३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टी-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु

ललितपुर — ललितपुरको ग्वार्कोमा शुक्रबारदेखि टी-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकाका ११ टोलीको सहभागिता छ।

टी-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु

प्रतियोगिताको पहिलो दिन शुक्रबार ब्रदर्स ११ ले दोहोरो जित दर्ता गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ब्रदर्स ११ ले ट्वान्टी फर्स्ट रेस्ट्रोलाई ४२ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ रोजेको ब्रदर्स ११ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०२ रन जोडेको थियो। उसका दुर्गेश थापाले सर्वाधीक ४८ रनको योगदान गरेका थिए।

जवाफमा १०३ रनको लक्ष्य लिएर मैदान उत्रिएको ट्वान्टी फर्स्ट रेस्ट्रोले अल आउट हुनु अगाडि ६० रन मात्र जोड्न सक्यो। खेलको प्लेयर अफ दि म्याच ब्रदर्स ११ का दुर्गेश थापा घोषित भए।

यस्तै दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रदर्स ११ ले प्रेसिडेन्सियल बिजनेस स्कुललाई ७ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको प्रेसिडेन्सियल बिजनेस स्कुलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६३ रन जोडेको थियो। ६४ रनको जवाफी लक्ष्य लिएर ब्याटिङ गर्न उत्रिएको ब्रदर्स ११ का लागि खेलको प्लेयर अफ दि म्याच विपिन आचार्यले अविजित २७ रन जोड्दा टोलीले ७ विकेटको जित दर्ता गर्‍यो ।

तेस्रो खेलमा टिम सुबिसुले थेम्स इन्टरनेसनल कलेजमाथि ४७ रनको सहज जित हात पार्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सुबिसुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९३ रन जोडेको थियो। सुबिसुका लागि दिपेश दासले सर्वाधीक ४० रनको योगदान गरे। दोस्रो इनिङमा थेम्स इन्टरनेसनल निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ४६ रन रन मात्र जोड्न सक्दा खेलमा ४७ रनले पराजित भयो। खेलको प्लेयर अफ दि म्याच सुबिसुका दिपेश दास घोषित भए।

शुक्रबारको अन्तिम खेलमा मिक्स्माण्डुले रोएल क्रिकेट क्लबमाथि ८३ रनको एकतर्फी जित हात पार्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोडेको थियो। उक्त टिमका विवेक राना मगरले सर्वाधीक ३९ रन जोडे। जवाफमा मिक्स्माण्डुको धारिलो बलिङको अगाडि रोएल क्रिकेट क्लब सम्हालिन सकेन। रोएललाई केवल २० रनमा समेट्ने क्रममा मिक्स्माण्डुका अविनाश बस्यालले ३ तथा प्रतिश जिसीले २ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच मिक्स्माण्डुका विवेक राना मगर घोषित भए।

ग्वार्कोस्थित बलपार्क स्पोर्ट्स एण्ड इभेण्ट्सको इन्डोर हलमा सुरु भएको प्रतियोगिता यही असार १४ गतेसम्म हुने आयोजक संस्थाका प्रमुख तथा आयोजक टोलीका कप्तान सर्वोच्च बस्नेतले जानकारी दिए । यो प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत र बाहिरी क्रिकेट खेलाडीहरू सहभागी छन् ।

प्रकाशित : असार ११, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?