२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उस्तै छन् उमेश

उमेश प्रधान र मणि शाह ८० र ९० को दशकमा नेपाली राष्ट्रिय फुटबल टोलीमा मध्यपंक्तिका धरोहर थिए । नेपाली टोलीको रुपरेखा उनीहरुले नै तयार पार्थे ।
विनोद पाण्डे

डालास, अमेरिका — डालासको ह्यास्लेटस्थित ग्लेनब्रुकमा आफ्नो आलिसान घरको डाइनिङ हलमा झुन्डिएको एउटा श्यामश्वेत तस्बिरमा उमेश प्रधान निकै जोसिला देखिन्छन् । यो तस्बिर सन् १९८९–९० तिर एन्फा कप खेल्दाको हुनुपर्ने ठम्याइ छ प्रधानको । जहाँ उनी एक रुसी क्लबको तीन खेलाडीबाट घेरिएका छन् ।

उस्तै छन् उमेश

दशरथ रंगशालामा लिइएको उक्त तस्बिरले उनी र नेपाली फुटबलको अतीत ब्युँत्याउँछ, विशेषतः ८० र ९० को दशक । प्रधान र मणि शाह नेपाली राष्ट्रिय टोलीमा मध्यपंक्तिका धरोहर थिए । नेपाली टोलीको रूपरेखा उनीहरूले नै तयार पार्थे । प्रधान राम्रो ड्रिब्लिङ गर्नुका साथै बल फिड गर्थे । तस्बिरमा देखिएजस्तै प्रधानको नियन्त्रणमा रहेको बल खोस्नु वा उनलाई बल नदिनु हरेक विपक्षीको लक्ष्य हुन्थ्यो ।

प्रधान, शाहसहित राजेश मानन्धर, दीपक अमात्य, राजुकाजी शाक्य, राजेश थापासहितका खेलाडीका कारण तीन दशकअघिको नेपाली टोली निकै ग्ल्यामर्स थियो । विशेष त लामो कपालका कारण । सन् १९८६ को विश्वकपमा कोलम्बियाका गोलरक्षक रेने हिगुताको लामो कपालको फेसनको प्रभाव प्रधानसहितका सबै खेलाडीमा परेको थियो । फेसनका लागि नेपाली टोलीका अधिकांश खेलाडी हिगुताका अनुयायी थिए ।

सन् १९८४ मा नेपालले पहिलोपल्ट आयोजना गरेको दक्षिण एसियाली खेलकुदलाई १६ वर्षे प्रधानले अविस्मरणीय बनाए । नेपालले स्वर्ण जित्दा उनी हरेक खेलमा मैदानमा उत्रिए । नेपालको पहिलो अन्तर्राष्ट्रिय यात्रामा राम्रो छाप छोडेपछि प्रधान नेपाली फुटबलमा लामो दौडको घोडा बने । १९९३ मा नेपालले दोस्रोपल्ट दक्षिण एसियाली खेलकुदमा फुटबलमा स्वर्ण जित्यो । बंगलादेशको ढाकामा नेपालले फाइनलमा भारतमाथि पेनाल्टी सुटआउटमा जित हात पार्‍यो । निर्धारित समयमा नेपालबाट दुईमध्ये एक गोल प्रधानले नै गरेका थिए । प्रधान र राजुकाजी नेपाली फुटबलको एउटा ब्रान्ड बने, जसले दक्षिण एसियाली खेलकुदमा दुई पटक स्वर्ण जितेको थियो । सन् २०१६ सम्म फुटबलबाट दुई स्वर्ण जित्ने प्रधान र शाक्यमात्र थिए । अहिले फुटबलको यो सूचीमा धेरै नाम थपिएको छ ।

खेलाडीपछि प्रधान प्रशिक्षणतिर लागे । उनकै प्रशिक्षणमा नेपाली महिला टोलीले सन् १९९९ मा फिलिपिन्समा एसियन कप छनोट खेलेको थियो । ‘१० वर्षसम्म महिलाको कुनै प्रतियोगिता नभएकाले नेपाली महिला फुटबललाई माथि ल्याउन निकै गाह्रो थियो । पछि महिला लिग सुरु भयो, यसले नेपालको महिला टोलीलाई राम्रो बनायो,’ प्रधान सम्झन्छन्, ‘अहिलेको नेपाली महिला टोली राम्रो भएको छ । तर हामी साफ च्याम्पियनसिपमा ३–४ पटक नै फाइनल पुगिसकेको अवस्थामा एक पटक जितका लागि राम्रो तयारीसाथ प्रयास हुनुपर्थ्यो ।’

सन् १९९९ मै उनले र राजुकाजीले इंग्ल्यान्ड आएर यूईएफए ‘बी’ लाइसेन्स कोर्स गरेका थिए, जसको मान्यता ‘ए’ लाइसेन्सबराबर थियो । दुवैले यो कोर्स उत्तीर्ण गरेका थिए । प्रधानका अनुसार यो निकै उच्च श्रेणीको कोर्स हो । उनी यसै कोर्सको सहायतामा अमेरिका आइपुगे । गत वर्ष नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजना भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसीको ‘ए’ लाइसेन्स गर्नेले मात्र एनएसएलको फ्रेन्चाइज टोलीलाई प्रशिक्षक राख्नुपर्ने प्रावधान राख्यो । एन्फा आफैंले इंग्ल्यान्ड पठाएर यूईएफए कोर्स गरेका राजुकाजीलाई एनएसएलमा प्रशिक्षण गर्न रोक्यो ।

नेपाल एयरलाइन्सको जागिर छाडेर अमेरिका आएका प्रधान अहिले व्यवसाय गर्छन् । तर, फुटबल प्रशिक्षणमै फर्किने दाउमा छन् उनी । नेपालबाट आएपछि उनले एफडब्लू एफसीमा चार वर्ष प्रशिक्षण गरेका थिए । यो सेलेक्ट क्लब हो । सेलेक्ट भएर आएका खेलाडीलाई यसबाट खेलाइन्थ्यो । तर व्यापारमा अलि राम्रो भविष्य देखेर उनी त्यतैतिर लागे । उनको घरको ब्याकयार्ड फुटबल मैदान जस्तै छ । उनी त्यहाॅ छोराहरूसँग फुटबल खेलेर आफ्नो तृष्णा मेटाउॅॅछन् र आफूलाई फिट राख्छन् । फिटनेसको हिसाबमा झट्ट हेर्दा उनी ८० र ९० दशककै नेपाली मिडफिल्डर उमेश प्रधान नै जस्तो देखिन्छन् ।

डालासमा नेपाली फुटबलको ठूलै जमात छ । नेपाली समाजमा यहाँ प्रत्येक साता सानोतिनो प्रतियोगिता भइरहन्छ । झन्डै २५ वर्षअघि स्थापित एन्फा एकेडेमीका सुरुआती दिनका प्रशिक्षक हुन् प्रधान । एन्फा एकेडेमीको पहिलो पुस्तालाई स्वर्णिम नै मानिन्छ । त्यसमध्ये प्रशान्त गिरी, प्रलय राजभण्डारी, प्रवीण मानन्धरसहित संगीत रजक डालासमै छन् । आफैंले सिकाएका खेलाडीसँगै विगत सम्झिएर रोमाञ्चित हुन्छन् उनी । नेपालमै हुँदा एक पटक उनले किशोर केसी र सुनील श्रेष्ठसँग मिलेर जावलाखेलमा एकेडेमी खोल्ने गृहकार्य गरेका थिए, जुन सफल भएन ।

नेपाली फुटबलको सबैजसो गतिविधिको खबर लिएर बसेका हुन्छन् प्रधान । एन्फा निर्वाचनको पूर्वसन्ध्यामा भेट्दा उनी उम्मेदवारमध्ये यी यी व्यक्तिले जितेमा नेपाली फुटबल उकास्न सक्लान् कि भनेर आकलन गरिरहेका थिए ।

२०५७ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको थियो । काठमाडौं क्लबका अध्यक्ष सञ्जीव मिश्र एउटा खबर लिएर दशरथ रंगशालाको खुला मिडिया बक्समा आएका थिए । काठमाडौं क्लबले लिगको कुनै एक खेल जितेकामा उमेश प्रधानले अमेरिकाबाट फोन गरेका रहेछन् । त्यही खबर मिश्रले खेलकुद पत्रकारलाई सुनाएका थिए । त्यतिबेला नेपालमा इन्टरनेट प्रभावकारी थिएन । इन्टरनेटमा भिज्न केही समय लिएका हामी केही खेलकुद पत्रकारलाई प्रधानले फोन, मेलबाहेक लिग फुटबलका गतिविधि कसरी थाहा पाए भन्ने खुबै चासोको विषय बनेको थियो ।

सन् १९९५ को सार्क ब्रिस्टल गोल्डकप (साफ च्याम्पियनसिप) नेपालले सम्झिनुपर्ने दुई विशेष कारण छन् । पहिलो, नेपालबाट कीर्तिमानी गोल स्कोरर हरि खड्काको ‘डेब्यु’ प्रतियोगिता थियो । जहाँ उनी पाकिस्तानविरुद्ध आफ्नो पहिलो खेलमै गोल गर्न सफल थिए । दोस्रो, उमेश प्रधान यही प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा एएफसीबाट महिनाको उत्कृष्ट खेलाडी मनोनयनमा परेका थिए । नेपाली खेलाडी पहिलो पटक यसरी मनोनयनमा परेको थियो । सार्क ब्रिस्टल गोल्डकप सकिएपछि श्रीलंकामा एएफसीको मनोनयनमा परेको उनलाई जानकारी गराइएको रहेछ । सोही कारण उनीसँग कोलम्बोमा लिएको अन्तर्वार्तापछि एएफसीको म्यागेजिनमा छापिएको थियो ।

दुई वर्षपछि काठमाडौंमा साफ च्याम्पियनसिपको अर्को संस्करण भयो । आयोजना पक्ष छाड्ने हो भने नेपालका लागि प्रदर्शनका हिसाबले सम्झनलायक केही रहेन । प्रधानले भने यसलाई जिन्दगीभर बिर्सन सक्ने अवस्था पनि भएन । पहिलो खेलमै पाकिस्तानसँग २–० को हारले स्तब्ध बनेको दाबेदार नेपालविरुद्ध अर्को खेलमा श्रीलंकाका रोशन पेरेराले ह्याट्रिक गोल नै ठोके । परिणाम नेपाल समूह चरणबाटै बाहिरियो । राजुकाजी शाक्यले जिन्दगीको अन्तिम खेल बेन्चमा बिताउनुपरेको थियो । उमेश प्रधानसहितका ग्ल्यामर्स ब्याच सोही नतिजाका कारण संन्यासको घोषणा गर्न नपाई फुटबल जीवन टुंग्याउनुपर्‍यो ।

घरेलु मैदानको दबाब नेपाली टोलीमाथि रहेको प्रधान सम्झन्छन् । ‘अर्को दबाब हामीलाई एन्फाका पदाधिकारीहरूबाट थियो । जसरी भए पनि जित्नैपर्छ भनेर भनिएको थियो । यही दबाबले हामीले खेल्नै सकेनौं,’ २५ वर्षअघि नेपालले आयोजना गरेको साफ च्याम्पियनसिप सम्झिॅदै थिए प्रधान, ‘हारको पीडा धेरै नै थियो, धेरै पछिसम्म रह्यो । अहिले पनि त्यो हारको पीडा छ । अलिक पहिल्यै नै खेल्न छाडेको भए यस्तो दुर्भाग्य दिन देख्नुपर्दैन थियो जस्तो पनि लाग्यो । तर सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फाइनलमा बंगलादेशसँग हार्दा नेपाली टोलीमा अनुभवी खेलाडीको कमी देखियो । १–२ जना अनुभवी खेलाडी भएको भए स्वर्ण पदक जितिन्थ्यो जस्तो लागेको थियो ।’

अनुभवको ठूलो प्रभाव देखे उनले । सन् १९९७ मा दुई खेलमा खराब नतिजाका आधारमा उनले झन्डै दुई दशकको यात्रा टुंग्याउनुपरेको थियो । जबकि त्यही वर्ष प्रधान एन्फाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी भएका थिए । उनका अनुसार एन्फा जबरजस्ती केही खेलाडीको बिदाइमा लागेको थियो । केही महिनापछि नै उनले आधिकारिक बिदाइ पनि भन्न नपाई राष्ट्रिय टोलीसँगको यात्रा टुंग्याउन पुगे । त्यसपछि उनी कहिल्यै चुल्ठो कपालमा पनि देखिएनन् ।

प्रकाशित : असार १३, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?