कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
विश्व क्रिकेट लिग २

‘महत्त्वपूर्ण समयमा चल्न सकेनौं’

नेपालले विश्वकप लिग २ को पाँचौं शृंखलामा स्कटल्यान्ड र नामिबियासँग खेल्ने, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेमा दासानायके विश्वस्त

ह्युस्टन, अमेरिका — आफ्नो हातमै रहेको खेल हार्दा त्यसलाई स्वीकार्न निकै गाह्रो हुन्छ । नेपालका प्रशिक्षक पुबुदु दासानायके भन्दैथिए, ‘पर्याप्त गल्ती गरिसकेपछि जित त गाह्रो हुन्छ । महत्त्वपूर्ण समयमा हामी चल्न सकेनौं, त्यसकारण हामीलाई अगाडि बढ्न गाह्रो भइरहेको छ ।’

‘महत्त्वपूर्ण समयमा चल्न सकेनौं’

आरिफ शेख र सोमपाल कामीले शतकीय साझेदारी गरे पनि नेपाल बुधबार आईसीसी विश्व क्रिकेट लिग २ मा अमेरिकासँग पराजित भएपछि दासानायकेले दिएको प्रतिक्रिया हो यो । अमेरिकाले मोसा क्रिकेट मैदानमा नेपाललाई ३९ रनले पराजित गर्‍यो । १८ बल र ८ रन अन्तरमा अन्तिम ५ विकेट गुमाएपछि नेपालको हार अस्वाभाविक बनेको थियो ।

आरिफ र सोमपालले छैटौं विकेटमा १ सय ६ रनको साझेदारी गरे पनि २ सय ४६ रनको लक्ष्य लिएर आएको नेपाल ४७.४ ओभरमा २ सय ६ रनमै अलआउट भयो । ‘यो भ्रमण कन्डिसन, पिचसहितका कारण चुनौतीपूर्ण थियो । हामीले जुनसुकै स्थानमा पनि खेल्न सिक्नुपर्छ । हामीले हारेका दुई खेल निकै साँघुरो अन्तरमा थियो । तर हामीले ती हारका लागि स–साना पर्याप्त गल्ती गरेका छौं,’ दासानायकेले भने, ‘यसको एउटै कारण हाम्रा खेलाडीमा अनुभवको कमी देखियो भने अर्को त कप्तान आफैं अझै सिकिरहेका छन् ।’

अली खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिँदै नेपाललाई रोकेका थिए । नेत्राभाल्करले अन्तिम ५ मध्ये ३ विकेट लिए । आरिफ र सोमपालको साझेदारी नेत्राभाल्करले नै तोडेका थिए । ४५ औं ओभरमा आरिफ ६३ रन बनाई आउट भए भने त्यसपछि नेत्राभाल्करले करण केसी (१) र कप्तान सन्दीप लामिछाने (०) लाई लगातार बलमा बोल्ड गरे ।

आरिफलाई आउट गरेपछि नेत्रभाल्करले सोमपाललाई रनआउट गरे । नेपालबाट आउट हुने अन्तिम ब्याटर आदिल आलम थिए । उनले अलीको बलमा मिडविकेट बाउन्ड्री लाइनमा क्याच दिन पुगे । नेत्राभाल्करले ९ ओभरमा ४४ र अलीले ८.४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेका थिए ।

नेपालको सुरुआत नै राम्रो हुन सकेन । कुशल भुर्तेल १० र आसिफ शेख १८ रनमा आउट भए । क्रिजमा आएलगत्तै छक्का प्रहार गरेका उपकप्तान रोहित पौडेल १९ रनमै आउट भए । देव खनाल रनआउट हुनु नेपालको दुर्भाग्य बन्यो । उनले ४७ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए । अमेरिका भ्रमणमा ठूलो स्कोर बनाउन नसकेका दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएपछि आरिफ र सोमपालले नेपाली इनिङ्स तानेका थिए । आरिफले यस भ्रमणमा दोस्रो अर्धशतक बनाउने क्रममा ६३ रन जोडे । उनले ७६ बल खेल्दा ३ चौका प्रहार गरे । सोमपालले ७२ बल खेल्दै १ चौकासहित ४७ रन जोडे ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङका लागि बोलाइएको अमेरिकाले सुशान्त मोदानी र गजानन्द सिंहको अर्धशतकमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ४७ रन बनाएको थियो । करणले यसअघिका खेलमा जस्तै नेपाललाई राम्रो सुरुआत दिलाए । पहिलो ओभरको पाँचौं बलमै उनले स्टेभन टेलरलाई १ रनमा वैकल्पिक फिल्डर सुनील धमलाबाट प्वाइन्टमा क्याचआउट गराए । करणले आफ्नो अर्को ओभरमा कप्तान मोनांक पटेललाई ४ रनमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । आदिल आलमले कभरमा पटेलको आकर्षक ढंगमा क्याच लिए । तर मोदानीले आरोन जोन्ससँग तेस्रो विकेटमा ८८ रनको साझेदारी गरी अमेरिकाको इनिङ्स सम्हाले । मोदानीले ७ चौकासहित ५४ रन बनाए । सन्दीपको बलमा केही अत्तालिँदै देवले लङअनमा उनको क्याच लिए । जोन्सले ४३ रन बनाउँदा ३ चौका प्रहार गरे ।

साइतेजा मुकामल्ला र गजानन्दले पाँचौं विकेटमा ८५ रनको साझेदारी गरे । मुकामल्लाले ३ चौकासहित ३६ र गजानन्दले ५ चौका र १ छक्का प्रहार गरी ५८ रन बनाए । मुकामल्लालाई सोमपाल र गजानन्दलाई सन्दीपले आउट गरे । नोस्थुस केन्जुगेले ९ रनमा आउट गरी करणले तेस्रो विकेट लिए । करणले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । यस शृंखलामा कुल १३ विकेट लिएका करण प्लेयर अफ द सिरिज भएका छन् । सन्दीपले १० ओभरमा ४३ रन खर्चेर २ तथा सोमपाल र दीपेन्द्रले १–१ विकेट लिए ।

नेपालले ओमानलाई अघिल्लो दिन ७ विकेटले पराजित गरेको थियो । लिग २ मा नेपालको यो चौथो शृंखला हो । नेपालले अहिलेसम्मकै थोरै अंक जोड्यो । नेपालले ४ खेलमा ३ अंकमात्र जोडेको हो । नेपाल र अमेरिकाबीच शनिबारको खेल ‘टाइ’ मा टुंगिएको थियो । नेपालले यसअघिका तीन शृंखलामा ४–४ अंक जोडेको थियो । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दासानायकेले अगाडि भने, ‘हामीले अझै २० खेल खेल्न बाँकी छ । विगतमा पनि हामीले कहिल्यै हार मानेका थिएनौं । अर्को भ्रमणअघि सानातिना गल्तीहरूलाई सुधार गर्न जरुरी छ ।’

अमेरिकाले यसपालि सबैभन्दा बढी ५ र ओमानले ४ अंक बटुलेका छन् । ओमानलाई १ सय १४ रनले पराजित गरेको अमेरिका त्यसपछि ओमानसँग अर्को खेलमा १३ रनले पराजित भयो । लिग २ मा अमेरिका २४ खेलमा २३ र नेपाल १६ खेलमा १५ अंक जोड्दै क्रमशः चौथो र पाँचौं स्थानमा छन् । लिग २ अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको आधार हो । लिग २ मा सहभागी ७ टोलीले ९ शृंखला अर्थात ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने प्रावधान छ ।

प्लेयर अफ द सिरिज ट्रफी साथ करण केसी ।

लिग २ को शीर्ष ३ टोली सोझै जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटमा पुग्नेछन् भने चौथो र पाँचौं टोलीले शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै विश्वकप छनोटमा पुग्ने अर्को मौका पाउनेछन् । दासानायके नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेमा विश्वस्त देखिन्छन् ।

टेक्सासस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाविरुद्धका खेलमा आफ्नो टोलीको हौसला बढाउँदै नेपाली समर्थक ।

लगातार शृंखला

प्रशिक्षक दासानायके ह्युस्टनबाटै क्यानडाको टोरन्टो लाग्नेछन् । नेपाली टोली काठमाडौं गएर अर्को सातापछि पुनः उत्तर अमेरिकी राष्ट्र क्यानडा आउने छ । नेपालले क्यानडासँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय खेल्ने तालिका छ । क्यानडासँग नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय जुन २८ र २९ मा खेल्नेछ । त्यसपछि जुलाई ४ र ५ मा दुई एकदिवसीय खेल्ने तालिका बुधबार क्यानले सार्वजनिक गरेको छ ।

नेप्लिज–क्यानेडियन क्रिकेट क्लबले नेपाली क्रिकेट टोलीको क्यानडा टुर व्यवस्थापन गर्ने क्यानले जनाएको छ । क्यानडाबाट नेपाली टोली जुलाई ८ मा स्कटल्यान्ड पुग्नेछ । नेपालले विश्वकप लिग २ को पाँचौं शृंखलामा स्कटल्यान्ड र नामिबियासँग प्रतिस्पर्धा गर्दै छ । सबै खेल इडेनब्रोमा हुनेछ । लिग २ मा एउटा टोलीले ९ खेल खेल्नुपर्ने प्रावधान छ । नेपालले जनवरी र फेब्रुअरीमा दुई शृंखला आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनाए ।

उनका अनुसार नेपालले जनवरीदेखि अप्रिलसम्म बाँकी रहेको चारै शृंखला खेल्नुपर्ने हुनसक्छ । स्कटल्यान्डपछि नेपालको नामिबिया र पपुवा न्युगिनीको भ्रमण बाँकी रहनेछ । पपुवा न्युगिनीले आफ्नो घरेलु शृंखला नेपालमै खेल्ने इच्छा देखाएकाले त्यसबारेमा पनि छलफल चलिरहेको चन्दले बताए । लिग २ को घरेलु शृंखलाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता निर्क्योल गर्ने दासानायके बताउँछन् ।

प्रकाशित : असार ३, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?