राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबल सुरु- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबल सुरु

पाटन र रत्नराज्य क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित गर्‍यो । जितसँगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले अस्कल पनि उपविजेतका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो ।

रत्नराज्य दोहोरो जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो । रत्नराज्यले जय बहुमुखी क्याम्पसलाई २५–८ र २७–२५ तथा सरस्वतीलाई २५–२२ र २५–१९ को सोझो सेटमा हरायो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा त्रिचन्द्र पनि दुई जित आत्मासात गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । त्रिचन्द्रले महेन्द्र रत्नलाई २५–१८ र २५–२० तथा भक्तपुरलाई २५–२२ र २५–२२ को सीधा सेटमा पाखा लगायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भइरहेको प्रतियोगितामा बानेश्वर क्याम्पसले मिश्रित नतिजा निकाल्यो । शंकरदेव क्याम्पसलाई २७–२५, २२–२५ र २५–१८ ले पराजित गरेको बानेश्वर नेपाल कर्मससँग २५–१५ र २५–१६ ले चुक्यो ।

प्रतियोगिताको राखेपका सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो ।

७१ औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ११ टिम सहभागी छन् । राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबल बाहेक क्रिकेटको ट्यालेन्ट हन्टसहित प्रतियोगिता, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोको प्रतिस्पर्धा हुने छ । प्रशिक्षण तथा तालिम पनि हुने छ ।

प्रकाशित : असार ८, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडका लागि छनोट खेल बुधबार सुरु भएको छ । काठमाडौंको होटेल केसु होममा जारी छनोटमा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन् ।

पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइँ र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसैगरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।

छनोट खेलको वाग्मती प्रदेशका खानेपानी, उर्चा तथा सिचाईं मन्त्री वसन्त मानन्धरले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय सल्लाहकार सुवोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रविण भडेँलको उपस्थिति थियो ।

फिडे मास्टर क्षितिज भण्डारीले प्रकाश नेपाललाई हराए । अर्को खेलमा सुरवीर लामाले सजिन मर्हजनसँगको खेलमा जित हात पारे ।

मनिष हमालले कृष्ण थापा तथा मिलन लामाले शुशील चौधरीलाई हराए । महिलातर्फको खेलमा कृत्तीसरा अधिकारीले खुस्बु थापा, शान्ती धिमालले आभा पुडासैनी तथा अनिषा न्यौपानले पूर्णीमा गुरुङलाई हराए । यसैगरी बिनिता पालीले पुनम प्रसाइसँगको खेलमा जित हात पारिन् । सिन्दिरा जोशीले सन्तोषी विकबाट वाकओभर पाएकी थिइन् ।

प्रकाशित : असार ८, २०७९ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×