१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एभिनियर सेमिफाइनलमा

पोखरा — विभागीय टोली एपीएफ क्लबलाई ४–१ ले हराउँदै अफ्रिकन क्लब एभिनियर मंगलबार छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

पोखराको हेम्जामा एभिनियरले एपीएफलाई हराउँदै चर्च ब्वाइजसँगको भेट पक्का गरेको हो । खेलको १० औं मिनेटमा अब्देलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार पनि अकासिएको थियो ।

२२ औं मिनेटमा एबोडसनको पासमा जाजाको हेडर एपीएफका गोलरक्षक विशाल गुरुङले पञ्च गर्दै जोगाए । २० औं मिनेटमा एपीएफका प्रदीप लामाले अनमार्कमा रहेका रवि थिङलाई दिएको उत्कृष्ट पासमा एभिनियरका गोलरक्षक तथा कप्तान कोभासीले चलाखीपूर्ण तरिकाले डाइभ गर्दै गोल हुनबाट जोगाए ।

खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता दिलाए । उनी गिनीको स्थानमा मैदान छिरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा फ्रेडरिकले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकी टिमले दोस्रो हाफमा दुई गोल थप्यो । सुरुदेखि नै एपीएफमाथि हाबी एभिनियरले उत्कृष्ट खेल प्रदर्शन गरे पनि समन्वय अभाव रह्यो ।

एभिनियरका परिवर्तित खेलाडी विल्लेले खेलको ८६ औं मिनेटमा गोल गरे । उनले ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सहज बनाए । उनी म्यान अफ द म्याच घोषित भए । एपीएफले खेलमा फर्कने प्रयास गरे पनि सकेन । दोस्रो हाफमा १० खेलाडीमा समेटिएको एपीएफका सविन थापाले ९४ औं मिनेटमा एकमात्र गोल गरे । पहिलो सेमिफाइनलमा बुधबार आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : असार ८, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?