कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पोखरा स्पोर्ट्स अवार्ड : यी हुन् सर्वोत्कृष्ट खेलाडीका दाबेदार

दीपक परियार

पोखरा — नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले छैटौं पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरा सभागृहमा गर्दै छ । विभिन्न सात विधामध्ये सर्वोत्कृष्ट खेलाडी को हुन्छन् भन्ने चासो बढेको छ । मञ्चले पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्दै छ । 

पोखरा स्पोर्ट्स अवार्ड : यी हुन् सर्वोत्कृष्ट खेलाडीका दाबेदार

उक्त विधाको मनोनयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेको छ । हरेक विधामा उत्कृष्ट तीनको मनोयन छनोट समितिले गरेको छ । वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ टेनिसका प्रदीप खड्का, सितेरियो कराँतेका बुद्ध लामा र ब्याडमिन्डनका विधान अधिकारी मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी मनीषा उपाध्याय र कराँतेकी सरगम कुमाल मनोनयनमा परेका छन् । यी विधाममा कसले अवार्ड हात पार्ला भन्ने अड्कलबाजी सुरु भइसकेको छ । छनोट समितिले तीन मध्ये एक खेलाडीलाई उत्कृष्ट घोषणा गर्ने छ । अवार्ड विजेताले टेल जी ब्रान्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटरको साथमा ट्रफी हात पार्ने मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए । गण्डकीमा जन्मथलो भएर खेल क्षेत्रमा सक्रिय भएका वा गण्डकीलाई कर्मथलो बनाएका खेलाडी मनोनयनमा पर्छन् ।

प्रदीप खड्का (टेनिस)

टेनिसका नम्बर एक प्लेयर हुन्, प्रदीप खड्का । ०६५ देखि खेल जीवन सुरुआत गरेका उनले टेनिसमै १४ वर्ष बिताएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ काँस्य पदक जित्न सफल उनी पाँचौं पोखरा स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडीको उत्कृष्ट ३ मा मनोनित भएका थिए ।


पोखरा–५ पस्र्याङका उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ काँस्य, मेन्स टिम इभेन्ट्समा काँस्य पदक जितेका थिए । सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेको रेकर्ड छ । लुम्बिनी ओपन नेस्नल लन टेनिस टुर्नामेन्टमा लगातार २ वटा संस्करणमा क्रमश: मेन्स सिंगल्स इभेन्ट र मेन्स डबल्स इभेन्सका विजेता हुन् । १५ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा टेनिसमा बेस्ट प्लेयर घोषित भएका थिए ।

उनी सातौं सिटिजन्स् बैंक ओपन टेनिस टुर्नामेन्टसमा मेन्स सिंगल्सतर्फ रनरअप हुँदा १७ औं माछापुच्छ्रे बैंक ओपन एन्ड भेटेरान्स टेनिस टुर्नामेन्टसअन्तर्गत मेन्स डबल्समा सेकेन्ड रनर अप उनी १८ औं भने स्वर्ण जिते । वीर गणेशमान सिंह नेस्नल ओपन टेनिस टुर्नामेन्ट डबल्सतर्फ विजेता उनी आठौं सिटिजन्स बैंक ओपन टेनिसमा मेन्स सिंगल एवं मिक्स डबल्सतर्फ विजेता हुन् । पहिलो सिओएएस राष्ट्रिय प्रतियोगितामा मेन्सतर्फ विजेता उनी डबल्समा रनरअप घोषित भए ।

दोस्रो ललितपुर डिस्ट्रिक्ट नेस्नल ओपन लन टेनिस टुर्नामेन्टमा मेन्स सिंगल्समा सेकेन्ड रनर अप, १० औं सहवीर मेमोरियल ओपन लनटनिसमा मेन्स सिंग्लसमा सेकेन्ड रनर बने । उनले हालैमात्र माल्दभिस्मा यू–१८ नेस्नल प्लेयरलाई प्रशिक्षण समेत दिएका थिए ।

बुद्ध लामा (सितेरियो कराँते)

२२ वर्षका बुद्ध लामा सितेरियो कराँतेका अब्बल खेलाडी हुन् । चितवनमा जन्मिएका उनको कर्मथलो गोरखा हो । उनले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै दर्जनभन्दा बढी पदक प्राप्त गरिसकेका छन् । उनी खेलमा मात्रै नभइ प्रशिक्षणमा समेत अब्बल छन् । खेलेर गण्डकीलाई पदक दिलाएका उनले प्रशिक्षणबाट समेत प्रदेशलाई पदक दिलाउन सफल भएका छन् ।


तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगितामा गण्डकीले दोस्रो स्थान हासिल गरेको थियो । गण्डकीले उक्त प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ३ काँस्य हासिल गर्दै दोस्रो हुन सफल भएको थियो । बुबाको प्रेरणाले उनी कराँतेमा आकर्षित भएका हुन् । उनको बुबा ग्याम्जो लामा यस अघि गण्डकीका प्रशिक्षक थिए ।

उनले सात वर्षको उमेरदेखि नै कराँते सुरु गरेका हुन् । प्रतियोगितामा सहभागि हुन थालेदेखि नै उनले पदक ल्याउन सुरु गरेका थिए । उनले राष्ट्रिय र प्रदेशस्तरका प्रतियोगितामा गण्डकीको प्रतिनिधित्व गर्दै दर्जन बढी पदक जित्न सफल भएका छन् । उनले प्रदेशको प्रतिनिधित्व गरिरहँदा पाँच वर्ष लगातार राष्ट्रपति कपको तौल समूहमा पदक हासिल गरे । प्रदेशबाट डेब्यु खेल खेलेको पनि राष्ट्रपति रनिङ शिल्डबाटै हो । ०७१ देखि २०७५ सम्म राष्ट्रपति कपमा गण्डकीको प्रतिनिधित्व गर्दै लगातार पदक हासिल गरेका छन् । उनले ३ स्वर्ण, १ रजत र १ काँस्य पाए भने सर्वोत्कृष्ट खेलाडी समेत भएका थिए ।

गणेशमान सिंह राष्ट्रिय कराँते, राष्ट्रिय कराते च्याम्पियनसिप, गाउँपालिका कप राष्ट्रिय कराँते प्रतियोगिता २०७६ (बडिगाड बाग्लुङ), छैटौं धनबहादुर मेमोरियल राष्ट्रिय कराँते च्याम्पियनसिप ०७७, पहिलो गोकर्णेश्वर खुल्ला राष्ट्रिय कराँते च्याम्पियनसिप ०७५ लगायत राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्ण, रजत, काँस्य पदक उनले पाएका छन् ।

विधान अधिकारी (ब्याडमिन्टन)

गण्डकी प्रदेशको ब्याडमिन्टनमा पछिल्लो समय निकै चम्किँदै गएका खेलाडी हुन्, विधान अधिकारी । सानै उमेरबाट ब्याडमिन्टन खेलमा होमिएका उनले सहभागिता जनाएका हरेक खेलमा पदक प्राप्त गरिरहेका छन् । उनले विद्यलायस्तर हुँदै राष्ट्रियस्तरसम्मको खेलमा पदक ल्याएका छन् । उनको खेल कौशलकै कारण उनलाई एक कम्पनीले पोखरामा प्रायोजन समेत गरेको छ । जुन अहिलेसम्म पोखरामा कुनै पनि ब्याडमिन्टन खेलाडीले पाएका छैनन् । २० वर्षीय उनले १३ वर्षको उमेरमा नै जिल्लास्तरीय प्रतियोगिता जितेका थिए ।


पोखरा–१६ बाटुलेचौरका विधानले ०७८ मा ११ औं पुष्पलाल र्‍यांकिङ ब्याडमिन्टन प्रतियोगता एक्सेप्ट टप १६ मा स्वर्ण र खुल्ला डबल्समा काँस्य पदक ल्याएका थिए । बाह्रविसे कप टप २० डबल्समा स्वर्ण, हरिसिद्धि ब्याडमिन्टन प्रतियोगिता एक्सेप्ट टप २० डबल्समा स्वर्ण, टोखा मेयर कप एक्सेप्ट टप २० डबल्समा रजत, भक्तपुर खुल्ला ब्याडमिन्टन डबल्समा रजत, जिस्ट एक्सेप्ट टप २० खुल्ला ब्याडमिन्टन प्रतियोगिता डबल्समा स्वर्ण पदक हासिल गरेका छन् ।

अरुणा शाही (भलिबल)

नेपालको महिला भलिबल टिम सम्हालेकी अरुणाको कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भयो । देशको गौरव बढाउने गरी यी र यस्तै सफलता हासिल गर्दै आएकी अरुणाको जन्म गण्डकीको म्याग्दीमा भएको हो ।


पोखरामै बसेर अध्ययन गरेकी उनले यसअघि दोस्रो पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलाको अवार्ड पाइसकेकी छन् । ०६४ देखि भलिबल खेल्न थालेकी उनले सुरुआतमा अन्तरविद्यालय जिल्लास्तरको टुर्नामेन्टमा भाग लिएको स्मरण गर्छिन् । सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै उनले भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप लगायतमा सफलता हासिल गरिन् ।

सातौं तथा आठौं राष्ट्रिय खेलकुद, १३ औं सागलगायतका राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर नतिजा दिएकी छन् । सातौं राष्ट्रिय खेलकुदमा कास्य, आठौंमा चांैथो स्थान हासिल गरेकोमा १३ औं सागमा उनको टिमले रजत जितेको थियो । सन् २०२१ मा सेन्ट्रल जोनमा स्वर्ण जित्दा उनी बेस्ट सेटर घोषित भएकी थिइन् । त्यस्तै एनभीए च्याम्पियनसि–२०७८ मा पनि बेस्ट सेटर घोषित भएकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर प्लेयर अफ द इयर २०७७ मा दर्शक च्यवाइस अवार्ड उनले पाएकी थिइन् ।

मनीषा उपाध्याय (क्रिकेट)

गण्डकी प्रदेश महिला यू–१९ क्रिकेट टिमकी कप्तान हुन् मनीषा उपाध्याय । क्रिकेटमा आफ्नो भविष्य खोजिरहेकी १६ वर्षीया उनी खेलमा आवद्ध भएको ५ वर्षमात्रै पुगेको छ । सुदूरपश्चिमको बझाङमा जन्मिएकी उनको घर धनगढी हो । तर, उनको बसाइँ भने पोखरामै छ । पोखराबाटै उनले क्रिकेटको यात्रा सुरु गरेकी थिइन् ।


कक्षा १२ मा अध्ययन गरिरहेकी उनले ८ कक्षा पढ्दादेखि क्रिकेट खेल्न सुरु गरेकी हुन् । उनले ५ वर्षमै गण्डकी प्रदेश यू–१९ को कप्तानी मात्रै गरिनन् राष्ट्रिय टोलीको सदस्य समेत हुन् पुगिन् । उनको कप्तानीमा रहेको गण्डकीको यू–१९ टिमले ०७८ मा प्रदेशस्तरीय यू–१९ प्रतियोगितामा उपाधि उचालेको थियो । उनको खेल कौशलकै कारण हालैमात्र यू–१९ एसिया क्वालिफाई खेल खेलेर आएकी हुन् । उक्त खेलको प्रदर्शनले उनलाई नेपाली सिनियर राष्ट्रिय महिला टोलीमा प्रवेश गराएको थियो । तर, स्वास्थ्यमा समस्या आएपछि अहिले उनी उपचार गरिरहेकी छन् । उनले प्रदेशको प्रतिनिधित्व गर्दै ३ पीएम कप, राष्ट्रिय यू–१९, यू–१९ एसिया कप लगायत प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

सरगम कुमाल (कराँते)

पोखरा रिठ्ठेपानीकी १७ वर्षीया सरगम कुमालले खेल जीवनको छोटो समयमै उत्कृष्ट सफलता हासिल गरेकी छन् । उनले १२ वर्षको छँदा कराँते प्रतियोगितामा डेब्यु गरेकी थिइन् । ०७३ मा पश्चिमाञ्चल क्षेत्रीय पुरुष/महिला फुल कन्ट्याक्ट कराँते च्यापियनसिपमा उनले महिलातर्फ ३० केजी तौल समूहमा दोस्रो स्थान हासिल गरिन् । यो सफलतासँगै उनले लगातार अन्य प्रतियोगितामा निरन्तर सहभागिता जनाइन् । मेडल पनि हात पारिन् ।


उनी अघिल्लो वर्ष भएको २१ औं राष्ट्रिय माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते तथा तेस्रो क्युकोसिन कान कराँते प्रतियोगिता–०७८ मा पहिलो हुन सफल भएकी थिइन् । सन् २०२१ मा भएको तेस्रो अल नेपाल क्युकोसिन कान कराँतेमा पहिलो हुँदा उनी बेस्ट फाइटर समेत घोषित भइन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४५ केजी तौल समूहमा रजत जितेको क्षणलाई उनी सबैभन्दा ठूलो उपलब्धि ठान्छिन् ।

करियर सुरुआतका क्रममा उनले १७ औं राष्ट्रिय माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते तथा छैटौं क्योकुसिन बुदो काई कराँतेमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन् । उनले त्यसबेला ४० केजी तौल समूहमा उक्त सफलता हासिल गरेकी हुन् ।

०७५ को १८ औं माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते तथा सातौं क्युकोसिन बुदो काई कराँतेमा पनि पहिलो नै भइन् । उक्त वर्ष सम्पन्न छैटौं कास्की जिल्लास्तरीय कराँतेमा ४५ केजी तौल समूहमा दोस्रो, सन् २०१८ को अल नेपाल क्युकोसिन कान कराँतेमा पहिलो भइन् ।

१९ औं माछापुच्छ्रे गण्डकी प्रदेश फुल कन्ट्याक्ट कराँते तथा प्रथम क्युकोसिन कान कराँतेमा ४० केजी तौल समूहमा पहिलो, लालबन्दीमा भएको अर्को प्रतियोगितामा पनि पहिलो नै हुन सफल उनी सन् २०१९ को राष्ट्रियस्तरको फुल कन्ट्याक्ट कराँतेमा ४५ केजी तौल समूहमा तेस्रो बनेकी थिइन् ।

को बन्ला उत्कृष्ट प्रशिक्षक ?

वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् ।

निरज थापा २३ वर्ष अघि काठमाडौंबाट पोखरा आउँदा यहाँ टेनिस खेल्नेको संख्या औलामा गन्न मिल्ने थियो । ०५९ सालमा रत्नश्री जिमहलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १०/१५ जनाले टेनिस खेल्थे । त्यो पनि भेट्रान्स मात्रै । एक दशक अघि नेपालको शीर्ष वरियतामा रहेका कुमार अधिकारीले निरजसँगबाट टेनिस र्‍याकेट समात्न सिकेका हुन् । त्यसपछि पोखरा च्याम्पियन खेलाडीहरु महेश्वर तिवारी, अनिल शाही, शक्ति शर्मा लगायतले पनि निरजसँगै टेनिस सिके । महेश्वर अहिले दुवईमा व्यवसायिक रुपमा टेनिस खेल्ने खेलाउने गर्दछन् । अनिल, शक्ति लगायत अहिले पोखरामै टेनिस सिकाउँछन् । निरज थापाले अहिलेसम्म सयांै खेलाडी उत्पादन गरिसकेका छन् । तीमध्ये अहिले नेपालका शीर्ष वरीयता खेलाडी प्रदीप खड्का उनकै विद्यार्थी हुन् ।

क्रिकेट खेलाडी हुँदै प्रशिक्षक बनेका रिजन प्रजुको प्रशिक्षणमा गण्डकीको महिला टोलीले धनगढीमा वाईवाई महिला क्रिकेट प्रतियोगितामा पहिलो स्थान हासिल गर्दै ऐतिहासिक सफलता पाएको थियो । वर्ष २०७८ मा मलेसियामा भएको एसिया वल्र्ड कप क्वालिफिकेसनमा महिला टोलीले तेस्रो, गैंडाकोटमा भएको मेयरकपमा पहिलो स्थान हाासिल गरेको थियो । त्यस्तै, पीएम कपमा पनि सहभागिता जनायो । सन् २००६ मा पोखरा आएका रिजन सुरुमा पोखराको टिमबाट क्रिकेट खेल्थे । सन् २००८ देखि उनले गण्डकीको टिमको कप्तानी सम्हानले । सन् २०१३ बाट उनले महिला टिम सम्हालेका हुन् ।

उनी दृष्टिविहीन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको वल्र्डकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्यान्डलाई तथा पाकिस्तानमा अस्ट्ेरलियालाई पराजित गरेको थियो ।

रेकमाया गुरुङ अहिले भारतको पटियालामा फेन्सिङको प्रशिक्षणमा छिन् । फेन्सिङ संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी उनले नेताजी सुभाष नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्समा ६ साता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्ट्स कोचिङमा फेन्सिङ खेलको प्रशिक्षण लिएकी हुन् । पोखरा नयाँगाउँकी उनले तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा पदक जितिसकेकी छन् । उनी राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकी रजत पदकधारी खेलाडी पनि हुन् । पाँच डन प्राप्त उनले पोखरामा आफ्नै ‘एबसोल्युट डोजाङ’ सञ्चालन गरिरहेकी छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पार्नेछन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजना गर्ने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदीयमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव राजाराम पौडेलले बताए । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट अग्रज खेलाडी गणेशबहादुर भट्टराई सम्मानित हुँदैछन् । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको घोषणा अवार्ड समारोहमा नै हुनेछ । मञ्चले ०७२ देखि पोखरामा निरन्तर स्पोर्ट्स अवार्ड आयोजना गर्दै आएको छ ।

प्रकाशित : असार १७, २०७९ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?