विम्बल्डन टेनिस

वाटसनमा बेलायती आस

एपी

विम्बल्डन — विम्बल्डन टेनिसमा निकै उतारचढावपूर्ण व्यक्तिगत प्रदर्शनको इतिहास बोकेकी बेलायती खेलाडी हिथर वाटसन शुक्रबार पहिलोपल्ट चौथो चरण पुगेकी छन् ।

वाटसनमा बेलायती आस

अल इंग्ल्यान्ड क्लबमा १२ पल्ट खेलिरहेकी १ सय २१ औं वरीयताकी वाटसनले स्लोभानियाकी काजा जुभानलाई ७–६ (८–२), ६–२ ले पराजित गरिन् । सन् २०१० मा विम्बल्डनमा डेब्यु गरेकी वाट्सन छपल्ट प्रतियोगिताको पहिलो चरणमै पराजित रहेकी छन् । अब उनले अर्को चरणमा जर्मनीकी जुली निमरको सामना गर्नेछिन् । जुलीले लेसा सुरेन्कोलाई ६–४, ३–६, ६–३ ले पराजित गरिन् । तेस्रो वरीयताकी ओन्स जबेर पनि चौथो चरण पुगेकी छन् । उनले फ्रान्सकी डानी पेरीलाई ६–२, ६–३ ले पराजित गरिन् ।

कोर्ट नम्बर एकमा खेल जितेपछि ३० वर्षीया वाटसनले भनिन्, ‘घरेलु कोर्टमा तपाईहरू सबैसामु खेल्न पाउनु नै मेरा लागि ठूलो वातावरण हो । त्यसैले पनि म त्यति नर्भस थिइनँ ।’

बेलायती खेलाडीलाई घरमा ग्रान्ड स्लाम जित्नु ठूलो दबाब नै हुन्छ । त्यो वाट्सन र अन्य बेलायती खेलाडीलाई राम्रोसँग थाहा छ ।

विम्बल्डन जित्ने एन्डी मरे पछिल्लो बेलायती खेलाडी हुन् । उनले जितेको पनि दशक बित्न लागिसक्यो । सन् २०१३ मा उनले विम्बल्डन जितेका थिए । त्यसअघि फ्रेड पेरी र भर्जिनिया वाडे अल इंग्ल्यान्ड क्लबमा उपाधि जित्ने बेलायती खेलाडी थिए । पेरीले १९३६ र वाडेले १९७७ मा यस ग्रासकोर्ट ग्रान्ड स्लाम जितेका थिए ।

पुरुषतर्फ नोभाक जोकोभिचले पनि प्रतियोगिताको चौथो चरणको यात्रा तय गरेका छन् । उनले एकपक्षीय खेलमा मिमिर केसमानोभिचलाई ६–०, ६–३, ६–४ ले पराजित गरे । सर्बियाका विश्व नम्बर एक जोकोभिचले सुरुआती दुई सेट सजिलै जितेपछि तेस्रो सेटमा आफ्नै देशका खेलाडीबाट केही चुनौतीको सामना गर्नुपरेको थियो ।

प्रकाशित : असार १८, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?