कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अरुणा र प्रदीप गण्डकी वर्ष खेलाडी

पोखरा अवार्डमा टेनिसको वर्चस्व

पोखरा — छैटौं पोखरा स्पोर्ट्स अवार्डमा महिलातर्फ राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुषतर्फ टेनिसका शीर्ष वरीयताप्राप्त प्रदीप खड्का उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

अरुणा र प्रदीप गण्डकी वर्ष खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष स्पोर्ट्स अवार्डमार्फत गण्डकी प्रदेशमा जन्मिएका र कर्मथलो बनाएका खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यसपालि ७ विधामा अवार्ड प्रदान गरिएको थियो । ०७८ सालमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक, संघ र खेल पत्रकारलाई मञ्चले अवार्ड प्रदान छ । लाइफटाइम एचिभमेन्ट अवार्डबाट भने पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भए । पूर्वराष्ट्रिय बक्सर उनले सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका थिए । उनी सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । मञ्चले उनलाई चाँदीको करुवाबाट सम्मान गरियो ।

महिला र पुरुष वर्ष उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । महिलातर्फ अरुणासहित क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनयनमा थिए । अरुणाको कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भएको थियो । अरुणा म्याग्दीकी हुन् ।

पोखरामै बसेर अध्ययन गरेकी उनले यसअघि दोस्रो पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेकी थिइन् । ०६४ देखि भलिबल खेल्न थालेकी उनले सुरुमा अन्तरविद्यालय जिल्लास्तरको प्रतियोगितामा भाग लिइन् । सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै उनले भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप लगायतमा सफलता हासिल गरिन् ।

सातौं तथा आठौं राष्ट्रिय खेलकुद, १३ औं सागलगायतका राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर नतिजा दिएकी छन् । सातौं राष्ट्रिय खेलकुदमा कांस्य, आठौंमा चांथो स्थान हासिल गरेकोमा १३ औं सागमा उनको टिमले रजत जितेको थियो । सन् २०२१ मा सेन्ट्रल जोनमा स्वर्ण जित्दा उनी बेस्ट सेटर घोषित भएकी थिइन् । त्यस्तै एनभीए च्याम्पियनसि–२०७८ मा पनि बेस्ट सेटर घोषित भएकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर प्लेयर अफ द इयर २०७७ मा दर्शक च्यवाइस अवार्ड उनले पाएकी थिइन् ।


पुरुषतर्फ टेनिसका प्रदीपसहित सितेरियो करातेका बुद्ध लामा र ब्याडमिन्टनका विधान अधिकारी दाबेदार थिए । अवार्ड विजेता प्रदीप टेनिसका नम्बर एक खेलाडी हुन् । ०६५ देखि खेल्न सुरु गरेका उनले टेनिसमै १४ वर्ष बिताएका छन् । १३ औं सागमा टिम इभेन्टतर्फ कांस्य जित्न सफल उनी पाँचौं पोखरा स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडीको उत्कृष्ट ३ मा परेका थिए ।

पोखरा–५ पर्स्याङका उनले आठौं राष्ट्रिय खेलकुदमा डबल्सतर्फ रजत, सिंगल्सतर्फ कांस्य, टिम इभेन्टमा कांस्य जितेका थिए । उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ स्वर्ण पदक जितेका थिए । उनी लुम्बिनी खुला राष्ट्रिय टेनिसमा लगातार दुई संस्करणका विजेता हुन् । उनले हालैमात्र माल्दिभ्समा यू–१८ राष्ट्रिय खेलाडीलाई प्रशिक्षणसमेत दिएका थिए ।

दर्शिल उदीयमान खेलाडी

जुनियर टेनिस खेलाडी दर्शिल श्रेष्ठले उदीयमान खेलाडीको अवार्ड जितेका छन् । उक्त अवार्डका लागि उनीसँगै क्रिकेटकी सृष्टि जैसी र बक्सिङका साहिल लिम्बु मनोनयनमा थिए । अवार्ड विजेता दर्शिल सन् २०२१ मा फेब्रुअरी १४ देखि १८ सम्म ललितपुरमा भएको टिम नेपाल टेनिस जुनियर प्रिमियर टेनिसमा च्याम्पियन बनेका थिए । त्यसपछि सन् २०२१ अप्रिलमा भएको जेटीआई ग्रान्ड जुनियर ओपन टेनिसमा विजेता बनेका थिए ।

०७८ मा भने उनका लागि निकै फलदायी बन्यो । सबैभन्दा बढी उपाधि र उपलब्धि उनले २०७८ मा पाएका छन् । उक्त वर्ष उनी टेनिसमा यू–१२ मा नेपाल नम्बर एक खेलाडी बने । यो नै उनको अहिलेसम्मको ठूलो उपलब्धि हो । उनी आईटीएफ एसियन यू–१२ मा तेस्रो बने । एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍याकिङमा परे । भूपू खेलाडी मञ्चले राइजिङ प्लेयरका रूपमा सम्मान गर्‍यो । विभिन्न प्रतियोगितामा आफूलाई अब्बल बनाउँदै एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍याकिङबाट ६५ औं स्थानमा पुगे । वीर गणेशमान सिंह राष्ट्रियमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता बने । एसियन यू–१४ टेनिसमा सिंगलमा तेस्रो र डबल्समा दोस्रो बने ।

नीरज थापा उत्कृष्ट प्रशिक्षक

पोखरा स्पोर्ट्स अवार्डमा टेनिसको दबदबा कायम राख्दै वर्ष उत्कृष्ट प्रशिक्षकमा नीरज थापाले अवार्ड जितेका छन् । टेनिस प्रशिक्षक थापासँगै क्रिकेटका रिजन प्रजु र तेक्वान्दो एवं फेन्सिङकी प्रशिक्षक रेखमाया गुरुङ मनोनयनमा थिए । अवार्ड विजेता थापा २३ वर्षअघि काठमाडौंबाट पोखरा आएर टेनिसको प्रशिक्षण सुरु गरेका थिए । उनले प्रशिक्षण दिएका खेलाडी शीर्ष वरीयतामा पुगिसकेका छन् । पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित प्रदीप खड्का उनकै चेला हुन् ।

वर्ष उत्कृष्ट खेल संघको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो संघले पाएको छ । प्रशिक्षक, उदीयमान खेलाडी, संघले ३५–३५ हजार रुपैयाँ पाए । खेल पत्रकार विनोद लामिछानेको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले मनोनयन र अवार्डका लागि खेलाडी छनोट गरेको हो । उत्कृष्ट घोषित खेलाडी, प्रशिक्षक एवं खेलसंघलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले अवार्ड प्रदान गरे । खेलाडीको हौसलाका लागि हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।

प्रकाशित : असार १८, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?