१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाटकीय खेलमा आदिलको उदय

‘अन्तिम ओभर फाल्नुअगाडि दबाब थियो, नर्भस थिएँ, जतिसक्दो राम्रो गर्न प्रयास गरेको थिएँ, अनि राम्रो पनि भयो’

ह्युस्टन, अमेरिका — ओमानविरुद्ध दुई दिनअघि खेल्दा मोहम्मद आदिल आलम नेपालको १४ सदस्यीय टोलीमा पनि थिएनन् । विश्वकप लिग २ को खेल खेल्न अमेरिका आएको नेपाली टोलीमा १६ खेलाडी छन्, त्यसमा १४ जनामात्र मैदानभित्र छिर्न पाउँछन् । नेपाली टोलीमा रहेका दुई खेलाडीमध्ये बाहिर हुनेमा एक आदिल थिए ।

नाटकीय खेलमा आदिलको उदय

उनै आदिलले शनिबार अमेरिकाविरुद्ध आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ बनाए । बलिङ र ब्याटिङ दुवैमा उनले प्रभावशाली प्रदर्शन गरेपछि नेपाल अमेरिकाविरुद्धको खेलमा नाटकीय रूपमा ‘टाई’ मा टुंगाउन सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अलआउट भयो । स्टेभन टेलरको सानदार शतकपछि अमेरिकालाई जितका निम्ति अन्तिम ओभरमा ६ रन आवश्यक थियो । तर मध्यम गतिका बलर आदिलले ५ रनमात्र दिएपछि नेपाल हारिसकेको खेलबाट एक अंक जोड्न सफल भएको हो ।

अन्तिम ५ ओभरमा २५ रनमात्र दिएर नेपालले पुनरागमन गर्‍यो । आदिलले ४८ औं ओभरमा ८ रनमात्र खर्चेपछि अमेरिकालाई जितका निम्ति अन्तिम २ ओभरमा १२ रन चाहिन्थ्यो । ४९ औं ओभरमा करण केसीले २ वाइड फाल्न पुगे पनि ६ रनमात्र खर्चेका थिए । त्यसपछि अन्तिम ओभरमा ६ रनको समीकरण बनेको थियो ।

अमेरिकासँग ६ विकेट सुरक्षित रहेको अवस्थामा पहिलो तीन बलमा १–१ रनमात्र दिएका आदिलले चौथो बलमा नो बल गर्न पुगे । चौथो आधिकारिक बलमा १ रनमात्र दिएका आदिलले पाँचौं बलमा आरोन जोन्सलाई आउट गरे । रोहित पौडेलले डिप मिड विकेटमा सानदार क्याच लिँदै जोन्सलाई आउट गरे । स्कोर बराबर भएको अवस्थामा खेलको अन्तिम बलमा राहुल जारिवालालाई रनआउट गर्दै नेपाल हातबाट गुमिसकेको खेलबाट १ अंक ल्याउन सफल भयो । करणको थ्रोमा दीपेन्द्रले स्टम्प हिट गर्दै जारिवालालाई रनआउट गरेपछि अमेरिकाले ६ विकेट गुमाई २ सय ७४ रनमात्र बनाउन सक्यो ।

‘अन्तिम ओभर फाल्नुअगाडि दबाब ममाथि थियो, नर्भस पनि थिएँ, तर कप्तान सन्दीप लामिछानेले ममाथि धेरै विश्वास देखाउनुभएको थियो । जतिसक्दो राम्रो गर्न प्रयास गरेको थिएँ, अनि राम्रो पनि भयो,’ आदिलले भने, ‘सन्दीपले नर्भस हुनुहुँदैन, अर्को बल कसरी फाल्ने भनेर सोच भनेपछि म अर्को बलतर्फ केन्द्रित भएँ । भाग्य नै भन्नुपर्ला अन्तिम दुई बल हाम्रा राम्रा फिल्डरको हातमा गयो ।’

आलमले टेलरसहितको ३ विकेट लिए । सो क्रममा उनले ९ ओभरमा ४५ रन खर्चे । आदिलले आफ्नो प्रभाव ब्याटिङमा देखाएका थिए । देव खनाल ३७ औं ओभरमा आउट भएपछि दीपेन्द्रभन्दा अघि उनलाई पाँचौं नम्बरमा ब्याटिङका लागि पठाइएको थियो । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए । आदिलले भने, ‘ब्याटिङमा मलाई प्रशिक्षकले जस्तो खेल्दै आएका छौं, त्यसरी नै खेल भन्नुभयो । मैले पनि आफ्नो खेल खेल्ने कोसिस गरें । यसअघि ३ वटा ट्वान्टी–२० खेलिसकेकाले आत्मविश्वास आइसकेको थियो ।’

नेपालको दोस्रो ‘टाई’

नेपालको सबैखाले अन्तर्राष्ट्रियमा यो दोस्रो ‘टाई’ खेल हो । २०१२ मा शारजहाँमा नेपाल र यूएईबीचको खेल ‘टाई’ भएपछि एसीसी ट्रफी इलिटको उपाधि संयुक्त रूपमा बाँडेका थिए । यूएईले ५० ओभरमा ६ विकेट गुमाई २ सय ४१ रन बनाएपछि नेपालले ९ विकेट गुमाई २ सय ४१ रन नै बनाएपछि खेल ‘टाई’ भएको थियो । नेपाल र अमेरिकाबीचको बराबरी एकदिवसीय अन्तर्राष्ट्रियमा ४१ औं ‘टाई’ खेल थियो ।

तीन खेलाडीको अर्धशतक

ओपनर आसिफ शेखसहित देव र रोहितले अर्धशतक बनाएपछि नेपालले लिग २ मा आफ्नो उच्च स्कोर बनाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमै नेपालको आफ्नो यो तेस्रो उच्च स्कोर हो । मार्चको अन्तिम सातामा नेपालले पपुवा न्युगिनीविरुद्ध कीर्तिपुरमा क्रमशः २ सय ८६ र २ सय ७८ रन बनाए पनि पराजय भोगेको थियो । अमेरिका भ्रमणमा लिग २ को त्रिकोणात्मक शृंखलामा बिहीबारमात्र २ सय १२ रनको लक्ष्य लिएर आएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै अलआउट भएपछि ओमानसँग १३ रनले पराजित भएको थियो ।

स्टेभन टेलर र मोनांक पटेलले सानदार ब्याटिङ गर्दै अमेरिकालाई जितको नजिक पुर्‍याएका थिए । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक २ सय ५७ रनभन्दा माथिको विजय लक्ष्य नजिक पुगेको अवस्थामा अन्तिम ओभरको खेलले नतिजा नाटकीय बन्यो ।

पटेल ७ रनमा भएको समयमा कुशल भुर्तेलले प्वाइन्टमा क्याच छाड्न पुगे । घाइते कुशलको स्थानमा आएका सागर ढकालले टेलरको लङ अन बाउन्ड्री लाइनमा क्याच फुत्काएका थिए । त्यसपछि रोहितले पनि एउटा क्याच जज गर्न सकेनन् ।

नेपालले अमेरिकासँग २०१३ मा बर्मुडा भ्रमणमा विश्व क्रिकेट लिग डिभिजन ३ मा खेल्दा टेलरले १ सय २ बलमा समान १२ चौका र १२ छक्का प्रहार गर्दै १ सय ६२ रन बनाएका थिए । यसपटक टेलरले एकदिवसीय अन्तर्राष्ट्रियमै पहिलो शतक बनाएका हुन् । उनले १ सय २३ बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे ।

टेलर र पटेलले दोस्रो विकेटमा २ सय रनको मजबुत साझेदारी गरे । पटेलले १ सय १५ बल खेली ८५ रन बनाउने क्रममा ४ चौका र २ छक्का प्रहार गरे । आदिलले गजानन्द सिंहलाई ३ रनमा बोल्ड गरे ।

यसअघि आसिफले कुशलसँग मिलेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले १२ ओभरभित्र पहिलो विकेटमा ५६ रन जोडे । पहिलो स्पिनरका रूपमा आएका निसर्ग पटेललाई रिभर्स स्विप गर्ने क्रममा कुशल बोल्ड भएका थिए । आसिफले ७० बल खेली ६ चौकासहित ६१ रन बनाए । कुशल र आसिफ दुवैले चोटका कारण ओमानसँगको अघिल्लो खेल गुमाएका थिए ।

आसिफले कुशल र देव खनालसँग दुई अर्धशतकीय साझेदारी गरे । आसिफले देव खनालसँग मिलेर दोस्रो विकेटमा ६२ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो चौथो खेल खेलिरहेका देवले ५४ रन बनाए । उनले ६९ बल खेली ३ चौका प्रहार गरे । देव र उपकप्तान रोहित पनि दुई अर्धशतकीय साझेदारीमा समावेश रहे । देवले आसिफ र रोहितसँग तथा रोहितले आदिलसँग अर्धशतकीय साझेदारी गरे । देवले रोहितसँग तेस्रो विकेटमा ६० रन जोडे ।

रोहितले ७२ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ६२ रन बनाउँदै आदिलसँग ६५ रन जोडे । पाँचौं नम्बरमा आएका आदिलले २४ बल खेली ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए । नेपालले अन्तिम ६ विकेट ३१ रन बनाउँदा ६ ओभरभित्र गुमाएको थियो । त्यसमा कप्तान सन्दीप लामिछानेले १० बलमा १० रन बनाउनुबाहेक अन्य सबै दोहोरो स्कोर पनि नबनाई आउट भए । अमेरिकाबाट रुस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । अली खान र सौरभ नेत्राभाल्करले २–२ विकेट लिए ।

‘४४ ओभरसम्म ब्याटिङ गरिरहँदा हामीले कम्तीमा ३ सय रन बनाउँछौं भन्नेमा थियौं । त्यसपछि हामी पतन हुन पुग्यौं,’ कप्तान सन्दीप लामिछानेले भने, ‘यो क्षेत्रमा हामीले निकै सुधार गर्नुपर्छ । दोस्रो हाफको आधा पार्टमा हामीले जसरी फिल्डिङ गर्‍यौं त्यसमा म निराश छु । त्यसपछि १–२ विकेट यताउति भएमा खेल जता पनि ढल्किन सक्छ भनेर खेलाडीले मनन गरे ।’

‘हारेको सरह’

नेपालले जसरी ब्याटिङ गरेको थियो र जुन स्कोर बनाएको थियो, त्यसमा नेपालले पक्कै पनि जितको गन्ध पाइसकेको थियो । तर टेलर र पटेलको ब्याटिङले अमेरिकाको जित निश्चित देखिएको अवस्थामा ‘टाई’ मा रोकिएको थियो ।

‘आजको हारमा म केही दुःखी छु, यो टाई खेल हो, तर मलाई यसमा हारको अनुभूति भइरहेको छ,’ अमेरिकाका कप्तान पटेलले भने, ‘हामीले जसरी दोस्रो इनिङ्सको सुरुआत गर्‍यौं, म र टेलरबीचको २ सय रनको साझेदारीले हामीले ४८ वा ४९ औं ओभरभित्र सजिलै जित हात पार्नुपर्ने हो । मेरो र टेलरको विकेट जानु नै निर्णायक बन्यो जस्तो लाग्छ ।’

प्रकाशित : जेष्ठ ३०, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?