कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आर्मी र विजय युथ उपाधिका लागि भिड्दै

मकवानपुर — हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनल सोमबार हुँदै छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भइरहेको प्रतियोगितामा नेपाल आर्मी क्लब र स्थानीय विजय युथ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । आर्मी साविकको विजेता हो भने विजय युथ उपविजेता । आर्मीको उद्देश्य उपाधि रक्षा गर्ने हुनेछ भने विजय युथको गत वर्षको बदला लिने । दुवै टोलीका प्रशिक्षकले प्रि–म्याच कन्फ्रेन्समा उपाधि जित्ने दाबी गरेका छन् ।

आर्मी र विजय युथ उपाधिका लागि भिड्दै

फाइनल पुग्न आर्मीले एपीएफ क्लब र विदेशी टिम एभिनियर एफसीलाई पराजित गरेको थियो । दुवै टिमलाई आर्मीले पेनाल्टीमा पराजित गरेको हो । आर्मीले सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा गोल खाँदा दुवै खेल टाइब्रेकरमा पुगेका थिए । आर्मीको गोलरक्षकमा विकेश कुथु छन् । विजय युथ नवजनजागृति युवा क्लब र नेपाल पुलिस क्लबलाई पराजित गरेर फाइनल पुगेको हो । विजय युथले दुवै खेल निर्धारित समयभित्रै आफ्नो पक्षमा पारेको थियो । विजय युथले कुनै गोलको सामना गरेको छैन । विजय युथको गोलपोस्ट अशोक बरालले सम्हालिरहेका छन् ।

हालसम्मको प्रदर्शन हेर्दा आर्मीको डिफेन्स लाइन बलियो देखिएको छ भने विजय युथको मिडफिल्ड र फरवार्ड बलियो छ । फाइनल खेल आर्मीको डिफेन्स र विजय युथको फरवार्डबीच हुनेछ भन्दा फरक नपर्ला । आर्मीका डिफेन्डरको प्रशिक्षक नवीन न्यौपानेले पनि तारिफ गरेका छन् । ‘हाम्रा नौ जना खेलाडी राष्ट्रिय टोलीमा रहेका छन् । जसका कारण हामीले नयाँ खेलाडी प्रयोग गरिरहेका छौं । उनीहरूले राम्रो खेलिरहेका छन्,’ उनले भने, ‘उपाधि जित्नेमा हामी ढुक्क छौं ।’ आर्मीका कप्तान भरत खवासले हाम्रा खेलाडी फाइनलका लागि तयार रहेको बताए ।

‘हाम्रा सबै खेलाडी फिट छन् । विजय युथसँग प्रतिस्पर्धा गर्न तयार छौं ।’ उनले विजय युथलाई स्थानीय टोली भएको फाइदा भए पनि आफूहरू उपाधि रक्षा गरेरै छाड्ने दाबी गरे ।

विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनल खेलका लागि आफ्नो टोलीले छुट्टै रणनीति तयार गरेको बताए । उनले डिफेन्स लाइनलाई बलियो बनाउन एक जना खेलाडी परिवर्तन गरिनेसमेत स्पष्ट पारे । विजय युथका मुख्य डिफेन्डर विदेशी खेलाडी पेपे दोहोरो पहेँलो कार्डका कारण फाइनल खेल्नबाट वञ्चित भएका छन् ।

उनको स्थानमा अर्का विदेशी खेलाडी खेलाउन लागिएको हो । विजय युथका कप्तान अशोक बरालले आर्मी बलियो टोली भए पनि च्याम्पियन बन्ने गरी आफूहरूले तयारी गरेको बताए । ‘आर्मीको तुलनामा हाम्रा खेलाडी अनफिट देखिएका छन् । तर, हामी खेल जित्छौं । हामी शतप्रतिशत शक्ति लगाएर खेल्नेछौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३०, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?