२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रिन्स र गौरिकालाई एनओसी अवार्ड

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले पहिलोपल्ट प्रदान गरेको एनओसी अवार्ड २०२२ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडी गौरिका सिंह भएका छन् ।

प्रिन्स र गौरिकालाई एनओसी अवार्ड

ओलम्पिक डे (जुन २३) को अवसरमा उक्त अवार्ड कार्यक्रम गरिएको हो । पछिल्लो तीन वर्षमा नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई अवार्ड प्रदान गरिएको थियो । गौरिका हाल बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित भइनन् ।

कोरोना महामारी प्रभावित दुई वर्षसमेत जोडेर यो अवार्ड प्रदान गरिएको हो । अबदेखि प्रत्येक वर्ष नियमित कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा उत्कृष्ट पुरुष प्रशिक्षक गल्फका दीपक मगर र उत्कृष्ट महिला प्रशिक्षक तेक्वान्दोकी संगीना वैद्यलाई अवार्ड प्रदान गरियो । राष्ट्रिय संघतर्फ नेपाल तेक्वान्दो संघ उत्कृष्ट घोषित भयो ।

प्रशिक्षक अवार्डसाथ संगीना वैद्य ।

कार्यक्रममा चार विधामा पत्रकारलाई पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पत्रकार छापातर्फ कान्तिपुर दैनिकका राजु घिसिङ, मल्टीमिडियातर्फ बीबीसी न्युजका निरञ्जन राजवंशी, फोटोतर्फ राजेन्द्र चित्रकार र भिजुअलतर्फ कान्तिपुर टेलिभिजनकी सबिना कार्कीले अवार्ड पाएका थिए । सवैका उत्कृष्टले जनही ५० हजार रुपैयाँ पाए ।

सोही अवसरमा मरणोपरान्त शरदचन्द्र शाह र रुक्मशम्शेर राणालाई ‘एनओसी प्रेसिडेन्टसियल रिकग्नाइजेसन अवार्ड’ प्रदान गरियो । दुवै एनओसीको अध्यक्ष भइसकेका व्यक्तित्व हुन् ।

यही सम्मान पुरुषोत्तम पौडेल, ध्रुवबहादुर प्रधान, विष्णुगोपाल श्रेष्ठ, श्याम चित्रकार, लोकभक्त राणा, जितबहादुर केसी, वैकुण्ठ मानन्धर, सुधासेन मल्ल र सावित्रा भण्डारीलाई पनि प्रदान गरियो ।

ओलम्पिक डेमा कार्यक्रम

ओलम्पिक दिवस (जुन २३) का अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनायो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए ।

ओलम्पियन डे मा मार्चपास गर्दै ओलम्पियन । तस्बिरहरू : केशव थापा/कान्तिपुर

पुराना ओलम्पियनहरूले ओलम्पिक टर्च बोकेर मार्चपास गरेका थिए भने ओलम्पिक डे–२०२२ को स्मारिका पनि विमोचन गरिएको थियो । जुडो, बक्सिङ, फेन्सिङ र करातेका खेलाडीले ‘डेमोस्ट्रेसन’ प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीको पनि प्रस्तुति थियो ।

शाहको स्मृतिमा फोटो प्रदर्शनी

शरदचन्द्र शाहको स्मृतिमा बिहीबारदेखि नक्सालस्थित फाइन आर्ट ग्यालरीमा फोटो प्रदर्शनी सुरु भएको छ । ओलम्पिक डे र उनको जन्मजयन्तीका अवसरमा शरदचन्द्र शाह प्रतिष्ठान र स्पोर्ट्स फर अल कमिसनले संयुक्त रूपमा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष एवं राखेपका सदस्य–सचिव दिवंगत शाहले नेपाली खेलकुदलाई उचाइमा पुर्‍याएकाले तिनै योगदानको सम्झना गर्दै विविध पक्ष समेटेर फोटो प्रदर्शनी गरेको हो । प्रदर्शनी ५ दिन चल्नेछ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले प्रदर्शनीको उद्घाटन गर्दै स्व. शाहले नेपाली खेलकुदमा ऐतिहासिक काम गरेको स्मरण गरे ।

प्रकाशित : असार १०, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?