कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
विश्वकप लिग-२ क्रिकेट

अमेरिकासँग नेपाल ३९ रनले पराजित

ह्युस्टन, अमेरिका — आरिफ शेख र सोमपाल कामीले शतकीय साझेदारी गरे पनि नेपाल बुधबार विश्वकप लिग-२ क्रिकेटमा अमेरिकासँग पराजित भएको छ । अमेरिकाले मुसा क्रिकेट मैदानमा नेपाललाई ३९ रनले पराजित गर्‍यो ।

अमेरिकासँग नेपाल ३९ रनले पराजित

आरिफ र सोमपालले छैटौं विकेटमा १ सय ६ रनको साझेदारी गरे पनि अन्तिम ५ विकेट ८ रनमा गुमाउदा नेपालले पराजय भोग्नु परेको हो । २ सय ४६ रनको लक्ष्य लिएर आएको नेपाल ४७.४ ओभरमा २ सय ६ रनमा अलआउट भयो ।


अली खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिदैं नेपाललाई रोकेका थिए । नेत्राभाल्करले अन्तिम ५ मध्येको ३ विकेट लिए । आरिफ र सोमपालको साझेदारी नेत्राभाल्करले नै तोडेका थिए । ४५ औं ओभरमा आरिफ ६३ रन बनाई आउट भए भने त्यसपछि नेत्राभाल्करले करण केसी (१) र कप्तान सन्दीप लामिछाने (०) लाई लगातार बलमा बोल्ड गरे ।


आरिफलाई आउट गरेपछि नेत्रभाल्करले सोमपाललाई रनआउट गरे । नेपालबाट आउट हुने अन्तिम ब्याटर आदिल आलम थिए । उनले अलीको बलमा मिडविकेट बाउन्ड्री लाइनमा क्याच दिन पुगे । नेत्राभाल्करले ९ ओभरमा ४४ र अलीले ८.४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चे ।


नेपालको सुरुआत राम्रो हुन सकेन् । कुशल भुर्तेल १० र आसिफ शेख १८ रनमा आउट भए । क्रिजमा आए लगत्तै छक्का प्रहार गरेका उपकप्तान रोहित पौडेल १९ रनमा आउट भए । देव खनाल रनआउट हुनु नेपालको दुर्भाग्य बन्यो । उनले ४७ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए । अमेरिका भ्रमणमा ठुलो स्कोर बनाउन नसकेका दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएपछि आरिफ र सोमपालले नेपाली इनिङ्स तानेका थिए ।


आरिफले यस भ्रमणमा दोस्रो अर्धशतक बनाउने क्रममा ६३ रन बनाए । उनले ७६ बल खेली ३ चौका प्रहार गरे । सोमपालले ७२ बल खेल्दै १ चौकासहित ४७ रन जोडे ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङका लागि बोलाइएको अमेरिकाले सुशान्त मोदानी र गजानन्द सिंहको अर्धशतकमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ४७ रन बनाएको थियो । करणले यसअघिका खेलमा जस्तै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । पहिलो ओभरको पाँचौं बलमै उनले स्टेभन टेलरलाई १ रनमा बैकल्पिक फिल्डर सुनिल धमलाबाट प्वाइन्टमा क्याच आउट गराए ।


करणले आफ्नो अर्को ओभरमा कप्तान मोनांक पटेललाई ४ रनमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । आदिल आलमले पटेलको कभरमा सानदार क्याच लिए ।

तर मोदानीले आरोन जोन्ससँग तेस्रो विकेटमा ८८ रनको साझेदारी गरी अमेरिकाको इनिङ्स समहाले । मोदानीले ८३ बल खेली ७ चौकासहित ५४ रन बनाए । सन्दीपको बलमा केही अत्तालिदैं देवले लङ अनमा उनको क्याच लिए । जोन्सले ४३ रन बनाउनेक्रममा ६० बल खेली ३ चौका प्रहार गरे ।


साइतेजा मुकामल्ला र गजानन्दले पाँचौं विकेटमा ८५ रनको साझेदारी गरे । मुकामल्लाले ५२ बल खेली ३ चौकासहित ३६ र गजानन्दले ६० बल खेली ५ चौका र १ छक्का प्रहार गरी ५८ रन बनाए । मुकामल्लालाई सोमपाल कामी र गजानन्दलाई सन्दीपले आउट गरे । नोस्थुस केन्जुगेले ९ रनमा आउट गरी करणले तेस्रो विकेट लिए । करणले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सन्दीपले १० ओभरमा ४३ रन खर्चेर २ तथा सोमपाल र दीपेन्द्रले १–१ विकेट लिए ।


नेपालले ओमानलाई अघिल्लो दिन ७ विकेटले पराजित गरेको थियो । लिग २ मा नेपालको यो चौथो शृंखला हो र नेपालले अहिलेसम्मकै थोरै अंक जोड्यो । नेपालले ४ खेलमा ३ अंकमात्र जोडेको हो । नेपाल र अमेरिका बीच शनिबार भएको खेल ‘टाई’ मा टुंगिएको थियो ।


नेपालले यसअघिका तीन शृंखलामा सबैमा ४–४ अंक जोडेको थियो । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने त्यसपछिको अर्को खेलमा ओमानलाई मंगलबार ७ विकेटले पराजित गरेको थियो । अमेरिकाले यसपटक सबैभन्दा बढी ५ र ओमानले ४ अंक बटुल्यो । पहिलो खेलमा ओमानलाई पहिलो खेलमा १ सय १४ रनले पराजित गरेको अमेरिका त्यसपछि ओमानसँगको अर्को खेलमा १३ रनले पराजित भएको थियो ।


लिग २ मा अमेरिका २४ खेलमा २३ र नेपाल १६ खेलमा १५ अंक जोडि अंक तालिकामा क्रमश: चौथो र पाँचौं स्थानमा छ । लिग २ अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको आधार हो । लिग २ मा सहभागि ७ टोलीले ९ शृंखला अर्थात ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु पर्ने प्रावधान छ ।


लिग २ को शीर्ष ३ टोली सोझै जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटमा पुग्ने छन् भने चौथो र पाँचौं हुने टोलीले शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै विश्वकप छनोटमा पुग्ने अर्को मौका पाउने छन् ।

प्रकाशित : असार २, २०७९ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?