२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अमेरिकाविरुद्ध नेपालको पहिला फिल्डिङ

विनोद पाण्डे

ह्युस्टन, अमेरिका — नेपालले विश्वकप लिग २ क्रिकेटमा अमेरिकाविरुद्ध बुधबार पहिला बलिङ गर्ने भएको छ । कप्तान सन्दीप लामिछानेले टस जितेपछि घरेलु टोली अमेरिकालाई ब्याटिङमा बोलाएको हो । ओमानलाई अघिल्लो दिन ७ विकेटले पराजित गरेको खेलबाट नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । अमेरिकाको टोलीमा तीब्र बलर अली खान फर्किएका छन् । उनले रस्टी थेरोनको स्थान लिने छन् । थेरोनले शनिबार नेपालविरुद्धको खेलमा ४ विकेट लिएका थिए ।

अमेरिकाविरुद्ध नेपालको पहिला फिल्डिङ

क्यारेबियन प्रिमियर लिग र इन्डियन प्रिमियर लिगमा समावेश भइसकेका खानलाई ओमानविरुद्धको अघिल्लो खेलमा विश्राम दिइएको थियो ।

नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने त्यसपछिको अर्को खेलमा ओमानलाई मंगलबार ७ विकेटले पराजित गरेको थियो । नेपाल र अमेरिका बीच शनिबार भएको खेल ‘टाई’मा टुंगिएको थियो । नेपालले पहिला ब्याटिङ गरी २ सय ७४ रन बनाएको थियो भने जबाफमा आएको अमेरिकाले पनि २ सय ७४ रन नै बनाएको थियो ।

पहिलो खेलमा ओमानलाई पहिलो खेलमा १ सय १४ रनले पराजित गरेको अमेरिका त्यसपछि ओमानसँगको अर्को खेलमा १३ रनले पराजित भएको थियो । लिग २ मा अमेरिका २३ खेलमा २१ र नेपाल १५ खेलमा १५ अंक जोडि अंक तालिकामा क्रमश: चौथो र पाँचौं स्थानमा छ ।

लिग २ अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको आधार हो । अमेरिकामा भइरहेको लिग २ नेपालको चौथो शृंखला हो । लिग २ मा सहभागि ७ टोलीले ९ शृंखला अर्थात् ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु पर्ने प्रावधान छ । लिग २ को शीर्ष ३ टोली सोझै जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटमा पुग्ने छन् भने चौथो र पाँचौं हुने टोलीले शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै विश्वकप छनोटमा पुग्ने अर्को मौका पाउनेछन् ।



प्रकाशित : असार १, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?