कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाल–अमेरिकाको नाटकीय ‘टाई’

ह्युस्टन, अमेरिका — ‘डेब्यु’ गरिरहेका मोहम्मद आदिल आलमले अन्तिम ओभरमा सानदार बलिङ गरेपछि नेपाल र अमेरिकाबीच आईसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेटको खेल नाटकीय रुपमा ‘टाई’ मा टुंगिएको छ । दुवै टोलीले १–१ अंक पाएका छन् ।

नेपाल–अमेरिकाको नाटकीय ‘टाई’

अन्तिम ओभरमा अमेरिकालाई विजयका निम्ती ६ रनको आवश्यक्ता थियो र टोलीसँग ६ विकेट सुरक्षित थियो । पहिलो तीन बलमा १–१ रनमात्र दिएका आदिलले चौथो बलमा नो बल गर्न पुगेका थिए । चौथो आधिकारिक बलमा १ रनमात्र दिएका आदिलले पाँचौं बलमा आरोन जोन्सलाई आउट गरे । रोहित पौडेलले डिप मिड विकेटमा सानदार क्याच लिँदै जोन्सलाई आउट गरे ।

स्कोर बराबर भएको अवस्थामा खेलका अन्तिम बलमा राहुल जारिवालालाई रनआउट गर्दै नेपालले हातबाट गुमिसकेको खेलबाट १ अंक ल्याउन सफल भयो । करण केसीको थ्रोमा दीपेन्द्रले रनआउट गरे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अलआउट भयो । ओपनर आसिफ शेखसहित देव खनाल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपाल २ मा आफ्नो उच्च स्कोर बनाउन सफल भयो । एक दिवसीय अन्तर्राष्ट्रियमै नेपालले आफ्नो यो तेस्रो उच्च स्कोर हो ।

मार्चको अन्तिम सातामा नेपालले पपुवा न्यु गिनीविरुद्ध कीर्तिपुरमा क्रमश: २ सय ८६ र २ सय ७८ रन बनाए पनि पराजय भोगेको थियो । अमेरिका भ्रमणमा लिग २ को त्रिकोणात्मक शृंखलामा बिहीबारमात्र २ सय १२ रनको लक्ष्य लिएर आएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै अलआउट भएपछि ओमानसँग १३ रनले पराजित भएको थियो ।

स्टेभन टेलर र मोनांक पटेलले सानदार ब्याटिङ गर्दै अमेरिकालाई जितको नजिक पुऱ्याएका थिए । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक २ सय ५७ रनभन्दा माथिको विजय लक्ष्य नजिक पुगेको अवस्थामा अन्तिम ओभरको खेलले नतिजा नाटकीय बनेको थियो ।

मोनांक ७ रनमा भएको समयमा कुशल भुर्तेलले क्याच छाड्न पुगेको थिए । घाइते कुशलको स्थानमा आएका सागर ढकालले टेलर रनमा हुँदा लङ अन बाउन्ड्री लाइनमा क्याच फुत्काएका थिए । त्यसपछि रोहितले पनि एउटा क्याच जज गर्न सकेनन् ।

नेपालले अमेरिकासँग २०१३ मा बर्मुडा भ्रमणमा विश्व क्रिकेट लिग डिभिजन ३ मा खेल्दा टेलरले १ सय २ बलमा समान १२ चौका र १२ छक्का प्रहार गर्दै १ सय ६२ रन बनाएका थिए । यसपटक टेलरले एकदिवसीय अन्तर्राष्ट्रियमै पहिलो शतक बनाएका हुन् । उनले १ सय २३ बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे । उनलाई मोहम्मद आदिल अलामले आउट गरे ।


टेलर र पटेलले दोस्रो विकेटमा २ सय रनको मजबुत साझेदारी गरे । पटेलले १ सय १५ बल खेली ८५ रन बनाउनेक्रममा ४ चौका र २ छक्का प्रहार गरे । आदिलले गजानन्द सिंहलाई ३ रनमा बोल्ड गरे ।


यसअघि आसिफले कुशलसँग मिलेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले १२ ओभर भित्र पहिलो विकेटमा ५६ रन जोडे । पहिलो स्पिनरको रुपमा आएका निसर्ग पटेललाई रिभर्स स्विप गर्नेक्रममा कुशल बोल्ड भएका थिए । आसिफले ७० बल खेली ६ चौकासहित ६१ रन बनाए । कुशल र आसिफ दुवैले चोटका कारण ओमानसँगको अघिल्लो खेल गुमाएका थिए ।


आसिफले कुशल र देव खनालसँग दुई अर्धशतकीय साझेदारी गरे । आसिफले देव खनालसँग मिलेर दोस्रो विकेटमा ६२ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो चौथो खेल खेलिरहेका देवले ५४ रन बनाए । उनले ६९ बल खेली ३ चौका प्रहार गरे । देव र उपकप्तान रोहित पनि दुई अर्धशतकीय साझेदारीमा समावेश रहे ।


देवले आसिफ र रोहितसँग तथा रोहितले ‘डेब्यु’ गरिरहेका मोहम्मद आदिल आलमसँग अर्धशतकीय साझेदारी गरेका थिए । देवले रोहितसँग तेस्रो विकेटमा ६० रन जोडे । रोहितले ७२ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ६२ रन बनाउदै आदिलसँग ६५ रन जोडे । पाँचौं नम्बरमा आएका आदिलले २४ बल खेली ३ चौका र २ छक्का प्रहा गर्दै ३६ रन बनाए ।

नेपालले अन्तिम ६ विकेट ३१ रन बनाउँदा ६ ओभर भित्र गुमाएको थियो । त्यसमा कप्तान सन्दीप लामिछानेले १० बलम १० रन बनाउनु बाहेक अन्य सबै दोहोरो स्कोर पनि नबनाई आउट भए । अमेरिकाबाट रुस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । अली खान र सौरभ नेत्राभाल्करले २–२ विकेट लिए ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?