फुटबलका ‘गेम चेन्जर’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबलका ‘गेम चेन्जर’

एन्फाको पछिल्ला दुई निर्वाचनमा नवीन पाँडे र दावा लामा मुख्य पात्रको रूपमा रहे । चार वर्षअघि कर्माछिरिङ शेर्पा र यसपालि पंकजविक्रम नेम्वाङको जितमा निर्णायक देखिएका यी दुई नेपाली फुटबलमा कसरी उदाए ?
राजु घिसिङ

काठमाडौँ — भनिन्छ नि ! जहाँ बल र बुद्धिको संयोजन हुन्छ, त्यहाँ जित वा सफलता सुनिश्चित हुन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्ला दुई निर्वाचनमा बुद्धि र बललाई संयोजन गर्ने काममा नवीन पाँडे र दावा लामा सफल साबित भए । उनीहरू चार वर्षअघि कर्माछिरिङ शेर्पा र गत साता पंकजविक्रम नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित हुँदा चुनावी दौडका प्रमुख पात्र देखिए ।

बौद्धमा नवीन पाँडे र दावा लामा । तस्बिर सौजन्य : सुविन शाक्य

पाँडेले साथ दिएको ७ वर्षपछि शेर्पा २०७५ वैशाख २२ मा प्यानलसहित एन्फा अध्यक्ष निर्वाचित भएका थिए । त्यो चुनावभन्दा ६ महिना अघिमात्रै लामालाई शेर्पा समूहमा आबद्ध गर्ने काम उनै पाँडेले गरेका थिए । सहिद स्मारक ‘सी’ डिभिजन क्लबहरू र केही जिल्लालाई एउटै ठाउँमा उभ्याएका लामा त्यतिबेला सर्बाधिक मतसहित केन्द्रीय सदस्य चुनिएका थिए ।

उनी २०७९ असार ६ को चुनावमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष चुनिए । उनकै प्यानलको बाहुल्य हुँदा शेर्पालाई ६ मतले हराएर नेम्वाङ एन्फाको नयाँ अध्यक्ष बने । पाँडे र लामा दुवै निर्वाचनमा महिनौंदेखि रातदिन सक्रिय रहे ।

शेर्पा र नेम्वाङ नेपाली फुटबलको सर्वोच्च पदमा निर्वाचित हुँदाको भर्‍याङ थाप्ने काममा यिनै पाँडे र लामाको मुख्य भूमिका रह्यो । पाँडे दुवै निर्वाचनका रणनीतिकार हुन् भने मतदाता एकढिक्का पार्दै आफ्नो समूहलाई अगाडि बढाउने काम गरे लामाले । यी दुई शेर्पा निर्वाचित भएको एक वर्षभित्रै नेतृत्वसँग अलग्गिएका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख तथा अध्यक्षका मुख्य सल्लाहकारबाट पाँडेले राजीनामा दिएका थिए । लामालाई फुटसल समितिको संयोजकबाट हटाइएको थियो । विस्तारै उनीहरू तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा सुशासन, आर्थिक पारदर्शिता, सामूहिक एकता र विकेन्द्रीकरणको पुरानो नारामा समाहित भएका थिए ।

शेर्पालाई अध्यक्ष बनाएको चार वर्षपछि किन अर्कैलाई साथ दिनुपर्‍यो ? ‘कुनै पनि लक्षण नदेखेपछि फरक बाटोमा जाँदैछौं भन्ने महसुस भयो । त्यसैले आगो लागेको आफ्नो घरमा बस्यो भने जल्छ भनेर म बाहिर निस्किएँ,’ पाँडेले भने, ‘हामीले शेर्पालाई होइन, फुटबल विकासको विचारलाई अगाडि बढाएको हो । त्यो विचारलाई कुनै पनि हिसाबले न्याय भएन, जसलाई न्याय दिलाउन अहिले नेम्वाङजीलाई अगाडि बढाइएको हो । हिजो वरिष्ठ उपाध्यक्ष हुँदा त्यो विचार उठाएका मान्छेलाई ल्याइएको हो ।’

यसैमा लामाले थपे, ‘आर्थिक पारदर्शिता, सुशासन, सामूहिक एकता, विकेन्द्रीकरणलगायतका नारालाई कार्यान्वयनमा लगिएन । पूर्वअध्यक्ष गणेश थापा (भ्रष्टाचारको अभियोगमा फिफाद्वारा प्रतिबन्धित) विरुद्ध विधानमै नभएको काम गरेको भनेका थियौं, मुद्दा हालेका थियौं । ती बेथितिविरुद्ध चार वर्षसम्म हटाउने काम कत्ति पनि भएन । त्यसैले नेम्वाङको नेतृत्व रोजें ।’

बौद्धमा नवीन पाँडे र दावा लामा । तस्बिर सौजन्य : सुविन शाक्य

थापाविरुद्धको अभियानमा शेर्पालाई साथ दिएका नेम्वाङलाई किन साथ दिनुपर्‍यो ? लामा भन्छन्, ‘उहाँले चार वर्ष बैठकमा उठाएका एजेन्डा र त्यसप्रतिको इमानदारिता नै सबैभन्दा राम्रो लाग्यो । उहाँसँग क्लब, जिल्ला, खेलाडी, कोच, रेफ्रीलगायत साथीहरूको गुनासा सुन्ने क्षमता छ । सबैलाई मिलाएर व्यवस्थापन राम्रो बनाउनुहुन्छ भन्ने विश्वास छ ।’ पाँडे थप्छन्, ‘उहाँमा मैले देखेको सबैभन्दा ठूलो इमानदारिता नै हो । उहाँको २० औं वर्ष फुटबलमा लगानी छ । फुटबलमा उहाँको पारिवारिक संलग्नता, भावनात्मक सम्बन्ध सम्मानयोग्य छ । उहाँमा फुटबलको एजेन्डामा सिक्न र सबैलाई मिलाउन सक्ने शालिन व्यक्तित्व देखेको छु ।’

फरक पृष्ठभूमि

हरिवन तीनघरे (सर्लाही) का ३७ वर्षीय लामाका लागि यो वर्ष निकै फलदायी भएको छ । उनले १४ वर्षअघि स्थापना गरेको प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजनमा उक्लियो । त्यसको केही साताभित्रै उनी सर्वधिक भोटसहित एन्फाको उपाध्यक्ष भए ।

देहरादुन (भारत) स्थित शाक्य सेन्टरमा ५ वर्ष बौद्ध स्कुल पढेका लामाले उतै क्षेत्रीय स्तरसम्म फुटबल खेलेका थिए । व्यवस्थापनबारे उनले भने, ‘प्लानिङ ब्वाइजलाई ‘ए’ डिभिजनमा पुर्‍याएर एउटा व्यावसायिक फुटबल क्लबको रूपमा स्थापित गर्ने लक्ष्य छ ।’ देहरादुनमा छँदै सन्नी देवल अभिनित बलिउड फिल्म ‘अर्जुन पण्डित’मा छोटो भूमिकामा पनि देखिएका उनले उपाध्यक्षको भूमिकाबारे भने, ‘नेपाली फुटबलमा जताततै बेथिति छ । त्यसलाई तोड्नु छ । यसपालि कार्यसमितिमा नयाँ मान्छेको बाहुल्य छ, जसले परिवर्तनको प्रक्रिया सुरु भइसकेको देखाउँछ । यसले फुटबलमा लागिरहेका, विकास र व्यावसायिकताको सोच भएकाहरूलाई एन्फामा आउन प्रोत्साहित गर्छ । मेरो प्रयास पनि यसैमा हुनेछ ।’

बलिउड अभिनेता सन्नी देवलसँग दावा । तस्बिर सौजन्य : अर्जुन पण्डित

पहिला सदस्य र अहिले उपाध्यक्षमा बढी मत पाउनुको कारणबारे उनी बोले, ‘जिल्ला र क्लबभन्दा पनि मैले चार वर्षमा कति काम गर्यो भनेर साथीहरूले चुनावमा मूल्यांकन गरेका हन् । सी डिभिजन क्लबको संयोजकको भूमिकामा मैले हामी फुट्यो भने अरूले खेल्ने मौका पाउँछ भनेर सबैलाई एकजुट पारेको थिएँ । जिल्लासँग पनि प्रस्ट कुरा राखेरै अगाडि बढेको थिएँ । सबैले मलाई एजेन्डामा साथ दिएको हो, सहयोग गरेको हो । अब चुनावताका उठाएका एजेन्डामा केन्द्रित भएर लाग्नेछु ।’

क्रिकेट र सितोरियो कराते खेलेका उनले फुटबल राजनीतिमा छलाङ मार्दै गर्दा औपचारिक शिक्षालाई पनि अगाडि बढाइरहेका छन् । उनको दावा कुंगा कन्स्ट्रक्सनले पनि व्यावसायिक फड्को मार्दै छ । ‘म आलुजस्तै हो, काउलीमा पनि ठिक्क, मासुमा पनि ठिक्क । सही एजेन्डामा क्लब, जिल्ला, केन्द्र सबैमा ठीक छु,’ पाँच वर्षयता विल्कुलै फरक देखिएका उनले भने, ‘व्यवसायमा मिहिनेत गरेर पैसा कमाउने हो । फुटबलमा लगानी गरेर प्रतिष्ठा आर्जन गर्ने हो, इज्जत कमाउने हो ।’ उनी अचेल बलभन्दा बुद्धिमा जोड दिन्छन् ।

जर्मन लिगदेखि वारेनको कम्पनीसम्म

उनी नेपालमा छँदा अलराउन्डर थिए । धुम्बाराहीका स्थानीय उनले फुटबल, टेबलटेनिस, चेस, भलिबल, क्योकुसिन करातेलगायत भ्याएसम्म सबै खेलेका थिए । उनले यहाँ फुटबलको अन्तरवडासम्म खेले ।

जर्मनी पुगेपछि भने फुटबलमै केन्द्रित भएका पाँडेले त्यहाँको एमेच्योर फुटबलको सबैभन्दा माथिल्लो लिग एक दशक खेले । एफसी आल्टे हाइडे र एसभी मामेन्डोर्फबाट १० वर्ष म्युनिकको क्षेत्रीय लिग खेल्दा उनी स्थानीय पत्रिका खुबै छाएका थिए । उनका ठूल्ठूला तस्बिरसहित समाचार प्रशस्तै छापिए । ‘त्यो खेल्दा बेलाको हो, अहिले फरक भूमिकामा छु,’ ४८ वर्षीय गैरआवासीय नेपाली पाँडेले बताए ।

उनी विश्वकप २०१८ अघि एएफसी (एसियाली फुटबल महासंघ) र फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) बीचको मैत्रीपूर्ण खेलमा विश्वकै चर्चित पूर्वखेलाडीसँगै मैदानमा उत्रिएका थिए, जहाँ उनले डच लिजेन्ड मार्को भान बास्टेनबाट खोसेको बल अघि बढाउँदै मस्कोमा फिफाविरुद्ध गोल गरेका थिए । नेपालका लिजेन्डहरू सहभागी भेट्रान फुटबलमा पाँडे नेतृत्वको टिमले धेरैपल्ट उपाधि जितेको छ । उनी थुप्रैपल्ट म्यान अफ द म्याच र प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएका छन् ।

नवीन पाँडे । तस्बिर : फुटबल अल्टे हैडी

‘मैले त्यो स्तरमा खेलेको भनेर देखाउन मन लाग्दैन,’ पाँडेले अप्ठ्यारो महसुस गरे । उनी सन्काह खेलाडी भने पक्कै हुन् । उनको टिम (आल्टे हाइडे) र बायर्न म्युनिक डीएफबी पोकलमा परेको थियो । उनी पहिलो रोजाइमा परेनन्, बेन्चमा बस्न मानेनन्, खेल नै छाडिर निस्किए । ‘हाफ टाइममा कोचलाई मलाई खेलाउन खोजेको रहेछ, तर म घर हिँडिसकेको थिएँ,’ उनले डेढ दशकअघिको घटना सम्झिए, ‘पछि ट्रेनिङमा कोचले बेस्सरी गाली गरे । त्यसले मलाई ठूलै पाठ सिकायो ।’ उनी अहिले भने रकी सान्त क्रुजको टिमविरुद्ध भिड्ने अवसर गुमाएकोमा चुक्चुकाउँछन् । यी स्ट्राइकर अचेल मामेन्डोर्फबाट भेट्रान लिग खेलिरहेका छन् ।

अमेरिकी अर्बपति व्यापारी/व्यवसायी वारेन बफेटको कम्पनी टीटीआईको प्रतिष्ठित ‘चेयरम्यान अवार्ड २००९’ जितेका पाँडे सन् २०११ मा स्वदेश फर्किएका थिए । यहाँ फर्केर उनले बफेटको कम्पनी टीटीआई नेपाल नै खोले । उनी गत वर्ष फेरि जर्मनी गए । अहिले टीटीआईका निर्देशक (स्ट्राटिजिक कोटिङ एन्ड न्यु विजनेस अपर्च्युनिटी) को भूमिकामा विभिन्न देश पुगिरहेका हुन्छन् । आलियन्ज एरिनामा बायर्न र जर्मनीको खेल प्रत्यक्ष हेर्नु त उनको नियमित रुटिन नै भएको छ ।

एन्फामा फेरि अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त भएका उनले भने, ‘मेरो जिम्मेवारीमा संसारको जहाँसुकै बसेर पनि काम गर्न सकिन्छ । मैले बिदा (शनिबार, आइतबार) र कार्यालयबाहिरको समय नेपाली फुटबललाई दिनेछु । यो नितान्त स्वयंसेवक भूमिका हो, एन्फामा मैले काम गरेवापत् कुनै सुविधा लिने छैन । फुटबलका अन्य पक्षसँग नेटवर्क बनाउने/बढाउने काम अरू नेपालीलाई सिकाउने मेरो लक्ष्य हो ।’

उनकै पहलमा राष्ट्रिय टिमका पूर्वविंगर जगजित श्रेष्ठले बुन्डेस लिगाको भीएफबी स्टुटगार्टको एकेडेमीमा एक महिना ट्रेनिङ गरेका थिए । उनले जगजितलाई पोल्यान्डको शीर्ष डिभिजन क्लब जागिलोनिया बियलस्तोकमा ट्रायल दिलाएका थिए, जहाँ ‘रिजर्भ टिम’ का लागि अनुबन्ध प्रस्ताव अस्वीकार गर्दै जगजित स्वदेश फर्किएका थिए । उनले मनबहादुर तामाङ, सुनील लामा, महेश श्रेष्ठ र कपिल ढकाललाई जर्मनीको ‘इन्टरनेसनल डीएफबी कोचिङ कोर्स’ पनि गराए ।

पाँडे अध्यक्षताको काठमाडौं किकर्सले स्कटिस प्रशिक्षक ली मेन्सन (यूईएफए बी लाइसेन्स) ल्याएर १५ महिनायता कपअन स्पोर्ट्स सेन्टर, कपनमा फुटबल एकेडेमी चलाइरहेको छ । उनले निजी स्कुल/कलेजमा दर्जन बढीलाई छात्रवृत्तिमा पढाइरहेका छन् । भन्छन्, ‘आफ्नो सानो सहयोगले कसैको जीवन बन्छ भने त्यसको विज्ञापन गरेर जस लिनु ठीक होइन ।’

‘नेपालमा सबैभन्दा लोकप्रिय र सबैको पहुँचमा भएको खेल नै फुटबल हो,’ पाँडेले भने, ‘फुटबलमा अथाह सम्भावना छ, जसलाई यथार्थमा बदल्न एन्फालाई ट्र्याकमा ल्याउनैपर्छ । मेरो प्रयास यसैमा हो ।’

प्रकाशित : असार १६, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

फोहोर व्यवस्थापनमा मनोविज्ञान

सफा सहरले यहाँ जथाभावी फोहोर फाल्न हुँदैन भन्ने संकेत दिइरहेको हुन्छ, जसले गर्दा त्यहाँ हत्पती कसैले फोहोर फाल्ने आँट गर्दैन । तर गल्ली–गल्लीमा फोहोर थुप्रने सहरले यहाँ यसरी नै फोहोर विसर्जन गर्ने हो भन्ने सन्देश प्रसारित गरिरहेको हुन्छ ।
उत्तमबाबु श्रेष्ठ

सन् १९६९ मा स्ट्यान्फोर्ड विश्वविद्यालय, अमेरिकाका मनोविज्ञान अध्येता फिलिप जिम्बाराडो र साथीहरूले अनुसन्धानको सिलसिलामा एउटा परीक्षण गर्ने निधो गरे- नम्बर प्लेटविहीन कारको हुड खुला राखेर बाटामै मिल्काएको जस्तो गरी अमेरिकाका दुई सहरमा छाड्ने र त्यसपछिको नतिजा हेर्ने ।

योजना मुताविक एउटा कार न्युयोर्क सहरको अत्यधिक अपराध हुने टोलमा र अर्को कार क्यालिफोर्निया सहरको कम अपराध हुने टोलमा छाडियो । छाडिएको केही मिनेटमै न्युयोर्कको बस्तीमा राखिएको कारलाई मानिसहरूले घेरे । उनीहरूले निमेषभरमै कारलाई तोडफोड गरे र बेच्न मिल्ने पाटपुर्जा झिकेर फरार भए । तर क्यालिफोर्नियामा राखिएको कार भने हप्तौंसम्म जस्ताको तस्तै रह्यो । त्यसपछि उनीहरूले उक्त सग्लो कारको झ्याललाई फुटाए र फेरि त्यहीँ छाडिदिए । केही समयभित्रै न्युयोर्कको जस्तै क्यालिफोर्नियामा राखिएको कार पनि तोडफोड भयो र पाटपुर्जा चोरी भयो ।

फिलिपको उक्त सामाजिक परीक्षणबाट प्रभावित भएर सन् १९८२ मा दुई अध्येता जर्ज एल केलिङ र जेम्स क्यू विल्सनले ‘द एटालन्टिक’ मासिकमा ‘ब्रोकन विन्डोज’ शीर्षकको एक लामो लेखमा लेखे, ‘यदि घरको एउटा झ्याल फुटेको छ र त्यसलाई बिनामर्मत छाडियो भने उक्त घरका अन्य झ्यालहरू पनि बिस्तारै फुट्दै जान्छन् ।’ भद्रगोलले अराजकता र अपराधलाई निम्ताउँछ भन्ने निष्कर्षसहितको उक्त लेख चर्चित बन्यो र त्यसको आधारमा ‘ब्रोकन विन्डोज’ नामक नयाँ सिद्घान्त जन्मियो । केलिङले फुटेको झ्याल कसरी टाल्ने भन्दै ‘फिक्सिङ ब्रोकन विन्डोज : रिस्टोरीङ अर्डर एन्ड रिडिउसिङ क्राइम इन आवर कम्युनिटिज’ नामक पुस्तक लेखे । ‘ब्रोकन विन्डोज थ्योरी’ लाई आधार मानेर ‘समाजमा अमनचयन राख्न फुटेका झ्यालहरू टाल्ने’ उपाय सहरी अपराध नियन्त्रणमा लागू गर्न थालियो । न्युयोर्कका चर्चित मेयर रुडी गिलियानीले त्यसलाई मन्त्र बनाएर सहरी अपराध नियन्त्रणका लागि सार्वजनिक रूपमै रक्सी खाने, खुला ठाउँमा पिसाब फेर्ने, ट्रेनको भाडा नतिर्नेलाई ‘घरको झ्याल फुटाएको’ ठानेर नियन्त्रण गर्न लगाए । नभन्दै न्युयोर्कको अपराध दर घट्यो । केलिङ अन्य अमेरिकी सहरहरूमा पनि अपराध–नियन्त्रण परामर्शदाताको रूपमा नियुक्त भए । तर उक्त सिद्घान्तमा थप अनुसन्धान हुँदा पछिल्ला अध्ययनहरूले अपराध नियन्त्रणमा न्युयोर्कमा अपनाइएको ‘फुटेको झ्याल टाल्ने मोडल’ गलत भएको भन्दै उक्त सैद्घान्तिक मान्यतालाई खारेज गरिदिएका छन् ।

फोहोर सामाजिक मान्यता बनेपछि

अपराध नियन्त्रणमा एउटा फुटेको झ्याल मर्मत नगर्दा अन्य झ्याल फुट्छन् भन्ने मान्यता कामयावी नभए तापनि सहरी क्षेत्रमा गरिएका फोहोर सम्बन्धी अनुसन्धानहरूले देखाएका छन्- जथाभावी फालिएको थोरै फोहोरले, थप फोहोर निम्त्याउँछ र अन्ततः त्यसले सहरलाई नै फोहोरी बनाउँछ । जर्मनीको एक विश्वविद्यालयमा अध्येताहरूले विश्वविद्यालय हातामा राखिएका बेन्चहरूमध्ये केहीमा चुरोटका ठुटाहरू छरे, केहीलाई सफा राखे र मानिसहरूको गतिविधि नियाले । नतिजा चुरोट छरिएका बेन्चमा नयाँ चुरोटका ठुटाहरू फालिने क्रम सफा बेन्चमा भन्दा बढी पाइयो । अन्य अनुसन्धानहरूले पनि थोरै फोहोरले थप फोहोर निम्त्याउने र सफाइले थप सफाइ ल्याउने देखाएका छन् । नेपालको भरतपुर र बंगलादेशको सिलेट सहरमा मणि नेपाल र विशाल भारद्वाजले गरेको अनुसन्धानले पनि सहरी क्षेत्रहरूमा बटुवाहरूलाई फोहोर फ्याक्न सहज हुने गरी स–साना टोकरी राख्दा फोहोर व्यवस्थापनमा सहयोग पुगेको देखाएको थियो ।

सफा सहरमा सफाइ सामाजिक मान्यता बन्छ भने फोहोर सहरमा फोहोर । मानिसले अवलम्बन गर्ने आनीबानी सम्बन्धित ठाउँमा विद्यमान सामाजिक मान्यताअनुरूप हुने गर्छ । सफा सहरले यहाँ जथाभावी फोहोर फाल्न हुँदैन भन्ने संकेत मानिसहरूलाई दिइरहेको हुन्छ, जसले गर्दा मानिसले त्यहाँ हत्पती फोहोर फाल्ने आँट गर्दैनन् । तर गल्ली–गल्लीमा फोहोर थुप्रने सहरले मानिसहरूलाई यहाँ यसरी नै फोहोर विसर्जन गर्ने हो भन्ने सन्देश प्रसारित गर्छ, जसले फोहोर त्यसरी फाल्न सबैलाई अप्रत्यक्ष उत्प्रेरणा दिन्छ र त्यो त्यहाँको सामाजिक मान्यता बन्छ । सम्भवतः उपत्यका लगायतका नेपालका सहरका चोक–गल्लीमा एकपल्ट थुप्रिएका थोरै फोहोरका पोकाहरू बिस्तारै सानातिना पहाडहरूमै परिणत हुनुमा यही मनोवैज्ञानिक संकेत (क्लु) ले काम गरेको हुनु पर्छ ।

सामाजिक मान्यता बदल्ने गुप्त उपाय

मानिसको आनीबानी हत्पती फेरिँदैन । आनीबानी भनेको सोचविचार र मनन नगरीकनै स्वचालित हिसाबले तत्कालै गरिने अविवेकी मानवीय क्रियाकलापहरूको गठजोड हो । मानिसको मस्तिष्कको तौल शरीरको तौलको तुलनामा करिब ४० गुणा कम अर्थात् लगभग १३०० ग्राम हुन्छ तर मस्तिष्कले शरीरले ग्रहण गरेको कुल ऊर्जाको २० प्रतिशत एक्लैले खपत गर्छ । त्यसकारण मानिसको मस्तिष्कले हरेक कुरा सोचेर, विचार गरेर गर्दा शरीरको ऊर्जा बढी खपत हुने भएकाले तारन्तार गरिइरहने कामहरूलाई स्वचालित बनाउँछ । त्यसो गर्दा शरीरको ऊर्जा जोगिन्छ । बिहान दाँत माझ्ने, पटकपटक फोन हेर्ने, सञ्जाल चहार्नेजस्ता कामहरू मानिसले त्यसका फाइदा–बेफाइदाको विश्लेषण नगरी, नघोत्लिई स्वचालित रूपमा गर्ने क्रियाकलाप हुन् । त्यसकारण जथाभावी फोहोर फाल्नेजस्ता अविवेकी मानवीय आनीबानीमा फेरबदल ल्याउन आनीबानी निर्माणको चरित्र र चालक बुझ्न जरुरी हुन्छ ।

फोहोर मानिसको आवश्यकता र चाहनाले निर्मित वस्तु हो । फोहोरको उत्पादन, उपभोग र विर्सजन मानवीय निर्णयहरूका परिणाम हुन् । जस्तै ः जथाभावी फोहोर फाल्ने, स्रोतमै कम फोहोर उत्पादन हुनेगरी प्लास्टिकको झोलाको प्रयोग गर्ने/नगर्ने, फोहोरलाई कुहिने र नकुहिनेमा छुट्याउने वा घरमै कम्पोस्टिङ गर्ने काम सबै मानवीय निर्णयका उपजहरू हुन् । यस्ता मानवीय निर्णयहरू स्वचालित रूपमा अञ्जानमै भएका हुन्छन् जसलाई हामीले आनीबानी भन्छौं । मानिसले जथाभावी फोहोर फाल्नुअघि म के गरिरहेको छु वा यस्तो काम गर्न हुन्न है भनेर विवेकसंगत सोच्ने भए, त्यसरी फोहोर फाल्ने कर्म नै गर्दैन । किनभने सफा ठाउँ सबैलाई मन पर्छ । त्यसैले मानिसको फोहोर व्यवस्थापन सम्बन्धी अविवेकी निर्णयलाई सुधार्न त्यसलाई असर पार्ने वरपरका प्रत्यक्ष वा अप्रत्यक्ष संकेतहरू बदल्न जरुरी छ, ताकि तोकिएको ठाउँमा फोहोर फाल्ने, फोहोरको वर्गीकरण गर्ने काम नयाँ सामाजिक मान्यताका रूपमा फेरियोस् ।

वरपरको वातावरणमा सानो फेरबदल गरिदिँदा कतिपय मानवीय आनीबानी फेरिएर चाहेको नतिजा प्राप्त गर्न सकिन्छ । उदाहरणका लागि बुफेमा सानो साइजको प्लेट राख्दा खाना फालिने परिमाण उल्लेख्य घट्छ । फोहोरसँग सम्बन्धित मानवीय आनीबानीका पछाडि त्यसलाई प्रत्यक्ष वा परोक्ष रूपमा उक्साउने वा उत्प्रेरित गर्ने तत्त्व विद्यमान हुन्छन् । जस्तै ः केही दशक पहिलेसम्म मानिसले प्लास्टिकका झोला प्रयोग गर्दैनथे । अहिले त्यो अपरिहार्यजस्तै छ । त्यसको पछाडि बजारमा प्लास्टिकको झोलाको प्रचुरताले काम गरेको छ । अहिले ग्राहकले सामान खरिदसँगै प्रयोग गरेको केही मिनेटमै फोहोरमा रूपान्तरण हुने प्लास्टिक झोला सित्तैमा, तत्कालै र सजिलोसँगै पाउँछ । त्यसो भएपछि उसले घरबाट झोला बोक्ने झन्झट किन गरोस् !

पसले र ग्राहकबीचमा हुने झोलाको त्यो स्वचालित अविवेकी विनिमयमा ग्राहकलाई विवेकी निर्णय गर्न सघाउने केही संकेत मात्रै फेरिदिने हो भने प्लास्टिकको झोलाको प्रयोग उल्लेख्य घट्ने अध्ययनहरूले देखाएका छन् । प्लास्टिकको झोला प्रयोगको निर्णयलाई विवेकसम्मत बनाउने त्यस्ता संकेतहरू झोलालाई पैसा लाग्ने बनाउने र झोलाको हानिकारक पक्षबारे ग्राहकलाई जानकारी दिने हुन सक्छन् । बेलायत र अस्ट्रेलियाका डिपार्टमेन्टल स्टोरहरूमा नेपालमा जस्तै सित्तैमा पाइने प्लास्टिकका झोलाहरूमा ५–१० पैसा (त्यहाँको मुद्राको) मूल्य राखेर, ग्राहकलाई प्लास्टिकको झोलाको पैसा पर्छ भनेर सम्झाउँदा प्लास्टिकका झोलाको प्रयोग करिब ८० प्रतिशतले घटेको थियो । सित्तैमा दिँदा पनि पसलले ग्राहकलाई घर लगेपछि फोहोरमा परिणत हुने र कुहिन सयौं वर्ष लाग्ने यो प्लास्टिकको झोला लग्नुहुन्छ र ? भन्ने हो भने त्यसले उपभोक्ताको चेतनालाई झंक्रित गराउँछ र प्लास्टिकको झोला प्रयोग गरेकामा आफैंलाई दोषी ठान्ने मानसिकताको विकास गर्न मद्दत पुग्छ । यसले प्लास्टिकको झोलाको प्रयोगमा कमी ल्याउन भूमिका खेल्न सक्छ । पछिल्लो समय हाम्रो फोहोरमा प्लास्टिकका बोतल अत्यधिक हुन्छ । प्लास्टिकका बोतलको प्रयोगको अर्थ हाम्रो धारामा पिउनयोग्य पानी आउँदैन भन्ने हो । मानिसको धेरै जमघट हुने ठाउँहरूमा पिउनयोग्य पानी भर्न मिल्ने स्टेसन राख्ने हो भने बोतल पानीको प्रयोग घटाउन सकिन्छ ।

बहुआयामिक समस्या तर एकांकी समाधान

काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट स्रोतमै छुट्याएको फोहोर मात्रै संकलन गर्ने नियम लागू गर्दै त्यसो नगर्नेलाई जरिवाना गर्ने जनाएको छ । अहिलेसम्म वर्षौंदेखि एकमुस्ट फोहोर फाल्ने बानी लागेका राजधानीवासीलाई फोहोर नछुट्याएमा जरिवाना लगाउने उपाय महानगरले अपनाउनुअघि केही समय प्रत्येक घरको फोहोर अडिटिङ गर्ने विधि उपयुक्त हुन सक्छ । त्यो भनेको केही समय स्रोतमै फोहोर नछुट्याउने घरलाई उनीहरूको व्यवहारको जानकारी दिँदै फोहोर नछुट्याएकामा पछुताउने अवस्थाको सिर्जना गरिदिनु हो, जसले स्रोतमै फोहोर छुट्याउने विवेकी आनीबानी निर्माणमा सहयोग पुर्‍याउँछ । बिजुलीको बिलमा अघिल्ला महिनाहरूमा उठेको रकम पनि संलग्न गरेर पठाउँदा ग्राहकले बिजुली खपत घटाउने अध्ययनहरूले देखाएका छन् । जरिवानाजस्ता दण्ड–सजायको उपाय नियमक निकायसँग हुने अन्तिम अस्त्र हो । अधिकांश काठमाडौंवासीले उक्त नियम उल्लंघन गरे भने त्यसपछि के गर्ने ? महानगरसँग त्यो बेला विकल्प रहँदैन । त्यसकारण केही समय दण्डसजायभन्दा मानवीय आनीबानी फेर्ने उपायहरूको अवलम्बन गर्नु उपयुक्त हुन्छ ।

उपत्यकाको फोहोरको ५० औं वर्षदेखि नसुल्झिएको, बहुआयामिक र जटिल समस्या हो । यसलाई केही दिनभित्रै केही नियम बनाएर समाधान गर्छु भन्नु मुर्ख्याइँसिवाय केही होइन । हाल यसको समाधानमा मुख्यतः दुई उपायहरू कानुनी र प्राविधिक मात्रै अपनाइएको देखिन्छ । कानुनी उपायमा फोहोर सम्बन्धी कानुन नमान्नेलाई कारबाही गर्ने कुरा छन् भने प्राविधिक उपायमा फोहोर संकलन, ढुवानी र डम्पिङ साइटमा लगेर विसर्जन गर्ने कुरा पर्छन् । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा वार्षिक करोडौं खर्च गर्छ, साथै यहाँका बासिन्दाबाट अर्बौं उठाउँछ । तर पनि फोहोरको समस्या जस्ताको तस्तै हुनुमा बहुआयामिक जटिल समस्याको एकांकी हल खोज्नु मूल कारण हो ।

अन्त्यमा, नेपालमा फोहोर व्यवस्थापनको नियमन र प्राविधिक पक्षमा धेरै खर्च गर्ने, छलफल र बहस गर्ने गरिए तापनि यसको मनोवैज्ञानिक पाटाहरूबारे निकै कम अध्ययन र बहस हुने गरेका छन् । फोहोर व्यवस्थापनमा नियमनकारी र प्राविधिक समाधानसँगै मानव मनोविज्ञानका ससाना पक्षहरू मिसाउने हो भने त्यसले फोहोरको उत्पादन, उपयोग र विसर्जनमा हुने मानिसको अविवेकी निर्णयलाई सच्च्याई फोहोर व्यवस्थापनलाई सहज र प्रभावकारी तुल्याउन सक्छ ।

प्रकाशित : असार १६, २०७९ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×