कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलाडीलाई स-सम्मान फर्काउँछौं : नवनिर्वाचित अध्यक्ष नेम्वाङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएलगत्तै पंकजविक्रम नेम्वाङले पहिलो बैठकबाटै विवादास्पद प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे निर्णय गर्ने बताएका थिए । त्यसैअनुसार बुधबारको बैठकले राष्ट्रिय टिमका प्रशिक्षक र खेलाडीबीच भएको विवादलाई लिएर प्रतिवेदनको सुझावअनुसार अगाडि बढ्ने निर्णय गरेको छ ।

खेलाडीलाई स-सम्मान फर्काउँछौं : नवनिर्वाचित अध्यक्ष नेम्वाङ

‘हामीले खेलाडीहरूलाई स–सम्मान आउने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेका छौं,’ अध्यक्ष नेम्वाङले भने, ‘प्रशिक्षकको विषयमा प्रतिवेदनले जे सिफारिस गर्‍यो त्यसको कार्यान्वयनका निम्ति सचिवालयलाई जिम्मा दिएका छौं । प्रशिक्षकबारे प्रतिवेदनको सुझावअनुसार प्रशिक्षक र कतार एफएसँग सम्पर्क गरेर अगाडि बढ्छ ।’ छानबिन समितिको प्रतिवेदनले एसियन कप २०२३ छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको थियो ।

कतार फुटबल संघको अनुदानमा आएका अल्मुताइरीले एसियन कप छनोटको तयारीमा खेलाडीलाई होटल कि होस्टेल बस्ने भनेर सोधेपछि होटल बस्ने भनेर हात उठाएका रोहित चन्दलाई तत्कालै टिमबाट हटाएका थिए । रोहितले सबै खेलाडीको आवाज बोलेकाले उनलाई अन्याय भएको कुरा उठाएका ९ खेलाडीले पनि अल्मुताइरीले ‘बारम्बार घर जा’ भनेपछि होटलमा राखेर सञ्चालन गरिएको बन्द प्रशिक्षण छाडेका थिए । लगत्तै अल्मुताइरीले उनीहरूलाई टिममा नबोलाउने पत्र एन्फालाई पठाउँदै नयाँ र युवा खेलाडीहरूलाई टिममा बोलाएका थिए । उनले खेलाडीहरू अन्यायमा परेको बताएका नियमित कप्तान किरण चेम्जोङलाई पनि टिममा बोलाएनन् । उनी युवा टिम लिएरै छनोट खेल्न कुवेत सिटी पुगेका थिए ।

छनोटमा अल्मुताइरीको युवा टिमले जोर्डनविरुद्ध २–०, कुवेतविरुद्ध ४–१ र इन्डोनेसियाविरुद्ध ७–० को हार बेहोरेको थियो । एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित भएलगत्तै अल्मुताइरीले सामाजिक सन्जालमा लेख्दै नेपाली टिम छाड्ने संकेत दिएका थिए । तर, त्यो लेखेको केही बेरमै उनले हटाएका थिए । उनले गत वर्षपछि नेम्वाङकै कारण नेपाली टिम छाड्ने घोषणा गरेका थिए । राजीनामा भने दिएनन् । उनी खेलाडीप्रति गरिएको कठोर व्यवहार र समर्थकलाई आकर्षित गर्ने फेसबुक स्टाटसहरूका कारण चर्चामा रहँदै आएका छन् । उनको नेतृत्वमा नेपाल टिम गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो, जुन साफको इतिहासमै नेपालको सबैभन्दा ठूलो उपलब्धि हो ।

महासचिवमा किरण

एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्‍यो ।

नेम्वाङ निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ४५–३९ मतले पराजित गरेर एन्फा अध्यक्षमा निर्वाचित भएसँगै उनीहरू महत्त्वपूर्ण जिम्मेवारीमा फर्किएका हुन् । शेर्पाको चारवर्षे कार्यकालमा उदयपुरका राई एन्फाको केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका थिए । उनी गत वर्ष प्रवक्ताबाट राजीनामा गरेर नेम्वाङ समूहमा खुलेर लागेका थिए । पुल्चोक क्लबका अध्यक्ष जोशी यसअघि पनि कोषाध्यक्ष थिए । कोषाध्यक्षको अघिल्लो कार्यकालमै प्रश्न उठेको भन्दै उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले फरक मत राखेका थिए ।

चार वर्षअघि शेर्पा अध्यक्ष चुनिएपछि अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र अध्यक्षको प्रमुख सल्लाहकार नियुक्त भएका पाँडेले भने त्यसको आठ महिनापछि नै पदबाट राजीनामा दिएका थिए । चार वर्षअघि शेर्पा र यसपालि नेम्वाङलाई नेपाली फुटबलको नेतृत्वमा पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, बैठकले न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशीलाई जुलाई २ मा ढाकामा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) को निर्वाचनमा उपाध्यक्षमा प्रस्ताव गर्ने निर्णय पनि गर्‍यो ।

प्रकाशित : असार ९, २०७९ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?