कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

करणको द्रुत गति

विश्व क्रिकेट लिग २ यात्रामा ३२ विकेट लिएका करण केसी सर्वाधिक विकेट लिने नेपाली बलर
विनोद पाण्डे

ह्युस्टन, अमेरिका — करण केसीका लागि कुनै बहाना चाहिँदैन । किनभने नेपाली क्रिकेटमा एउटा भनाइ स्थापित छ, हरेक दिन करण केसीको दिन । केही अपवाद छाड्ने हो भने करण कुनै न कुनै दिन खेलमा छाएकै हुन्छन् । चाहे त्यो ब्याटबाट होस् या बलबाट ।

करणको द्रुत गति

नेपालको अमेरिका भ्रमण पनि यस्तै रह्यो । विश्वकप लिग २ का तीनमध्ये २ खेलमा करणले यस्तै प्रभावशाली प्रदर्शन दिएका छन् । उनले ओमानसँगको २ खेलमा दुवैमा ५–५ विकेट लिएका छन् । यसअघिका १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले तीन पटक ४–४ विकेट लिए पनि ५ विकेट लिन सकेका थिएनन् ।

ह्युस्टनमा उनले ३ खेलमा दुईपल्ट ५–५ विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । करणअघि तीन पटकमात्र नेपाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा एकै खेलमा ५–५ वा त्यसभन्दा बढी विकेट लिएका छन् । सन्दीप लामिछाने जस्तै करणले पनि नेपालबाट दुई एकदिवसीय अन्तर्राष्ट्रियमा ५–५ विकेट लिने कीर्तिमान बनाएका छन् । अर्को एकै खेलमा ५ विकेट लिने कीर्तिमान सोमपाल कामीको नाममा छ ।

करणले टेक्सासको उच्च आद्रतामा ओमानविरुद्ध अघिल्लो साता पहिलो खेलमा १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएका थिए भने मंगलबार सोही किसिमको प्रदर्शन दोहोर्‍याउँदै ओमानविरुद्ध १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । ब्याटिङका लागि उपयुक्त मानिएको मोसा क्रिकेट मैदानको विकेटमा करणलाई बलिङमा राम्रो प्रदर्शन गर्न साथ दिएको छ । यहाँको हावा लागिरहने मौसममा तीव्र गतिका बलरलाई बल स्विङ गर्न सबैभन्दा राम्रो समय हो ।


‘विकेट ब्याटिङमैत्री छ, यदि बलरले आफ्नो नियमित कार्य गर्ने हो भने तीव्र गतिका बलरहरू सुरक्षित हुन्छन् । मैले आफ्नो नियमित कार्यमात्र गरेको हुँ, अरू त्यस्तो केही छैन । जसरी पनि रन कम दिने रणनीति हो । त्यसरी बलिङ गर्ने हो भने दबाब हुन्छ र विकेट पनि पाइन्छ,’ करणले ओमानसँगको खेलपछि भने, ‘नयाँ बलमा १–२ ओभर सहज हुन्छ । आफ्नो योजना स्पष्ट हुने हो भने केही गाह्रो छैन ।’

करण र सन्दीपले नेपालको लिग २ यात्रामा सबै १५ खेल खेलेका छन् । करण ३२ विकेटका साथ नेपाली बलरमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन्दीपले २९ विकेट लिएका छन् । ‘पछिल्ला दुई वर्षमा नेपालमा नियमित क्रिकेट भइरहेको छ, त्यसले हामी सबै खेलाडी व्यस्त छौं । त्यसैले समय निकाल्न गाह्रो छ, यसको फाइदा खेलाडीलाई छ,’ करण नियमित एकरुपको प्रदर्शनका कारण दिँदै फिजियो (विक्रम न्यौपाने), ट्रेनर (साहिद केशभानी) ले गर्दा पनि खेलाडीहरू राम्रो लयमा भएको सुनाउँछन् ।


करणले चैतमा नेपालमा सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । उनले कुल ५ खेलमा १३ विकेट लिएका थिए भने फाइनलमा पपुवा न्युगिनीविरुद्ध १२ बलमा अविजित ३३ रन बनाएका थिए । पपुवा न्युगिनीविरुद्धको राउन्ड रोबिनको खेलमा उनले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिँदै ५ विकेट पूरा गरेका थिए ।

उनले ह्युस्टनमा भने ब्याटिङमा आफ्नो प्रभाव देखाउन सकेका छैनन् । तल्लोक्रममा ब्याटिङ गर्ने उनी ओमानविरुद्ध ८ रनमा आउट भएका थिए भने अमेरिकाविरुद्ध खाता खोल्न सकेनन् । ब्याटिङमा आफूले खासै समय नपाएको र सही समयको प्रतीक्षामा रहेको उनको तर्क छ ।


नेपाली क्रिकेट अहिले जहाँ छ, करणको ब्याटिङमा एउटा इनिङ्समा देखाएको म्याचका कारण छ । सन् २०१८ मा नेपाल विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडासँग पराजय नजिक पुगेको अवस्थामा करणले ३१ बलमा अविजित ४२ रन बनाउँदै नेपाललाई विश्वकप छनोटमा पुर्‍याएको थियो । त्यहींबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा थालेका हो । करण र नेपाली क्रिकेट यस्तै अविस्मरणीय इनिङ्सको प्रतीक्षामा छ ।

प्रकाशित : असार २, २०७९ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?