१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आर्मी लगातार च्याम्पियन

गत वर्ष पनि विजय युथलाई नै हराएर आर्मीले मकवानपुर गोल्डकप जितेको थियो
सुवास विडारी

मकवानपुर — विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सोमबार चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ मा च्याम्पियन बनेको छ ।

आर्मी लगातार च्याम्पियन

हेटौंडा–५ स्थित पिप्ले क्याम्प रंगशालामा सम्पन्न फाइनलमा आर्मीले घरेलु टोली विजय युथ क्लबलाई २–१ ले पराजित गर्दै आर्मी उपाधि रक्षा गर्न सफल भयो ।

आर्मीलाई वर्षको पहिलो उपाधि दिलाउने क्रममा कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरेका थिए । विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

खेलको १५ औं मिनेटमा आर्मीले खेलमा अग्रता लियो । कप्तान भरतको आकर्षक गोलबाट आर्मीले सुरुआती अग्रता लिएको हो । उनले विजय युथका डिफेन्सको गल्तीमा फाइदा उठाउँदै टेकबहादुर बुढाथोकीले उपलब्ध गराएको पासमा दर्शनीय गोल गरे । खेलको २४ औं मिनेटपछि घरेलु टोली बराबरी गोल फर्काउन सफल भयो । आर्मीका डिफेन्डर युद्ध शाहीले पेनाल्टी बक्समा विजय युथका विमल रानालाई फाउल गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टीको अवसर दिएका थिए । उक्त पेनाल्टीलाई डोना थापाले गोलमा परिणत गरिदिए ।

सर्वोत्कृष्ट खेलाडी विजय युथका अशोक बराल।

दोस्रो हाफको पाँचौं मिनेटमा कमलबहादुरले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । उनले बक्सबाहिरबाट प्रहार गरेको बल सोझै गोलमा परिणत भयो । खेलको ५५ औं मिनेटमा आर्मीले पेनाल्टी अवसर पाए पनि दिनेश हेन्जनले गोल गर्न नसक्दा थप अग्रता लिनबाट चुक्यो । उनको प्रहार आकासिएको थियो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले आर्मीका सन्तोष केसीलाई फाउल गरेपछि रेफ्री श्रेष्ठले पेनाल्टी दिएका थिए । त्यसपछि खेलमा थप गोल भएन । आर्मीले गत वर्ष पनि विजय युथलाई नै पराजित गर्दै उपाधि जितेको थियो । आर्मीले १५ लाख रुपैयाँ र सिल्ड उचालेको छ । उपविजेता विजय युथले १० लाख रुपैयाँ पायो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थयो ।

अशोकलाई बुलेट, विधागतमा आर्मी हाबी

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट बाइक जितेका छन् । सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाख रुपैयाँको मोटरसाइकल अशोकले हात पारेका हुन् । उनी यू–२३ का पूर्वराष्ट्रिय खेलाडी हुन् । उनी मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।

विधागततर्फ सबै पुरस्कार आर्मीले जितेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीलाई नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कृत गरेका थिए ।


प्रकाशित : जेष्ठ ३१, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?