पोखरा स्पोर्ट्स अवार्ड

उदीयमानमा तीव्र प्रतिस्पर्धा

दीपक परियार

पोखरा — छैटौं पोखरा स्पोर्ट्स अवार्ड–२०७८ को मनोनयन सार्वजनिक भएसँगै त्यसमा परेका खेलाडीको चर्चा हुन थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले असार १८ मा ४ विधामा स्पोर्ट्स अवार्ड प्रदान गर्दै छ ।

उदीयमानमा तीव्र प्रतिस्पर्धा

उदीयमान वर्ष खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी सृष्टि जैसी र बक्सिङका साहिल लिम्बु मनोनयनमा परेका छन् । उनीहरूमध्ये अवार्ड चुम्न सफल हुने नाम शनिबारसम्म कुर्नुपर्नेछ । अवार्ड विजेताले ३५ हजार रुपैयाँका साथमा ट्रफी हात पार्नेछन् ।

सानैमा बक्सर बनेका साहिल

पोखरा–१२ शीतलादेवी स्कुलमा कक्षा १० मा पढ्ने साहिल लिम्बु १५ वर्ष पुगे । लाहुरे बन्ने हुटहुटी भए पनि उनी लोक गुरुङको बक्सिङ सेन्टरमा भर्ना भए । बक्सिङमा पोख्त हुँदै गए । प्रशिक्षण सुरु गरेको वर्ष दिनमै उनले प्रतियोगितामा भाग लिने अवसर पाए । ०७७ मा पोखरा रंगशालामा भएको हिरोज कप इन्डोर नेपाल आमन्त्रित बक्सिङमा उनी सहभागी भए । प्रतियोगितामा उनी भारतीय खेलाडीसँग पराजित भए । ०७८ सालमै काठमाडौंमा विद्यालयस्तरीय राष्ट्रिय बक्सिङमा प्रतिस्पर्धा गरेर स्वर्ण पदक जिते । अहिलेसम्मको बक्सिङ करियरमा उनको यो नै ठूलो सफलता हो ।

त्यसलगत्तै पोखरामा फेरि हिरोज कप भयो । अघिल्लो वर्षको हारको बदला लिँदै उनले स्वर्ण जिते । अहिले उनी नवौं राष्ट्रिय खेलकुदको तयारीमा छन् । नवौंमा सहभागी भएर कास्कीसँगै गण्डकी प्रदेशकै नतिजामा सुधार ल्याउने उनको लक्ष्य छ ।

अलराउन्डर सृष्टि

क्रिकेटमा अलराउन्डर प्रदर्शन क्षमता कमै खेलाडीमा हुन्छ । ब्याटिङ, बलिङ र फिल्डिङमा जम्ने कमै खेलाडीमध्ये एक हुन्, महिला क्रिकेटर सृष्टि जैसी । उनी यू–१९ महिला क्रिकेटकी नाम चलेकी खेलाडी हुन् । कक्षा ७ मा पढ्दा विद्यालयको होस्टेलमा बसेर उनले क्रिकेट सिकिन् । राष्ट्रिय खेलाडी करण केसीले पोखराको नदीपुरमा सञ्चालन गरेको राइजिङ क्रिकेट एकेडेमीमा प्रतियोगिता चलिरहेको समयमा टिम नपुगेपछि उनलाई होस्टेलबाट लगेर खेलाए । प्रतियोगितामा उनले सबैको मन जितिन् । त्यसपछि उनलाई एकेडेमीकै सदस्यले नियमित क्रिकेट अभ्यास गर्न सुझाए ।

प्रशिक्षणकै दौरानमा उनको टिम धनगढी र महेन्द्रनगरमा पीएम कप खेल्न गयो । त्यसलगत्तै उनी आठौं राष्ट्रिय खेलकुद खेल्न दाङमा पुगिन् । उनी ९ कक्षामा पढ्ने बेलामा देशकै प्रतिनिधित्व गर्दै यू–१९ खेल्न चीन गइन् । चीनमा उनको टिम तेस्रो भयो । त्यस समयमा उनले एकेडेमी पनि परिवर्तन गरिसकेकी थिइन् । करण केसीको एकेडेमी बन्द भए पनि उनी रिजन प्रजुको एकेडेमीमा जोडिएकी थिइन् । कक्षा १० मा पढ्ने समयमा उनी त्रिवि मैदानमा भएको महिला च्याम्पियन्स लिग खेल्न पुगिन् । त्यस लगत्तै उनी मलेसियामा यू–१९ खेल्न पुगिन् । टिमले भनेजस्तो गर्न नसके पनि उनले यू–१९ प्रतियोगितामा प्लेयर अफ दी म्याच हुन सफल भएकी थिइन् । नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेकी उनको लक्ष्य भनेको अब क्रिकेटमा सिनियर महिला टिमका लागि छनोट हुनेछ ।

बाबुलाई पछ्याएका दर्शिल

उमेरले १३ मा टेकेका दर्शिल श्रेष्ठ सानैदेखि बाबुको पछि लागेर टेनिस कोर्टसम्म पुग्थे । बाबु नवीन श्रेष्ठ र आमा प्रिया श्रेष्ठको साथबाटै टेनिसमा होमिएका उनी पछिल्लो समय प्रतियोगिता खेल्दै नेपालका धेरै स्थानमा पुगिरहेका हुन्छन् ।

५/६ वर्षदेखि टेनिसको र्‍याकेट समाउन सुरु गरेका दर्शिलले ९ वर्षको हुँदा प्रतियोगिता खेलेको हुन् । पोखरामा भएको लिटिल एन्जल्स कपमा सहभागिता जनाएका उनले उपाधि जित्न सकेनन् तर अनुभव भने राम्रै बटुले । सन् २०२१ मा फेब्रुअरी १४ देखि १८ सम्म ललितपुरमा भएको टिम टेनिस नेपाल जुनियर प्रिमियरमा उनी च्याम्पियन बनेका थिए । त्यसपछि सन् २०२१ अप्रिलमा भएको जेटीआई ग्रान्ड जुनियर ओपन टेनिसमा विजेता बनेका थिए ।

०७८ साल भने उनका लागि निकै फलदायी बन्यो । सबैभन्दा बढी उपाधि र उपलब्धि उनले २०७८ मा पाएका छन् । उक्त वर्ष उनी टेनिसमा यू–१२ मा नेपाल नम्बर एक खेलाडी बने । यो नै उनको अहिलेसम्मको खेलजीवनको ठूलो उपलब्धि हो । उनी आईटीएफ एसियन यू–१२ मा तेस्रो बने । एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍याकिङमा परे । भूपू खेलाडी मञ्चले राइजिङ प्लेयरका रुपमा सम्मान गर्‍यो । विभिन्न प्रतियोगितामा आफूलाई अब्बल बनाउँदै एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍याकिङबाट ६५ औं स्थानमा पुगे । वीर गणेशमान सिंह राष्ट्रिय पुरुषतर्फ सिंगलमा विजेता र डबल्समा उपविजेता बने । एसियन यू–१४ टेनिसमा सिंगलतर्फ तेस्रो र डबल्समा दोस्रो बने । उनी टेनिससँगै पढाइ अगाडि बढाउने सोचमा छन् ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्चले वर्ष उत्कृष्ट उदीयमान खेलाडीसहित लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेलपत्रकारलाई अवार्ड वितरण गर्दै छ ।

भट्टराईलाई लाइफटाइम एचिभमेन्ट

खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । पोखरा सभागृहमा शनिबार हुने कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिनेछ ।

उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी उनले सन् १९९० मा पाकिस्तानमा भएको चौंथो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेके थिए ।

भट्टराई सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलोपल्ट जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जिते । उक्त वर्ष सिनियरतर्फ चौंथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । सन् १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि उनी पुगेका थिए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रूपमा उनको करिअरले विश्राम लिए पनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । सन् १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कांस्य पदक देशले जित्दा उनी टिम म्यानेजर थिए ।

प्रकाशित : असार १७, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?