१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

राधेमाईले जित्यो नेक्सस कप

काठमाडौँ — वीरगन्जको अपन राधेमाई युथ क्लबले यू–१६ पाँचौं नेक्सस कप टी–२० क्रिकेटको उपाधि जितेको छ । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हरायो ।

राधेमाईले जित्यो नेक्सस कप

मूलपानी क्रिकेट मैदानमा राधेमाईले २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो । सगिर मियाले २१ र सफवान अलीले १९ रन जोडे । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए । जवाफमा नेक्ससले ११.४ ओभरमा ४३ रन जोड्दै सबै विकेट गुमायो । सन्दीप विष्टले ३० रन जोडे । म्यान अफ द म्याच राधेमाईका अनिश साह कानुले ५ रन खर्चेर ५ विकेट लिए ।

राधेमाईले १ लाख र नेक्ससले ७५ हजार रुपैयाँ पुरस्कार पाए । मोफसलको टोलीले उपाधि जितेको तेस्रो पटक हो । पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोस्रो वीरगन्जको युनाइटेड क्लबले जितेका थिए । तेस्रोमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) ललितपुर विजेता भएको थियो ।

राधेमाईका अनिश म्यान अफ द सिरिजका साथै उत्कृष्ट बलर भए । उनले एक ह्याट्रिकसहित १४ विकेट लिएका थिए । प्रतियोगिताभर ११५ रन जोडेका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट ब्याटर चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) का कमल शाहीले जिते ।

विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले पुरस्कृत गरे ।

प्रकाशित : असार १४, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?