका समय खेलक्षेत्र जस्तै पर्यटनमा पनि ठूलो धक्का पुगेको र यसलाई छिट्टै पुनर्जीवित गर्न आफू लागिपर्ने बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले खेलकुद पर्यटनका विषय सरकारको नीति तथा कार्यक्रममा परेको बताउँदै युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरेर खेल पर्यटन विकासका लागि काम गर्ने वचनबद्धता जनाए ।

साहसिक खेलकुद आयोजना र खेल समर्थकका माध्यमबाट पर्यटन विकासमा टेवा पुग्ने भएकाले ती क्षेत्रमा काम गर्न आवश्यक रहेको उनले औंल्याएका छन् । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले खेलकुद बुझेका व्यक्ति पर्यटन मन्त्रालयको नेतृत्वमा पुगेकाले खेल पर्यटन र त्यसका सम्भावनाका विषयमा थप अध्ययन हुन आवश्यक रहेको औंल्याए । एआईपीएस एसियाका कोषाध्यक्ष नीरञ्जन राजवंशीले हरेक वर्षझै विश्वभरका खेल पत्रकारले जुलाई २ लाई विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाइरहेको चर्चा गर्दै नेपालमा खेलकुद पर्यटनलाई पत्रकारिताको माध्यमबाट उजागर गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित : असार १९, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?