कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘बिज बल’ लाई तयार छ भारत ?

विश्व क्रिकेटका लागि यो एक प्रकारले नयाँ शब्दावली हो भन्दा पनि हुन्छ
द गार्डियन

एजबास्टन — इंग्ल्यान्डले शुक्रबार पाँचौं तथा अन्तिम टेस्टमा भारतको सामना गर्दै छ । यो फेरि मिति तय गरिएको टेस्ट हो । यसको पूर्वसन्ध्यामा धेरैभन्दा धेरै खेलाडीको भविष्यलाई लिएर प्रश्न उठेको छ । जस्तो कि विराट कोहली । भारतीय टोलीका यी पूर्व कप्तान अहिले खराब लयबाट गुज्रिइरहेका छन् । त्यसैले त उनले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएको पनि ७४ इनिङ्स भइसकेको छ । तर मूल प्रश्न हो, के भारतले ‘बिज बल’ को सामना गर्न सक्ने छ त ?

‘बिज बल’ लाई तयार छ भारत ?

विश्व क्रिकेटका लागि यो एक प्रकारले नयाँ शब्दावली होभन्दा पनि हुन्छ । इंग्लिस टोलीका अहिलेको नयाँ प्रशिक्षक हुन्, न्युजिल्यान्डका ब्रेन्डन म्याकलम । आफू खेलाडी छँदा उनी अत्यधिक आक्रामक भएर खेल्थे । प्रशिक्षक भएयता पनि उनको शैली त्यस्तै छ, ‘अत्यधिक आक्रामक’ मात्र नभएर ‘अति धेरै आक्रामक’ । यसको प्रारम्भिक छनक त इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध खेलेको शैलीमै देखियो । इंग्ल्यान्ड तीन टेस्ट शृंखलामा ह्वाइटवास गर्न सफल रह्यो ।

परिस्थिति जस्तै होस्, अत्यधिक सकारात्मक रहने । यही सूत्र हो ‘बिज बल’ को । लगातार तीनै टेस्ट इंग्ल्यान्डले चौथो इनिङ्समा लक्ष्य पछ्याएर जितेको थियो । सबै अवसरमा इंग्ल्यान्डले जसरी खेलेको थियो, त्यो नै हो ‘बिज बल’ । यही शैलीमा रहेर जोनी बेरिस्टोले निकै आक्रामक भएर ब्याटिङ गरे र अविश्वसनीय रूपमा इंग्ल्यान्डलाई जिताए । यस्तै ब्याटिङ कप्तान बेन स्टोक्सको ब्याटबाट पनि देखियो । टेस्ट क्रिकेटमै बलभन्दा पनि बढी रन ।

सबैभन्दा पहिले शृंखलाकै कुरा । पाँच टेस्टको सिरिजमा भारत २–१ ले अगाडि छ । गत सेप्टेम्बरमा भारतले ओभल टेस्ट जितेपछि शृंखलामा अग्रता लिएको हो । तर, ओल्ड ट्राफोर्डमा हुनुपर्ने अन्तिम टेस्ट भने भएन । टेस्ट सुरु हुन बिहानी समयमा मात्र भारतले यो टेस्ट नखेल्ने घोषणा गरेको थियो । यसको कारण थियो, खेलाडी र टिम कर्मचारीबीच कोरोना भाइरस संक्रमणको डर । खास कुरा यतिमै मात्र सीमित थिएन । भारतीय खेलाडीको मनसाय नै थिएन यो टेस्ट खेल्ने ।

यो टेस्ट सकिएलगत्तै इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनै लागेको थियो, यस्तोमा सबै खेलाडी पाँचौ टेस्ट खेलेर न घाइते हुन चाहन्थ्यो, न त थकित हुन चाहन्थ्यो । त्यस अर्थमा विवादास्पद परिस्थितिमा यो टेस्ट पछि सारिएको थियो । भारतीय खेलाडीको ध्यान सकेसम्म चाँडै घर फर्किनुमै थियो । त्यसैले भारतीय खेलाडी पैसाको लोभी भए भनेर पनि आलोचना भयो । अब त्यही टेस्ट ओल्ड ट्राफोर्डको स्थानमा एजबास्टनमा हुनेछ ।

ओल्ड ट्राफोर्डले यसअघि नै दक्षिण अफ्रिकाको आतिथ्यता गरेको थियो । अहिलेको टेस्टको कार्यक्रम मिलाउन । कोहलीले पछिल्लो जनवरीमा भारतीय टिमको नेतृत्व छाडेका थिए । त्यसयता टिमको कप्तानी गरिरहेका छन् रोहित शर्माले । उनी अचेल रातो र सेतो दुवै बलको क्रिकेटमा भारतीय टिमका कप्तान छन् । तर, यिनै रोहितले पाँचौं यो टेस्ट भने खेल्ने छैनन् । कारण उनी कोभिड संक्रमित छन् । त्यसैले भारतीय टिमको नेतृत्व गर्नेछन् तीव्र गतिका बलर जसप्रित बुमराहले ।

सन् १९८७ यता पहिलोपल्ट कोही तीव्र गतिका बलरले भारतीय टिमको टेस्ट क्रिकेटमा कप्तानी गर्नेछन् । कपिल देव भारतीय क्रिकेटका सबैभन्दा सफल बलरमध्ये एक हुन् । तर, उनी कप्तानका रूपमा त्यति धेरै सफल रहेनन् । बुमराहले के कस्तो गर्नेछन्, त्यसमा पनि नजर हुनेछ । भारतसँग नयाँ प्रशिक्षक पनि छन् राहुल द्रविड । उनले रवि शास्त्रीको स्थान लिएका छन् । रोहितको अनुपस्थितिमा भारतीय टोलीमा नयाँ प्रारम्भिक ब्याट्सम्यान आवश्यक पर्नेछ । त्यसमा मायंक अग्रवाल वा शुभमन गिल हुनेछ ।

दुवैले अहिलेसम्म इंग्ल्यान्डमा टेस्ट क्रिकेट खेलेका छैनन् । यसबीच नम्बर तीनका ब्याट्सम्यान चेतेश्वर पुजारालाई टिमबाट हटाइसकिएको थियो । र, उनी फेरि टिममा फर्किसकेका पनि छन् । ससेक्सका लागि उनले काउन्टी क्रिकेटमा धेरै रन बनाएका छन् । हुन सक्छ, श्रेयस ऐयर वा हनुमा बिहारीमध्ये एकले खेल्ने मौका पाउन सक्नेछ । टिमका पूर्व उपकप्तान अजिन्क्या रहाने पनि टिममा छैनन् । त्यो अर्थमा अनुभवको कमी समस्या हुनसक्छ ।

भारतलाई एउटा समस्या के पनि हुनेछ भने उपलब्ध दुई स्पिनर रवीन्द्र जडेजा या रविचन्द्रन अश्विनमध्ये कसलाई खेलाउने त ? तर, सबैको ध्यान तिनै कोहलीमै हुनेछ । उनले सन् २०१९ यता शतक बनाउन सकेका छैनन् अन्तर्राष्ट्रिय क्रिकेटमा । बुमराहको टिमले इंग्ल्यान्डको ‘बिज बल’ सामना गर्न कस्तो रणनीति लिनेछ, त्यो वास्तवमै हेर्नलायक हुनेछ । इंग्लिस क्रिकेट अहिले नयाँ अध्याय लेख्ने क्रममा छ । एउटा तगारो अब भारत हुन सक्नेछ ।

प्रकाशित : असार १७, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?