कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेट संघको कामबाट आईसीसी सन्तुष्ट

काठमाडौँ — लामो समय विरोध र विवादको सामना गरेको नेपाली क्रिकेटले शनिबार अन्ततः खुसीको खबर सुन्न पाएको छ । खबर हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) को कामबाट सन्तुष्ट छ ।

क्रिकेट संघको कामबाट आईसीसी सन्तुष्ट

नतिजा अब क्यानले अब स्वतन्त्रपूर्वक खर्च गर्न पाउने छ । यसको अर्थ के पनि हो भने नेपाली क्रिकेटमाथि आईसीसीले लगाउँदै आएको निलम्बनको लगभग अन्तिम तगारो पनि फुकुवा भएको छ ।

आईसीसीले क्यानमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएपछि स्वतन्त्र रूपमा खर्च गर्न पाउने भएको हो । आईसीसीका प्रतिनिधि नेपाली मिडियालाई यही समाचार सुनाउन शनिबार अन्तरक्रियामा सहभागी भए । कार्यक्रममा आईसीसीका डेभलपमेन्ट चेयरम्यान इमरान ख्वाजाले भने, ‘अब आईसीसी फन्डमा नियन्त्रण हुने छैन । क्यानले स्वतन्त्रपूर्वक खर्च गर्न पाउँछ । त्यसका लागि क्यानले विश्वासिलो वातावरण भने बनाउनुपर्छ ।’ त्यसको संकेत हो, क्यानमाथि आईसीसीको सूक्ष्म नजर भने हट्ने छैन ।

ख्वाजाले नेपालमाथि रहेको निलम्बन हटाउन विभिन्न चरणमा काम भएको र ‘कन्ट्रोल फन्डिङ’ हटाउनु अन्तिम चरणको काम भएको सुनाए । कार्यक्रममा आईसीसीका डेभलेपमेन्ट जनरल म्यानेजर विलियम्स ग्लेनराइटले क्यानको कामबाट आफूहरू सन्तुष्ट रहेको दोहोर्‍याए । उनले नेपालमा क्रिकेटको सम्भावना प्रचुर रहेको बताउँदै आफ्नो क्षमताअनुसार अगाडि बढ्ने हो भने नेपाल माथिल्लो दर्जाको एसोसिएट राष्ट्र हुने पनि बताए ।

त्यसको जवाफमा क्यानका अध्यक्ष चतुरबहानुर चन्दले ‘कन्ट्रोल फन्डिङ’ हटाउन आईसीसी प्रतिनिधिले खेलेको भूमिकाप्रति प्रशंसा गरे । उनले नयाँ घटनाक्रमबाट सन्तुष्टि मिलेको सुनाए । उनले भने, ‘आईसीसीले निलम्बन फुकुवा गरेपछि खर्चमाथि पनि नियन्त्रण गरिरहेको थियो । त्यसक्रममा हामीले आईसीसीका सर्तहरू पालना गर्‍यौं । एसोसिएट टिमका रूपमा नेपालले पालना गर्नुपर्ने सबै काम गरेपछि कन्ट्रोल फन्डिङ हटेको हो ।’उनले थपे, ‘यसबाट नेपाली क्रिकेटमा विकासका लागि थप उर्जा प्राप्त भएको छ । अब क्यानले आफैं स्वतन्त्र भएर काम गर्न सक्ने स्थिति आएको छ ।’

क्यानका महासचिव प्रशान्तविक्रम मल्ल पनि नयाँ घटनाक्रमप्रति उत्साही देखिए । उनको भनाइ थियो, ‘पहिला बिल भर्पाई बनाएर पठाएपछि मात्र आईसीसीबाट पैसा आउने गर्थ्यो, अब हामीले स्वतन्त्रपूर्वक खर्च गर्न पाउने भएका छौं । कन्ट्रोल फन्डिङ लामो समयदेखि थियो । हामी अडिट प्रतिवेदन पठाउँथ्यौं र त्यसमा सुधार गर्नुपर्ने हुन्थ्यो ।‘हामीले स्पष्ट अडिट प्रतिवेदन पठाएपछि आईसीसीले खर्चमाथि नियन्त्रण फुकुवा गरेको हो,’ उनले भने ।

राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिताको अभाव देखाउँदै सन् २०१६ को अप्रिलमा आईसीसीले नेपालमाथि निलम्बनको निर्णय गरेको थियो । यस अवधिमा नेपाली क्रिकेट टिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको क्रम भने टुटेन । नेपाली क्रिकेटले पछिल्लो समय गरेको कामबाट आईसीसी प्रभावित रहेपछि निलम्बनको स्थिति सुधारतर्फ उन्मुख भएको हो ।

आईसीसी प्रतिनिधिले शनिबार नै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग पनि भेट गरेको थियो । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र क्यान अध्यक्ष चन्दसँगै ख्वाजा, ग्लेनराइट र आईसीसी फाइनान्स एन्ड अपरेसन अफिसर नितिशा कोठारीको पनि उपस्थिति थियो । मन्त्री गहतराजले नेपाल सरकार क्रिकेट विकासमा केन्द्रित रहेको बताए । उनले सरकारले क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउँदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको जानकारी गराए ।

सदस्य–सचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास निर्माणमा सहकार्य गर्नुपर्नेमा आवश्यकता औंल्याए ।

प्रकाशित : असार १२, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?