नेपाल कुवेतसँग पराजित, अल्मुताइरीको स्थिति सामान्य- खेलकुद - कान्तिपुर समाचार

नेपाल कुवेतसँग पराजित, अल्मुताइरीको स्थिति सामान्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसिया कप छनोट तेस्रो चरणको आफ्नो दोस्रो खेलमा शनिबार कुवेतसँग ४–१ ले पराजित भएको छ । कुवेतमा भइरहेको छनोटमा नेपालमा यो लगातार दोस्रो हार हो । चार टिम सम्मिलित छनोटको अंक तालिकामा नेपाल बिना कुनै अंक अन्तिम स्थानमा रहेको छ । शनिबार रातिकै समूहको अर्को खेलमा जोर्डनले इन्डोनेसियालाई १–० ले हरायो ।

जोर्डन छ अंकसहित शीर्ष स्थानमा छ भने इन्डोनेसिया र कुवेतको समान तीन तीन अंक छ । अब नेपालले छनोटको आफ्नो अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्नेछ । जाबिर अल अहमद स्टेडियममा भएको खेलमा कुवेतका लागि युसेफ अल्सुलिमानले दुई गोल गरे । यस्तै माहद अलेसिदी र मुबारक अल्फानिनीले एक गोल गरे ।

नेपालकातर्फबाट दर्शक गुरुङले एक गोल फर्काए । उनले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गरे । खेलपछि प्रतिक्रिया दिँदै नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले हारका बाबजुद टिमको प्रदर्शनमा खुसी व्यक्त गरे । उनले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘खेल राम्रो रह्यो, दोस्रो हाफमा हामी केही कमजोर रह्यौं । नेपालमा प्रदर्शनमा हामी सन्तुष्ट छौं ।’

खेलको दोस्रो हाफका क्रममा नेपाली टिमको टेक्निकल सेन्टरमा रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अचेत भएर ढलेका थिए र यस क्रममा उनलाई अस्पताल लगिएको थियो । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य छ । मैदानमै प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्

लैंगिक अल्पसंख्यकको गौरव यात्रा

विद्या राई

काठमाडौँ — अपांगता भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियन्ता आदित्य राईले आफूलाई समलिंगी पुरुषका रूपमा पहिचान गरेको एक दशक हुँदै छ । शारीरिक अपांगता भएका उनी काठमाडौंको एक होस्टेलमा थिए । उनमा आफूजस्तै अर्को पुरुषसँग आकर्षित हुने स्वभाव थियो । रेडियो कार्यक्रम सुनेपछि उनी सन् २०१३ मा निलहिरा समाजको कार्यालयमा परामर्श लिन पुगे । उनी त्यतिबेला १८ वर्षका थिए ।

नेपालमा २२ वर्षअघि निलहिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्न थालेदेखि यो समुदायको हकअधिकार र न्याय प्राप्तिको लडाइँ सुरु भएको हो । आदित्यले परामर्शबाट आफू समलिंगी पुरुष भएको थाहा पाए । त्यसयता लैंगिक अल्पसंख्यक समुदाय सम्बद्धले आयोजना गर्दै आएका कार्यक्रममा सहभागी हुन थाले । सन् २०१४ मा गाईजात्राको दिन ठमेलमा आयोजित कार्यक्रममा सहभागी भएर पहिलोपल्ट आफूलाई चिनाए । ‘मेरो स्वभावलाई लिएर होस्टेलमा केटाहरूले नराम्रो शब्दले बोलाउँथे, असाध्यै दुःख लाग्थ्यो,’ उनले सुनाए, ‘जब म ठमेलको त्यो कार्यक्रममा पुगें, हाम्रो समुदायका थुप्रै साथी भेटें, म त अझ अपांगता भएको समलिंगी पुरुष भएकाले अझ खुल्नुपर्छ र हक अधिकारमा लाग्नुपर्छ भन्ने हौसला आएको थियो ।’

उनी अहिले अपांगता भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि निलहिरा समाजकै कर्मचारी भएर काम गर्छन् । ‘रेनबो फेमिली एन्ड फ्रेन्ड्स अफ नेपाल’ मार्फत दिवस र कार्यक्रमको आयोजक हुन्छन् । र्‍यालीहरूमा निस्कँदा पेन्टिङ गर्ने, प्ले कार्ड बनाउने, सजिसजाउको काम गर्छन् । दिवसहरूमा इन्द्रेणी तथा रंगीचंगी पहिरन लगाउँछन् । इन्द्रेणी रङको झन्डा ओढ्छन् ।

निलहिरा समाजले समाजमा खुल्न तथा हक अधिकारका लागि बोल्न हौसला बढाउने उद्देश्यले सन् २०१० देखि गाईजात्राको दिन कार्यक्रम आयोजना गर्दै आएको थियो । त्यस्तै हरेक वर्ष अंग्रेजी जुन महिनालाई ‘प्राइड मन्थ’ (गर्वको महिना अथवा गौरव यात्रा) का रूपमा मनाउने गरिन्छ । यस अवसरमा आयोजना गरिने ‘प्राइड परेड’ जस्ता कार्यक्रमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका युवा साथीहरूलाई परिवार, समाजमा खुल्न, सम्मानजनक व्यवहार बढाउन, दृष्टिकोण फेर्न, राज्यलाई समुदायप्रति दायित्वबोध गराउन धेरै नै सहयोग पुर्‍याएको अधिकारकर्मी भूमिका श्रेष्ठको भनाइ छ । उनी अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आईडब्ल्यूओसी) २०२२’ बाट सम्मानित विश्वभरका १२ साहसी महिलाभित्र पर्छिन् ।

विश्वमा सबैभन्दा पहिले ‘प्राइड परेड’ दिवसलाई अमेरिकामा मनाउन थालिएको थियो । सन् १९७० तिर यौनिक तथा लैंगिक अल्पसंख्यकले दिवस मनाउन थालेका हुन् । नेपालमा जुन केन्द्रित कार्यक्रम नगरिए पनि ऐक्यबद्धता जनाउन एकअर्काबीचमा शुभकामना आदानप्रदान गर्ने अभ्यास निलहिरा समाजले थालेको थियो । सन् २०१९ देखि ‘क्वेर युथ ग्रुप’ र ‘क्वेर राइट्स कलेक्टिभ’ ले ‘प्राइड परेड’ लाई औपचारिक रूपमा मनाउन सुरु गरेका छन् । काठमाडौंमा हरेक वर्ष जुन महिनाको दोस्रो शनिबार समुदायका व्यक्तिहरूको समानता र मर्यादाको लडाइँलाई देखाउन विभिन्न र्‍याली, मार्चपास र कार्यक्रमको आयोजना गर्छन् । ‘हाम्रो ग्रुपले जुनलाई छुट्टै मनाउने चलन थिएन, हामीले सुरु गरेको पनि यो चौथो बर्ष हो, यसकारण ‘प्राइड परेड’ नेपालका लागि नयाँ नै हो,’ क्वेर युथ ग्रुपकी कार्यकारी निर्देशक रुक्सना कपालीले भनिन्, ‘यसले हाम्रो ‘भिजिबिलिटी’ बढेको छ, युवाहरूमा उत्साह र हौसला जगाएको छ ।’

जुन महिनाभर नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमात्रै नभएर अन्यले पनि ऐक्यबद्धता जनाउँदै इन्द्रेणी रङको झन्डा फहराउने, शुभकामना आदानप्रदान गर्ने, सामूहिक कार्यक्रम आयोजना गर्ने अभ्यास सुरु भएको छ । ‘खुल्नका लागि हरेक दिनै मनाएको राम्रो हो, वर्षमा एक महिना भए पनि ऐक्यबद्धता जनाइनुले हामी चिनिन र समाजमा खुल्न पाइरहेको छौं,’ यस समुदायका अभियन्ता अनुज पिटर राई भन्छन्, ‘पहिले हामीलाई देख्न सुन्नै नचाहने हुन्थ्यो भने पछिल्ला वर्षमा सबैको जिज्ञासा र प्राथमिकतामा पर्दै गएका छौं ।’

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दिवसीय कार्यक्रमका तस्बिर, भिडियो देखेर काठमाडौं तथा बाहिर पहिचान लुकाएर बसेका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई परिवार, साथीभाइ र समाजमा खुल्न सहजता थपेको छ । ‘काठमाडौंमै पनि कति साथी हेल्मेट लगाएर घरबाट दर्शकजसो भएर कार्यक्रममा सहभागी हुनुहुन्छ, भलाकुसारी गर्नुहुन्छ, सुखदुःख साट्नुहुन्छ,’ आदित्यले भने ।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समाजमा पहिचानसहित खुल्न र समाजले स्विकार्न थाले पनि राज्यको नीति, कार्यक्रम तथा योजनामा नपर्दा अधिकार प्राप्तिको संघर्ष निरन्तर चलिरहेको छ । सरकारसँग यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको यकिन तथ्यांक छैन । तर नेपालमा यो समुदायको जनसंख्या नौ लाख हाराहारी रहेको निलहिरा समाजको आकलन छ । बजेट भाषणमा नियमित नसमेटिने, लैंगिक पहिचानअनुसारको जन्मदर्ता, नागरिकता जस्ता सरकारी प्रमाणपत्र सहजै नपाउने, विवाहले कानुनी मान्यता नपाउने, बलात्कारलगायत यौनजन्य हिंसा तथा दुर्व्यवहारविरुद्धका कानुनमा नसमेटिँदा न्याय पाउन गाह्रो भइरहेको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् ।

‘जोडीहरूमा हिंसा कति छन् कति, कानुनको अभावले न्याय पाउँदैनन्, उजुरी लिने निकायले तिमीहरूलाई केको बलात्कार, केको हिंसा भनेर उल्टै गिज्याउँछ,’ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितमा काम गर्ने समावेशी मञ्च नेपालका अध्यक्ष बद्री पुनले भने । राज्यका अवसरमा विभेद भइरहँदा राजनीतिक दलले घोषणापत्र र विधानमा समेटेर जानुपर्ने उनको भनाइ छ ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका घोषणापत्रमा आफूहरूको सवाल समेट्न आग्रह गरे पनि कांग्रेस, नेकपा एकीकृत समाजवादी र विवेकशील साझा पार्टीले मात्रै समेटेको उनले बताए । ‘पार्टीहरूले हामीलाई घोषणापत्रमा राख्दैनन्, पहिचानसहित चुनाव उठ्छु भन्ने वातावरण छैन, स्थानीय चुनावमा पुरुषको नागरिकताबाट एक जना वडा सदस्य, महिलाको नागरिकताबाट एक जना गाउँपालिका उपाध्यक्ष भएका छन्, यस्तो भएपछि हामीले कसरी राजनीतिक अधिकार पाउँछौं ?’ उनले भने ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×