कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पुलिस र एपीएफको लगातार दोस्रो जित, न्यू डायमण्डको दोस्रो हार

काठमाडौँ — विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बुधबार पनि वाग्मती प्रदेश न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा जित निकालेका छन् ।

कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले परोपकार महिला होस्टेललाई सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

निकै कमजोर देखिएको परोपकार नेपाल पुलिस क्लबसँग २५–६, २५–६, २५–११ को सोझो सेटमा पराजित भएको हो । लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपाल पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ ।

दोस्रो खेलमा पनि पराजित भएको परोपकार अंकविहीन छ । यसअघि मंगलबार भएको खेलमा पुलिस न्यू डायमण्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो । यस्तै परोपकार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा हारेको थियो ।

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को खेलमा अर्को विभागीय टोली एपीएफले आयोजक न्यू डायमण्ड एकेडेमीलाई पनि सोझो सेटमा स्तब्ध बनायो ।

पहिलो सेटबाट नै हाबी भएर खेलेको एपीएफले न्यू डायमण्डलाई २५–१२, २५–२०, २५–१४ को सेटमा हराएको हो । यस जितसँगै एपीएफले पनि दुई खेलबाट तालिकामा स्पष्ट अंक जोड्न सफल भएको हो ।

एपीएफको पनि तालिकामा ६ अंक भएको छ । राउण्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछ । दिनको पहिलो खेल परोपकार गर्ल्स होस्टल र आयोजक न्यू डायमण्ड एकेडेमी तथा दोस्रो खेल नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : असार १५, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?