इंग्ल्यान्डको नजर क्लिन स्विपमा

एएफपी

लन्डन — तेस्रो तथा अन्तिम टेस्टमा बिहीबार न्युजिल्यान्डको सामना गर्दा इंग्ल्यान्डको नजर क्लिन स्विपमा हुनेछ । इंग्लिस कप्तान बेन स्टोक्सले खेल्ने सम्भावना कम रहेको यस खेल जितेमा घरेलु टिम ३–० ले अगाडि रहनेछ । अस्वस्थ अनुभव गरिरहेका स्टोक्स मंगलबार अभ्यासमा सहभागी हुन सकेनन् । इंग्लिस टिमका प्रवक्ताका अनुसार स्टोक्सको कोरोना भाइरस परीक्षण ‘नेगेटिभ’ आएको छ, तर उनलाई टिमबाट टाढा राखिएको छ ।

इंग्ल्यान्डको नजर क्लिन स्विपमा

न्युजिल्यान्ड टिम आफैं भ्रमणका क्रममा समस्यामा परेको थियो । उसका केही खेलाडी परीक्षणमा ‘पोजेटिभ’ पाइएको थियो । यसै कारण न्युजिल्यान्डका कप्तान केन विलियम्सनले दोस्रो टेस्ट गुमाएको थियो । भ्रमणकै क्रममा हेनरी निकोलस, डेभन कनवे, मिखेल ब्रेसवेल र अन्य दुई सहयोगी सदस्य कोरोना भाइरसबाट संक्रमित भएका थिए । यी सबै चार खेलाडी भने लिड्समा हुने टेस्टका लागि उपलब्ध छन् र खेल्न सक्षम रहेका छन् ।

इंग्ल्यान्डले स्टोक्सको अनुपस्थितिमा टिमको नेतृत्व कसले गर्नेछ भनेर भनेको छैन । सम्भवतः उनको अनुपस्थितिमा कप्तानीको भूमिकामा पूर्वकप्तान जो रुट फर्कन सक्नेछन् । तर उनले कप्तानीको बोझले आफ्नो व्यक्तिगत प्रदर्शन खराब भएको भन्दै फेरि नेतृत्व सम्हाल्न अस्विकार गर्दै आएका छन् । उनी एकै टेस्टमा पनि नेतृत्व सम्हाल्ने अनिच्छुक रहेको हुनाले इंग्लिस टिमको नेतृत्व टिमका पुराना खेलाडी जेम्स एन्डरसन वा स्टुवार्ट ब्रोडमा जान सक्नेछ ।

टेस्ट सिरिज यसअघि नै जितिसकेको हुनाले घरेलु टिमले आफ्ना दुई प्रमुख बलरमध्ये एकलाई आराम दिन सक्नेछ । इंग्ल्यान्डले जुलाई १ मा भारतको पनि सामना गर्दै छ र यो गत वर्ष कोभिड–१० संक्रमणले गर्दा पछाडि सारिएको खेल हुनेछ । इंग्ल्यान्डसामु त्यस स्थितिमा कोही नयाँ फास्ट बलरलाई मौका दिने अवसर हुनेछ र यसका लागि जुम्ल्याह दाजुभाइ क्रेग र जेमी ओभरटनमध्ये एकले मौका पाउने सक्नेछ । दुवै दाजुभाइले एकैपल्ट इंग्ल्यान्डका लागि खेलेका छैनन् ।

विश्व टेस्ट च्याम्पियन न्युजिल्यान्डको सामना गर्नु अगाडि इंग्ल्यान्डले १७ खेलमध्ये एकैमा मात्र जित निकालेको थियो । तर, यही न्युजिल्यान्डविरुद्ध उसले लगातार दुई टेस्ट जितेको हुनाले टिम उत्साही छ । इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शनमा जोनी बेरिस्टोले प्रमुख भूमिका खेलेका छन् । उनले ट्रेन्ट ब्रिजमा भएको खेलमा उत्कृष्ट १ सय ३६ रन बनाएका थिए । इंग्ल्यान्डले चौथो इनिङ्समा २ सय ९९ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।

सिरिज गुमाएपछि न्युजिल्यान्ड भने स्वाभाविक रूपमा निराश छ । पाहुना टिमका प्रमुख बलर ट्रेन्ट बोल्टले भनेका छन्, ‘दोस्रो टेस्टको अन्तिम दिन बेरिस्टोले उत्कृष्ट प्रदर्शन गरे । हाम्रो नियन्त्रणमा रहेको खेल इंग्ल्यान्डको पक्षमा मोडे । हामीलाई विश्वास छ, तेस्रो टेस्टमा हामी उनलाई सस्तोमा समेट्न सक्षम हुनेछौं । तेस्रो टेस्टअगाडि दुवै टिम बराबरी स्थितिमा रहेका छन्, त्यसैले खेलअघि हामीले आत्मविश्वास गुमाउनुपर्ने स्थिति छैन ।’

प्रकाशित : असार ९, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?