कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मोर्गनको सूत्र ‘आक्रमण’

जतिबेला इंग्ल्यान्ड क्रिकेटको खुबै आलोचना हुन्थ्यो, मोर्गनले कप्तानी पाएपछि इंग्ल्यान्डको खेल्ने शैलीमै परिवर्तन
द गार्डियन

लन्डन — अहिले चारैतर्फ इंग्लिस क्रिकेटको चर्चा छ । नहोस् पनि कसरी ? इंग्ल्यान्डले भर्खरै टेस्टको विश्व च्याम्पियन न्युजिल्यान्डलाई तीन खेलको शृंखलामा ३–० ले हरायो । इंग्ल्यान्डको यो ‘ह्वाइटवास’ जित आफैंमा ठूलै उपलब्धि हो । किनभने यसअघि इंग्ल्यान्ड स्वयं खराब लयबाट गुज्रिइरहेको थियो । त्यसैले इंग्ल्यान्डप्रति न्युजिल्यान्डलाई हराउने विश्वास धेरैमा थिएन । अझ यति एकपक्षीय देखिने जितमा त कसैको पनि फिटिक्कै विश्वास थिएन ।

मोर्गनको सूत्र ‘आक्रमण’

तर, जतिबेला सम्भव भयो, पहिलोपल्ट शृंखलामा इंग्ल्यान्डको नेतृत्व गरिरहेका कप्तान बेन स्टोक्सले यसको पूरा श्रेय इयोन मोर्गनलाई दिए । उनले भने, ‘हामीले मोर्गनको खेल्ने सूत्रअनुसार खेल्यौं । यो सिरिज जितको धेरै श्रेय उनलाई जान्छ ।’

मोर्गनको सूत्र हो, ‘आक्रमण’ । अनि फेरि पनि ‘आक्रमण’ नै । एक प्रकारले भन्दा मोर्गन टेस्ट खेलाडी नै होइनन् । उनी त पक्कापक्की ‘ह्वाइट बल’ खेलाडी हुन् । तर ‘रेड बल’ मा प्राप्त जितमा भने सबैले उनलाई नै सम्झिए ।

मीठो संयोग के भने इंग्ल्यान्डले टेस्ट क्रिकेटमा प्राप्त गरेको यो सफलतालगत्तै सीमित ओभर क्रिकेटका सफल कप्तान मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरे । आयरल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा इंग्ल्यान्डको प्रदर्शन गजब रह्यो । त्यसमा मोर्गनको आफ्नै प्रदर्शन भने गजब रहेन । उनी ३५ वर्षका भइसकेका थिए । ‘फिटनेस एन्ड फर्म’ उनको पक्षमा थिएन । उनलाई लागेको हुनपर्छ, यस्तो बेला संन्यास नलिए कहिले लिने ?

उनले संन्यास के घोषणा गरे । अहिले सबैले उनकै मात्र प्रशंसा गरिरहेका छन् । उनले इंग्लिस क्रिकेटमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिरहेका छन् । मोर्गनलाई लिएर गरिएको सबैभन्दा सटिक टिप्पणी हो, ‘एउटा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नु आफ्नो ठाउँमा छ, तर कसैले खेल्ने शैलीमै परिवर्तन ल्याउँछ भने त्यसको कुरै बेग्लै ।’ मोर्गनले वास्तवमै इंग्लिस क्रिकेटले सीमित ओभरको क्रिकेटलाई हेर्ने, खेल्ने र महसुस गर्ने पद्दतिमै परिवर्तन गरिदिए ।

यो परिवर्तन इंग्लिस क्रिकेटको सीमित ओभर खेलमै मात्र सीमित रहेन । टेस्ट क्रिकेटमा पनि मज्जाले सर्‍यो । त्यसैले त हो, स्टोक्सले न्युजिल्यान्डलाई हराएपछि मोर्गनलाई धन्यवाद दिएको । इंग्ल्यान्डले त्यस शृंखलाका तीनै टेस्ट चौथो इनिङ्समा लक्ष्य पछ्याएर जितेको थियो । फेरि तीनै टेस्टमा त्यस्तो अवसर पनि बनेको थियो, जहाँ न्युजिल्यान्डको हातमा खेल हुन सक्थ्यो । तर, प्रत्येकपल्ट त्यही स्थितिबाट इंग्ल्यान्डले आक्रामक भएर खेल जित्यो । यो नै हो ‘मोर्गनको सूत्र’ ।

सफल खेलाडी पनि

मोर्गनलाई लिएर सबैभन्दा ठूलो एक अर्को विशेषता हो । उनी इंग्ल्यान्डका लागि एकदिवसीय होस् वा ट्वान्टी–२० त्यसमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । त्यसले पनि देखाउँछ, उनी कत्तिको सफल खेलाडी हो भनेर । उनले कप्तानी पाएपछि इंग्ल्यान्डको क्रिकेट खेल्ने शैलीमै परिवर्तन हुन थाल्यो । त्यसो त उनी आइरिस हुन् । उनले सुरुआती अन्तर्राष्ट्रिय क्रिकेट आयरल्यान्डकै लागि खेलेका छन् । पछि उनले आयरल्यान्डकै लागि मात्र खेल्दा ठूलो अवसर प्राप्त नहुने बुझेपछि इंग्ल्यान्डतिर लागे ।

इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा सर्वाधिक ठूलो स्कोरको कीर्तिमान तीनपल्ट बनाएको छ । तीनै अवसरमा उनी नै कप्तान थिए । उनी कप्तान भएयता इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा १ सय ३१ एकदिवसीयमा ५३ पल्ट तीन सयभन्दा बढीको स्कोर बनायो । त्यसअगाडि इंग्ल्यान्डले खेलेका ६ सय ३३ एकदिवसीयमा जम्माजम्मी ३१ पल्ट मात्रै तीन सयभन्दा माथिको स्कोर बनाएको थियो । यसले ठ्याक्कै देखाउँछ, मोर्गनले टिममा ल्याएको आमूल परिवर्तन ।

तस्बिरहरू : एएफपी/एपी

मोर्गनअघि अगाडि एक प्रकारले इंग्लिस क्रिकेटलाई एकदिवसीयको मतलब नै थिएन । त्यसैले पनि इंग्ल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको कुनै एकदिवसीय उपाधि नै जित्न सकेको थिएन । इंग्ल्यान्डलाई एकदिवसीय क्रिकेटभन्दा टेस्ट क्रिकेट नै सबथोक लाग्थ्यो । त्यसैले उसको नीति थियो ‘यसो मौका पाएका बेला एकदिवसीय पनि खेलिहाल्ने’ । केही एकदिवसीय विश्वकपका संस्करणमा इंग्ल्यान्डको प्रदर्शन सर्वथा बिर्सनलायक रह्यो ।

तर, सन् २०१९ को विश्वकपमा यो सबै परिवर्तन भयो । मोर्गनकै नेतृत्वमा लर्डसमा न्युजिल्यान्डलाई सनसनीपूर्ण ढंगले माथ दिएर इंग्ल्यान्डले उपाधि जित्यो । उनको कप्तानीको मन्त्र हो, परिस्थिति जस्तै किन नहोस् खेल्ने एउटै शैली । त्यो हो ‘आक्रमण’ । अनि खेलाडीको प्रदर्शन जस्तो किन नहोस् आँखा चिम्लेर उनैको समर्थन गर्ने । इंग्लिस क्रिकेटलाई यति धेरै गुण लगाउने तिनै मोर्गनले अब फेरि दोहोर्‍याएर खेल्ने छैनन् । तर, उनको याद कहिल्यै हराउने छैन ।

एउटा निर्णायक कालखण्ड

सन् २०१५ को विश्वकपमा इंग्ल्यान्डले त्यसरी खेलेको थियो, जसको स्वरूप केही समयअघि एकदिवसीय क्रिकेटबाट हराइसकेको थियो । पूरा प्रतियोगितामा इंग्ल्यान्डको प्रतिओभर रनऔसत थियो, ५.४८ । त्यही प्रतियोगितामा अस्ट्रेलियाको औसत थियो, ६.८२ । यो आकाश–पातालको अन्तर थियो । त्यसैले त अस्ट्रेलियाले उपाधि जित्यो । इंग्ल्यान्डको हातमा पर्‍यो निराशामात्रै । इंग्ल्यान्डलाई फिल्डिङमा आएको परितवर्तनबारे पनि थाहा नभएजस्तो देखिन्थ्यो ।

त्यतिबेला इंग्ल्यान्डको खुबै आलोचना भएको थियो । भनिन्छ, इंग्लिस क्रिकेटका लागि त्यो एक प्रकारले सबैभन्दा नाजुक मोड थियो । चारैतर्फ निराशामात्र छाएको थियो । इंग्लिस क्रिकेटले पनि महसुस गरेको थियो अब यसरी हुन्न । त्यही विश्वकपताका मोर्गनले कप्तानीको जिम्मेवारी पाएका थिए । तर, टिमको रणनीतिमा परिवर्तन गर्न उनीसँग पर्याप्त समय थिएन । भनिन्छ, त्यतिबेला मोर्गन र इंग्लिस क्रिकेटमा केही जिम्मेवारी लिएर बसेका व्यक्तिहरूबीच लामै छलफल भएको थियो ।

मोर्गनले आक्रामक क्रिकेटमा जानुपर्नेमा जोड दिएका थिए । उनलाई त्यतिबेला इंग्लिस क्रिकेटको निर्देशक रहेका एन्ड्र्यु स्ट्राउसले बलियो साथ दिए । सन् २०१५ देखि २०१९ सम्मको कालखण्डलाई अहिले त्यस्तो समय अवधि मानिएको छ, जतिबेला वास्तवमै इंग्ल्यान्डको एकदिवसीय खेल्ने शैलीमा परिवर्तन आयो । लर्ड्समा प्राप्त विश्वकप फाइनलको सफलता त्यसकै नतिजा थियो प्रमाणका रूपमा । निकै खस्केको स्थितिबाट चार वर्षमै विश्वकप उपाधि जित्ने यात्रा ।

मोर्गनकै समयमा इंग्लिस क्रिकेटमा पनि त्यस्ता खेलाडी देखा परे, जसलाई ‘ह्वाइट बल’ विशेषज्ञ भन्न सुरु गरियो । उनी कप्तान भएयता धेरै खेलाडीले इंग्ल्यान्डका लागि खेल्ने अवसर पाए । फेरि मोगर्नले नै हो, इंग्लिस क्रिकेट खेलाडीलाई फ्रेन्चाइज क्रिकेटमा खेल्न प्रोत्साहन गर्ने । अचेल कहीं कतै फ्रेन्चाइज क्रिकेट हुनुपर्छ, मज्जाले नै पहिलो रोजाइमा इंग्लिस खेलाडी हुने गर्छन् । यसको उदाहरण त इन्डियन प्रिमियर लिग (आईपीएल) पनि भयो । त्यसैले त स्टोक्स उनलाई बारम्बार सम्झन्छन् ।

प्रकाशित : असार १८, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?