अफरोडका राइडर दीपकलाई सफलता- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफरोडका राइडर दीपकलाई सफलता

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘अफरोड’ नेपाली बाइक राइडर दीपक साहले व्यक्तिगत पहलमै फेरि अर्को सफलता हासिल गरेका छन् । उनी भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा २०२२’ को एक्स्ट्रिम (मोटो) को विजेता बनेका छन् ।

अघिल्लो साता सम्पन्न प्रतियोगितामा नेपालबाट भाग लिने उनी एक्लो राइडर थिए । उक्त र्‍यालीमा भाग लिन फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) बाट लाइसेन्सप्राप्त राइडर हुनुपर्दछ । एफएमएससीआई र हिमाञ्चल प्रदेश सरकारबाट स्वीकृतप्राप्त मोटरर्‍याली हो । जहाँ दुईपांग्रे र चारपांग्रे सवारी साधन प्रतिस्पर्धी थिए ।

दीपकले रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा प्रतिस्पर्धा गरेका थिए । उनले एक्स्टि्रम मोटोअन्तर्गत २२० सीसीभन्दा माथि विधामा सहभागिता जनाएर सफलता पाएका हुन् ।

यसअघि सन् २०१८ मा दीपकले लेह लद्दाखमा भएको रोयल इनफिल्ड डी विधामा पहिलो स्थान हासिल गरेका थिए । त्यसको अघिल्लो वर्ष प्रतियोगितामा सहभागी भए पनि दोस्रो दिन चोट बोकेपछि बीचमै रेस त्याग्नुपरेको थियो ।

दोस्रो सहभागितामा पाएको सफलताले फेरि यसपालि सहभागी हुने हौसला मिलेको दीपकले सुनाए । पछिल्लो तीन वर्ष कोरोना महामारीका कारण मोटरर्‍याली नहुँदा उनी पनि फुर्सदिला रहे ।

‘र्‍याली अफ चाम्बा’को रुट समुद्री सतहबाट झन्डै ४५ सय मिटर उचाइमा भएको हो । चारदिने उक्त इभेन्टको समग्र दूरी ५३३ किलोमिटर रहेकोमा प्रतिस्पर्धी दूरी १ सय ६७ किलोमिटर थियो । रूट हाई अफरोड हुनुका साथै ट्रयाकमा ‘लाइट स्नो’ पनि रहेको दीपकले बताए । उनले भने, ‘यो अत्यन्तै कठिन रुटको प्रतिस्पर्धा हो । दुरी पूरा गर्न सक्नु नै सफलता हो । आफ्नो विधामा विजेता हुनु मेरा लागि थप प्रेरणा र हौसला बनेको छ ।’

काठमाडौं हुँदै चण्डीगढमा पुगेर बाइक लिएपछि उनले २६० किमिको पठानकोट यात्रा तय गरे । चण्डीगढबाट मेकानिक्स, म्यानेजर र सहयोगी लिएर उनीसहित चार जनाको टिम पठानकोटबाट करिब १२० किलोमिटरको दुरीमा रहेको चाम्बा पुगेको थियो । राइडरलाई व्यवधान नहोस् भनेर मेकानिक्सले बाइक र म्यानेजरले अरू सबै व्यवस्थापन हेर्नका लागि उनले चण्ढीगढबाटै उनीहरूलाई लिएका थिए ।

पहिलो दिन चाम्बा डिस्ट्रिकको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भयो । दोस्रो दिन चाम्बाबाट लेग वान सुरु भयो । पहिलो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसको दूरी तोकिएको थियो । दोस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । पूरा ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरले पार गरेका थिए ।

३८ वर्षे दीपक २५० सीसीभन्दा माथिको विधामा ११ प्रतिस्पर्धीलाई उछिन्दै विजेता भएका हुन् । जहाँ रोयल इनफिल्डका साथै अन्य कम्पनीका बाइक पनि प्रतिस्पर्धी थिए ।

नेपाली ढाका टोपी लगाएर देशको झन्डासहित पुरस्कार थाप्दा छाती गर्वले चौडा भएको दीपकले सुनाए । उनले भने, ‘त्यति ठूलो जोखिम मोलेर सफलता पाउँदा खुसी नहुने को होला । देशको झन्डा भिरेर पुरस्कार थाप्दा गर्व महसुस गरें ।’

प्रकाशित : असार १६, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्

चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध छ : खड्का

सीपीसीका विदेश विभाग प्रमुख र परराष्ट्रमन्त्रीबीच खड्काबीच भर्चुअल कुराकानी  
जगदीश्वर पाण्डे

काठमाडौँ —  परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओसामू उक्त कुरा बताएका हुन् । उक्त संवादमा सीपीसीका विदेश विभागका उपमन्त्री चेन झोउ पनि सहभागी थिए ।

मन्त्री खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच बिहीबार भर्चुअल कुराकानी भएको थियो । केही समयअघि मात्र उक्त विभाग सम्हालेका लिउले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भर्चुअल कुराकानी गरेका थिए ।

चिनियाँ विदेश विभागका अनुसार लिउले चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षयता दुवै पक्षले सधैं एकअर्कालाई बुझ्ने र समर्थन गर्दै आएका उल्लेख गरे । साथै, उनले छिमेकी राष्ट्रहरूबीच समान व्यवहार, मैत्रीपूर्ण सहयोग र आपसी हितको नमुना रहेको बताए ।

उनले सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव तथा चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक भ्रमण गरेको उल्लेख गर्दै त्यसले चीन–नेपाल मैत्री सहयोगको नयाँ अध्याय खुलेको बताएका थिए । उनले सीपीसीले नेपाली कांग्रेसलगायत नेपालका सम्पूर्ण राजनीतिक दलहरु मैत्रीपूर्ण सम्बन्ध कामय र आदान–प्रदान गर्ने बताए ।

उनले यो वर्ष आयोजना हुने सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन आयोजना पार्टी र चिनियाँ जनताका लागि निकै महत्त्वपूर्ण रहेको प्रस्ट पारेका थिए । ‘यसले विश्वमा महत्त्वपूर्ण र सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने । बैठकपछि चिनियाँ पक्षले नेपाली पक्षलाई सान्दर्भिक अवस्थाबारे जानकारी गराउन इच्छुक रहेको पनि जानकारी दिए ।

कांग्रेसका नेता समेत रहेका मन्त्री खड्काले सीपीसीलाई १०१ औं स्थापना दिवसको शुभकामना दिएका थिए । उनले सीपीसीको १०० वर्षको गौरवशाली इतिहास विशेष गरी पार्टीको १८औं राष्ट्रिय महाधिवेशनपछि चिनियाँ जनतालाई विश्व–विश्वको उपलब्धि हासिल गरेकोकोमा बधाई दिए ।

गरिबी निवारण, प्राविधिक आविष्कार, महामारीविरुद्धको लडाइँ, सामाजिक विकासलगायतका विषयमा नेपाललाई चीनले बहुमूल्य सहयोग गरेको भन्दै खड्काले धन्यवाद दिए ।

मन्त्री खड्काले नेपाली कांग्रेस पार्टी चीनसँग मित्रता विकास गर्न प्रतिबद्ध रहेको र ‘एक चीन सिद्धान्त’लाई दृढताका साथ पालना गर्ने बताए । उनले कांग्रेस स्वतन्त्र परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रस्ट पारे ।

उनले कांग्रेस र सीपीसीसँग संस्थागत आदान–प्रदानलाई सुदृढ गर्न, दुई देशबीच विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इच्छुक रहेको पनि बताए । खड्काले चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन पूर्ण सफलताको कामना गरे ।

यसअघि गत बिहीबार र शुक्रबार सीपीसी विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालका दुई मुख्य कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भिडियो संवाद गरेका थिए ।

प्रकाशित : असार १६, २०७९ २१:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×