न्यु डायमन्डलाई महिला भलिबल उपाधि
काठमाडौँ — आयोजक न्यु डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरि न्यु डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकास्थित घरेलु कोर्टमा शनिबार फाइनलमा डायमन्डले परोपकार आदर्श माध्यमिक विद्यालयमाथि २५–१५, २५–१२, २५–२१ को सोझो सेटमा जित निकालेको थियो । डायमन्ड अपराजित रहेर च्याम्पियन बन्यो ।
ज्ञान सुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५–१४, २५–१३, २५–५ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । न्यु डायमन्डले ५० हजार, परोपकारले २५ हजार र तेस्रो भएको ज्ञान सुधाले १५ हजार रुपैयाँ पुरस्कार पाए ।
चौथो भएको ब्राइट होराइजनले १० हजार रुपैयाँ पायो । न्यु डायमन्डकी प्रगति नाथ सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले ३ हजार हात पारिन् । न्यु डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट स्पाइक, डायमन्डकै ननशा महरा ब्लकर, परोपकारकी रोशनी कार्की सेटर, परोपकारकै रुजिता दर्जी सर्भर, न्यु डायमन्डकी एन्जिला प्रधान लिबेरो र डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।
विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, न्यु डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी मालीलगायतले पुरस्कृत गरे ।
प्रकाशित : असार १२, २०७९ ०६:१४