मकवानपुर जिल्ला भलिबल संघमा सिटौला- खेलकुद - कान्तिपुर समाचार

मकवानपुर जिल्ला भलिबल संघमा सिटौला

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्तकुमार सिटौला सर्वसम्मत चयन भएका छन् । 

हेटौंडामा बुधबार भएको संघको पाँचौ अधिवेशनबाट सिटौलाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा इन्द्र सञ्जेल र चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् ।

समिति सदस्यहरुमा मनोज लामा, ईन्द्र बज्राचार्य, कमल बिडारी, सजिता पौडेल, सिशम माझी, रजु घले र रञ्जन अमात्य चयन भएका छन् । जिल्ला भलिबल संघका निवर्तमान अध्यक्ष विन्द्रलाल श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सिटौलालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

अध्यक्षमा चयन भएसँगै सिटौलाले जिल्लामा भलिबल खेलाडी उत्पादनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने बताए । उनले जिल्लामा बर्सेनी आवश्यकताअनुसार स्थानीय र राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए ।


प्रकाशित : असार ८, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

रोपाइँ गर्ने बेला ज्यान जोगाउन डाँडापाखा

पहिरोबाट विस्थापित परिवार सयभन्दा बढी, राहत पाउन तीन घण्टा हिँड्नुपर्ने बाध्यता
आनन्द गौतम

(ताप्लेजुङ) — प्रकोप नआइदिएको भए फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका युगेन अङछङवो यतिबेला हाङरुङ बेंसीमा धान रोपाइँमा व्यस्त हुन्थे । १८ पाथी बीउको धान रोप्ने उनले मध्य असारसम्ममा मैजारो गरिसक्नुपर्थ्यो । ब्याडमा धानको बीउ छिप्पिँदै जाँदा उनी भने पहिरोबाट बच्न र परिवार बचाउन डाँडापाखा चहारिरहेका छन् । 

आकाश धुम्मिएर पानी झर्न थालेपछि डाँडाको स्कुलतिर दौडन्छन् । वर्षा थामिएर घाम देखिए चौपायालाई घाँस हाल्न बस्तीतिर झछर्न् । आली ताछेर सनक्क पारेको बेंसीमा धान रोप्ने साइत कहिले निस्कन्छ भन्ने पत्तो नै छैन ।

यतिबेला हुम्फावुङ बेंसीमा धान रोपाइँमा व्यस्त हुने जिल्लाको पूर्वी सिरिजंगा गाउँपालिका–७ खेवाङका पदम दमाई साँगादिनको गणेश माध्यमिक विद्यालयमा समय कटाइरहेका छन् । मानो रोपेर मुरी उब्जाउने समयमा उनलाई कसरी बाँच्ने र कसरी बचाउने भन्ने चिन्ता छ । उनको मुख्य पेसा खेतीकिसानी र कपडा सिलाउने हो । खलाखेत पहिरोले पुरिसकेको छ भने घरको करेसासम्म नै पहिरो चलेकाले अब फर्कन सक्ने अवस्था छैन ।

ताप्लेजुङका सयभन्दा बढी परिवारको अहिले दिनचर्या कसरी जीवन जोगाउन भनेरै बितिरहेको छ । सिरिजंगा–७ का वडाध्यक्ष बुद्ध दाहालका अनुसार चार दिनयता ६० परिवार विद्यालय र डाँडामा रहेका आफन्तको शरणमा बसेको बताउँछन । यहाँ पहिरोमा परेर यसपटक दुईको मृत्यु भयो भने दुईजना घाइते भएका छन् ।

यसैको छिमेकी वडा नम्बर ६ को मामांखेमा २२ परिवार विस्थापित छन् । सिरिजंगाकै छिमेकी सिदिङवा गाउँपालिका–७ सुरुमखिम जैसीडाँडाका ७ परिवार विस्थापित छन ।

अधिकांश गुरुङ परिवार विस्थापित भएको र उनीहरु घर फर्कने वातावरण नभएको स्थानीय वुरुमखिम आधारभूत विद्यालयका शिक्षक नरेन्द्र राईले बताए । बस्ती चिराचिरा परेको, माथि र तल दुवैतिर पहिरो चलेकाले उनीहरुको दिगो बसाइँ सम्भव नभएको उनको ठहर छ ।

फक्ताङलुङको वडा १ र २ को अवस्था यस्तै छ । २ का वडाध्यक्ष भुपेन्द्र चौलागाईका अनुसार यहाँका १३ परिवार बेलुका बस्न चाखु आधारभूत विद्यालयमा जान्छन् । १६ परिवार फिलुंगे डाँडामा गएर बस्छन् । त्यहाँ स्थानीय आफैंले पाल, कम्बल लगायतको व्यवस्था गरेका छन् । ‘बाटो नभएकाले उनीहरुको व्यवस्थापनका लागि केही गर्न सकिएको छैन,’ चौलागाईले भने । पालिकामा बजेट बनाउने समय भए पनि पहिरोका कारण ध्यान पुर्‍याउन नसकेको उनले बताए ।

पानी पर्न छाडेर मौसममा सुधार आए पनि किसानलाई समस्या छ । युगेनले भने– ‘हाम्रोमा फुङफुङे जाने सडक पहिरो जाँदा तीन सय बढी रोपनी जमिन बाँझो हुने अवस्था छ । यहाँ पानी ल्याउने कुलो पुरै भत्काएकाले सिँचाइ गर्ने उपाय छैन । यहाँ फल्ने छोटी धान असार पहिलो साता रोपिसक्नुपर्थ्यो ।’

प्रदेश १ सरकारले पहिरो जान सुरु भएको ५ दिनपछि खेवाङका पहिरो प्रभावितलाई राहत सामग्री पुर्‍याएको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार अनुसार २१ क्वीन्टल चामल, पाल, म्याट्रेस, कम्बल लगायतका सामग्री पुर्‍याइएको छ । विराटनगरबाट हेलिकप्टरबाट ढुवानी गर्न महंगो पर्ने भएकाले सोमबार पाँचथर सदरमुकाम फिदिमसम्म ल्याएको र मंगलबार बिहान त्यहाँबाट ढुवानी गरिएको हो । खेवाङ लैजाने सामान २० परिवारका लागि मामांखे पनि लगिएको पोखरेलले बताए ।

खेजेनिमका लागि भने सानिमा हाइड्रोपावरसँग समन्वय गरेर रेडक्रसको सहकार्यमा राहत पठाइएको छ । वर्तमान वडाध्यक्ष दाहाल र निवर्तमान वडाध्यक्ष नरेन्द्र तिवारी सरकारले यत्तिका दिन पछि राहत ल्याएर पनि वास्तविक पीडित भएकोमा नझारेको गुनासो गर्छन् ।

‘पीडितहरु तेम्फु र तामाङखे भन्ने ठाउँमा छन, हामी पनि उनीहरुसँगै बसिरहेका छौं,’ तिवारीले थपे, ‘राहत सामग्री चाहिँ साॅगादिनमा झारिदियो । भन्दाभन्दै पनि त्यहाँ झारे ।’ तेम्फुबाट यो सामग्री बुझ्न कम्तिमा तीनदेखि चार घण्टा एकोहोरो पैदल हिँड्नुपर्ने उनले बताए । पहिरोका कारण हिँड्ने अवस्था नभएकाले अब वास्तविक पीडितले राहत सामाग्री पाउने अवस्था नरहेको तिवारीले गुनासो गरे । प्रजिअ पोख्रेलका अनुसार बढी पीडित गणेश माविमा भएका र हेलिकप्टरबाट त्यहाॅ सजिलो भएकाले झारिएको दाबी गरे ।

ताप्लेजुङमा विनासकारी ठुलो पहिरो चल्न थालेको एक शताब्दी बितिसकेको छ । १९८२ देखि यहाँ पहिरोको सुरुवात भएको पाइन्छ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष गणेश अधिकारीले संकलन गरेको तथ्यांक अनुसार सदरमुकाम नजिकै रहेको हाङदेवा पहिरोलाई सबैभन्दा विध्वंसकारी पहिरोको रुपमा लिइन्छ ।

जिल्लामा अहिलेसम्म २०००, २०१४, २०१८, २०२० भाद्र, २०२५ असोज २५ , २०३७ साउन, २०५६ साउन २३ र २०५९ साउन २२ मा बिर्सनै नसकिने ठूला पहिरो गएको तथ्यांक रहेको अधिकारीले बताए । हरेक वर्ष वर्षायाममा निरन्तर बगिरहने यी पहिरो हिउॅदमा पनि धुले पहिरोको रुपमा भत्किने गरेका छन् । प्रत्येक वर्ष हुने पहिरो र बाढीका कारण बसाइँ सर्नेको क्रम बढ्दो रहेको उनको बुझाइ छ ।

प्रजिअ पोखरेल क्षति न्यूनीकरण योजना अहिले पनि रहेको तर प्रत्येक वर्ष ठाउॅ फेरिएर पहिरो जाने गरेको पाइएको बताउॅछन । ‘म सरुवा भएर आउँदा डाँडाकाँडा हरियाली देखेको थिएँ, अहिले पहिरो देखिन थाल्यो,’उनले भने,‘प्रतिकार्य योजना पहिला पनि रहेछ, अहिले पनि बनाएका छौं तर जताततै भत्किरहेको छ ।’ कसरी भत्केला र ! भन्ने डाॅडाहरु पनि भत्किएको देख्ता भूगभ विद्ले अध्ययन गर्नुपर्ने बुझाइ विपद् व्यवस्थापन समितिको छ । अहिलेसम्म भूगर्भविद्ले एकपटक हाङदेवाको पहिरो मात्रै अध्ययन गरेको रेडक्रस सभापति इन्द्र गुरुङले बताए ।


प्रकाशित : असार ८, २०७९ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×