लन्डन — निक किर्गोस र राफेल नाडालले बिहीबार विम्बल्डनको तेस्रो चरणको यात्रा तय गरेका छन् । किर्गोसले फिलिप क्रानोभिचलाई ६–२, ६–३ र ६–१ ले हराए ।
अब उनले ग्रिसका चौथो वरीयता प्राप्त स्टेफानोस सिसिपासको सामना गर्नेछन् । आफ्नो पहिलो खेलमा खराब व्यवहारका लागि किर्गोसलाई दस हजार डलर जरिवाना पनि गरिएको छ ।
नाडाल भने लगातार तेस्रो ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन् र यस क्रममा उनले रिकार्डस बेरानकिसलाई ६–४, ६–४, ४–६ र ६–३ ले हराए । दोस्रो वरीयताका नाडालले अब लोरेन्जो सानेगोको सामना गर्नेछन् । अर्जेन्टिनाका १२ औं वरीयता प्राप्त डिएगो स्वार्जमन भने ब्रिटिस वाइल्डकार्ड लियाम ब्रोडीसँग ६–२, ४–६, ०–६, ७–६ र ६–१ ले पराजित भएका छन् ।
महिलातर्फ १३ औं वरीयताकी डेनिस सापोभालोभ अमेरिकाकी ब्रान्डन नाकासिमासँग ६–२, ४–६, ६–१ र ७–६ ले पराजित भइन् । सापोभालोभ गत वर्ष विम्बल्डनको सेमिफाइनलसम्म पुगेकी थिइन् । उनले अब चौथो चरणमा कोलम्बियाकी ड्यानिएल गलानको सामना गर्नेछिन् ।
धनगढी — धान दिवसको अवसरमा बुधवार कैलालीमा एकै दिनमा १५ प्रतिशतले रोपाइँ गर्न भ्याएका छन् । आकाशे पानीको भरमा बसेका किसानका लागि धान दिवसको दिन पानी पर्दा ठूलो संख्यामा एकै दिन रोपाइँ सम्भव भएको किसानहरूले बताए ।
‘खेत जोतेर आली माटो सम्याएर रोपाइँका लागि आकाशको पानी पर्खेर बसेका थियौं,’ धनगढी जुगेडाका लालबहादुर रानाले भने, ‘बुधबार बिहान सबेरैदेखि वर्षा सुरु भयो । हलगोरु निकालेर खेतमा गई रोपाइँ गर्न भ्यायौं । किसानलाई यो वर्षको धान दिवसमा रोपाइँ गर्न पाउँदा खुसी ल्याएको छ ।’
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मनसुन ढिलो सक्रिय भएका कारण किसानहरू चिन्तामा थिए । ‘यो वर्ष मनसुन ढिलो सक्रिय भएकोले बेर्ना बुढिँदै गएको थियो । बुढो बेर्नामा रोगकिरा बढी लाग्ने र उत्पादन राम्रो नहुने भएकोले चिन्ता छाउन लागेको थियो’ धनगढी बेलाका श्याम रानाले भने, ‘त्यसैले चाँडो वर्षाको आसमा किसान बसिरहेका थिए ।’
कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रराज शर्माले धान दिवसका दिन वर्षा भएकोले एकै दिन १५ प्रतिशत बढी किसानले रोपाइँ गर्न भ्याएको बताए । उनका अनुसार मंगलबारसम्म कैलालीका ३० प्रतिशतले मात्रै रोपाइँ गर्न गरेका थिए । नहर, कुलोको पानी लाग्ने खेत र डिप बोरिङबाट सिँचाइ गर्न सक्ने किसानहरूको रोपाइँ गर्न भ्याएका थिए ।
डिप बोरिङबाट पानी निकालेर सिँचाइ गर्ने किसानलाई भने यति बेला डिजेलमा भएको मूल्य वृद्धिले अधिकांश आकाशे पानीको भरमा बसेका थिए । ‘मनसुन सक्रियताको प्रतीक्षामा बस्दा बेर्ना बूढो होला जस्तो लाग्यो’ धनगढी बेलापुरका दयासागर चौधरीले भने, ‘बोरिङको पानीले सिँचाइ गरेको एक दिनपछि मात्रै पानी पर्यो । खाली डिजेल खर्चमा परे ।’
मनसुन सक्रिय भएपछि अबको एक सातामा ८० प्रतिशत किसानले रोपाइँ गरिसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । ‘खेत खनजोत गरेर सम्याएर ठिक्क गरेपछि आकाशे पानीको प्रतीक्षामा किसान बसेका थिए,’ उनले भने, ‘बुधबारको जस्तै वर्षा भएमा ८० प्रतिशत किसानले एक सातामा रोपाइँ गर्न भ्याउँछन् ।’ कैलालीमा असार मसान्तसम्ममा शतप्रतिशत किसानले रोपाइँ गरिसक्ने उनले बताए ।
शर्माका अनुसार यो वर्ष ६७ हजार ५ सय हेक्टरमा धान रोपाइँ भएको छ । यसअघि कैलालीमा ७२ हजार हेक्टरसम्ममा धान रोपाइँ हुन्थ्यो । उनले जमिन खण्डीकरणतर्फ बढेकोले खेती गर्ने जमिन प्रत्येक वर्ष घट्दै गएकोले गत वर्षको तुलनामा ३
हजार हेक्टर कममा धान खेती भइरहेको बताए । रोपाइँ सुरु भए पनि अहिले किसानलाई मल र डिजेल अभाव बढेको छ । किसानले रोपाइँ गर्दा पर्याप्त डीएपी मल पाउन सकेका छैनन् ।