कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खेलाडीको सम्मान, परिवारको निःशुल्क उपचार

विनोद भण्डारी

विराटनगर — ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुदमा प्रदेश १ बाट अहिलेसम्म सहभागी खेलाडीको स–परिवारलाई ५ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराइने भएको छ । यसको चाँजोपाँजो मिलाउँदै प्रदेश १ खेलकुद विकास बोर्डले पहिलोपल्ट आइतबार खेलकुद इतिहासको गरिमा बोकेका खेलाडीको सम्मान गर्ने तयारी गरेको छ । बोर्डले प्रदेशबाट हालसम्म ओलम्पिक खेलेका ९, एसियाली खेलकुद खेलेका ३६ र साग खेलेका १ सय ५० खेलाडीलाई सम्मान गरिने भएको छ ।

खेलाडीलाई सम्मान गरिँदै उनीहरूसहित श्रीमती, छोराछोरी, आमाबुबालाई पाँच वर्षसम्म निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने तयारी गरेको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले शुक्रबार सञ्चारकर्मीलाई बताए ।

सम्मानित हुनेको सूचीमा नेपाली भलिबल टिमका पहिलो कप्तान विराटनगरका ऋषिराज आचार्य र पूर्व भलिबल खेलाडी दीपक सापकोटा छन् । आचार्य २०३३ मा पाकिस्तानमा भएको काइदे आजम स्पोर्ट्स फेस्टिभलमा नेपाली राष्ट्रिय भलिबल टिमले भाग लिँदा पहिलो कप्तान थिए । त्यो नेपाली भलिबल टिमको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यतिबेला टिमले पाकिस्तानमा एक म्याच जित्दा तीन म्याच गुमाएको आचार्यको स्मरण छ ।

ओलम्पियनतर्फ बक्सिङमा धरानका नरेन्द्र पुमा (१९८० मस्को), एथलेटिक्समा मोरङका पुष्पराज ओझा (१९८४ लस एन्जलस), एथलेटिक्समा झापाकी मेनुका रावत (१९८८ सोल), सुटिङमा सुनसरीका टीकाराम श्रेष्ठ (२००४ एथेन्स), एथलेटिक्समा झापाका डम्बर कुवँर (१९८८ सोल) र एथलेटिक्समै इलामकी प्रमिला रिजाल (२०१२ लन्डन) सहित ९ खेलाडी छन् ।

एसियाली खेलकुदतर्फ १९९४ की हिरोसिमामा करातेबाट कांस्य पदक जितेकी इलामकी सीता राईसहितका ३७ जना र साग खेलकुदमा सहभागी १ सय ५० जनालाई सम्मान गर्ने कार्यक्रम रहेको पूर्व राष्ट्रिय भलिबल कप्तानसमेत रहेका वाग्लेले बताए । सम्मान घोषणा गर्नेमध्ये अधिकांश पनि विदेशमा छन् । शनिबारसम्म उपलब्ध हुने पुराना खेलाडीलाई कदरपत्र प्रदान गरिने उनले बताए ।

यो सम्मान प्रदेशका लागि गौरवको बन्ने वाग्लेको दाबी छ । ‘यहाँ कसैले पनि पुराना खेलाडीलाई सम्झने र सम्मान गरेका छैनन्,’ वाग्लेले भने । उनका अनुसार प्रदेश १ खेलकुद बोर्डले पहिलो पटक यस्तो कार्यक्रम गरेको हो । ‘खेलाडीलाई नगदबाट सम्मान गर्न बोर्डको आर्थिक हैसियत अहिले छैन, उनीहरूलाई सम्झँदै दोसल्ला ओढाएर सम्मानको थालनी मात्र गरेका हौं,’ उनले भने, ‘सबै कुरा पैसामात्र होइन, उनीहरूलाई सम्झनु र एकै ठाउँमा भेला गराउनु पनि ठूलो उपलब्धि हो ।’ वाग्लेका अनुसार बाजागाजासहित एयरपोर्ट मोडदेखि मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, प्रमुख जिल्ला अधिकारी, निजामती कर्मचारी, खेलकर्मी र सर्वसाधारणले पूर्वखेलाडीलाई स्वागत गर्दै करिब ५ सय मिटर र्‍याली गरेर सम्मान गरिने छ ।

प्रकाशित : असार १८, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?