मनसुनमा व्यस्त नेपालको अन्तर्राष्ट्रिय क्रिकेट- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनसुनमा व्यस्त नेपालको अन्तर्राष्ट्रिय क्रिकेट

कान्तिपुर संवाददाता

ह्युस्टन, अमेरिका — जेठको अन्तिम सातासँगै सुरु मनसुनका कारण घरेलु मैदानमा नेपाली क्रिकेट आगामी चार महिनासम्म ठप्प हुनेछ । तर यही समय अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपाल चलायमन हुनेछ । नेपालले प्रमुख प्रतियोगिताहरू र शृंखलामा प्रतिस्पर्धा गर्नेछ ।

ओमानसँग ह्युस्टनमा आईसीसी विश्वकप क्रिकेट लिग २ मा प्रतिस्पर्धा गरेसँगै नेपालको दुई महिनाको व्यस्त सत्र सुरु भएको हो । अमेरिका आएर नेपालले दुई अभ्यास र लिग २ को एक खेल खेलिसकेको छ भने ६ सातामा नेपालले अमेरिकाबाहेक क्यानडा र स्कटल्यान्ड भ्रमण गर्नेछ ।

अमेरिकामा भइरहेको लिग २ नेपालको चौथो शृंखला हो । लिग २ मा सहभागी ७ टोलीले ९ शृंखला अर्थात ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने प्रावधान छ । फेब्रुअरीसम्म लिग २ का खेलहरू सिध्याउनुपर्नेछ । तर, कोभिड–१९ महामारीका कारण प्रभावित लिग २ मा नेपालले आफ्नो सबै शृंखला खेल्ने सम्भावना निकै कम देखिन्छ ।

ह्युस्टनमा अमेरिका र ओमानसँग २–२ खेल खेलेपछि नेपाली टोली काठमाडौं फर्किने छ । तीन दिनको विश्रामपछि नेपाली टोली पुनः उत्तर अमेरिकाको यात्रामा आउने छ । नेपालले क्यानडासँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न प्रस्ताव गरेको थियो । भिसा प्रकृया पुरा भएमा नेपालले द्धीपक्षीय शृंखलामा क्यानडासँग उनीहरूको मैदानमा खेल्नुअघि एक अभ्यास खेल पनि खेल्नेछ ।

भिसा प्रक्रियाको झमेलामा परेपछि नेपाली टोलीले लामो यात्रा तय गर्नुपरेको हो । दुई महिनाअघि लिग २ का लागि अमेरिका आउने भएपछि नेपालले क्यानडामा तयारी गर्ने योजना बनाएको थियो । तर, अमेरिका आउने बेलासम्म क्यानडाको भिसा नभएकाले नेपाली टोली पुनः काठमाडौं फर्किएर क्यानडा जान लागेको हो ।

नेपाली टोलीको पहिलो प्रस्तावित योजनामा क्यानडा हुँदै अमेरिका आएर लिग २ को अर्को शृंखला खेल्न स्कटल्यान्ड जाने तयारी थियो । अब नेपाली टोली क्यानडाबाट जुलाई ८ मा सोझै स्कटल्यान्ड पुग्ने छ । स्कटल्यान्डमा नेपालले लिग २ को आफ्नो पाँचौं शृंखलामा स्कटल्यान्ड र नामिबियासँग २–२ खेल खेल्ने छ । स्कटल्यान्ड पुग्नुअघि नेपालले लर्डसमा मेरिलेबोन क्रिकेट क्लबसँग खेल्ने कार्यक्रम बने पनि त्यो हाललाई स्थगित भइसकेको छ ।

‘हामीले आउँदो दुई महिना धेरै म्याच खेलिरहेका हुन्छौं र यो चुनौतीपूर्ण पनि छ । किनभने हामी यो अवधिमा निकै फरक कन्डिसनमा खेलिरहेका छौं । अमेरिकामा जस्तै स्कटल्यान्डमा पनि कन्डिसन फरक छ,’ नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘राष्ट्रिय खेलाडी भएपछि जुनै पनि कन्डिसनमा खेल्न सक्नुपर्छ भनेर मैले भन्दै आएको छु । त्यसैका लागि राष्ट्रिय खेलाडीहरू बनेका हुन्छन् भनेर उनीहरूले दिमागमा राख्नुपर्छ ।’

नेपालका लागि यी तीन महत्त्वपूर्ण शृंखला सहज नहुने अमेरिका भ्रमणको सुरुआतमै देखिइसकिएको छ । ओपनिङ ब्याटरद्वय आसिफ शेख पहिलो र कुशल भुर्तेल दोस्रो अभ्यास खेलमा घाइते भएपछि बन्द प्रशिक्षणमा नरहेका सुवास खकुरेललाई नेपालबाट झिकाइएको छ ।

अमेरिका, क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीको भिसा आवेदन गरेको छ । तिनै २० जनाले यो तीन भ्रमणमा खेल्नुपर्ने हुन्छ । मध्यम गतिका बलर विक्रम सोब काठमाडौंमै घाइते भएपछि उनको स्थानमा देब्रेहाते स्पिनर सुसन भारी अमेरिका आएका थिए । आसिफ र कुशल पनि घाइते भइसकेको अवस्थामा नेपालसँग विकल्प कम हुँदै आएको छ ।

नेपाली टोलीको बन्द प्रशिक्षणमा नरहे पनि अमेरिकाको भिसा यसअघि नै रहेका कारण सुवासले ह्युस्टन यात्राको मौका पाएका हुन् । यहाँ उनले सानदार प्रदर्शन दिए पनि भिसा नभएका कारण क्यानडा र स्कटल्यान्डमा जान पाउने छैनन् । सीमित खेलाडी रहेका कारण चोटबाट बच्नु पनि नेपालसामु अर्को चुनौती छ ।

नेपाली टोलीमा युवा खेलाडी बाहुल्य छ । मध्यम गतिका बलर किशोर महतो आधिकारिक खेलमा ‘डेब्यु’ को प्रतीक्षामा छन् । त्यस्तै ब्याटर देव खनालले दुई महिनाअघि पपुवा न्युगिनीसँगको शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा पाइला टेकेका थिए । त्यसको केही अघिमात्र स्पिनर सागर ढकालले दुबईमा एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

‘यो युवा टोली हो र हामी के चाहन्छौं त्यसअनुरुप उनीहरूलाई ढाल्न सहज हुन्छ । नेपाली टोलीमा पर्याप्त प्रतिभा छ, मात्र चुनौतीको सामना गर्न सही दिशामा उन्मुख गराउनुपर्छ,’ दासानायकेले दुईमहिने व्यस्त तालिकाबारे भने, ‘अबको दुई शृंखलामा कस्तो प्रदर्शन हुन्छ हेर्नु छ, हामीले चाहेजस्तो भएन भने चुनौती हुन्छ । तर युवा खेलाडी क्षमतावान छन् र हामी त्यसका लागि तयार छौं ।’

प्रकाशित : जेष्ठ २८, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्

जति नजिक, उति टाढा

‘नेपालसँग खेल्दा कुनै पनि टोलीले असाधारण हिसाबमा जित्न सकेका छैनन्, हामीले नै केही गल्ती गरेर उनीहरूले जितेका छन्’
विनोद पाण्डे, तस्बिर : हेमन्त श्रेष्ठ

ह्युस्टन, अमेरिका — जति नजिक, उति टाढा । नेपालका लागि आईसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेटका केही नतिजा यस्तै भएका छन् । विशेष गरी सामान्य जस्तो देखिने लक्ष्यमा ब्याटिङ पतन भएपछि नेपालले जित नजिक पुगेर नतिजा सुम्पने गरेको छ ।

ओमानको विकेट लिएपछि नेपाली खेलाडी खुसी साट्दै।

लिग २ मा आफ्नो चौथो शृंखलाको पहिलो खेलमा नेपालले फेरि यस्तै नतिजा भोगेको छ । २ सय १२ रनको लक्ष्य पाएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै अलआउट भएपछि नेपाल बिहीबार ह्युस्टनमा लिग २ को शीर्ष टोली ओमानसँग १३ रनले पराजित भयो । अर्थात नेपालका लागि यस्ता सानो लक्ष्य जति नजिक देखिएको छ, त्यति टाढा बन्दै गएको छ ।

सन् २०२० को फेब्रुअरीमा लिग २ मा ओमानविरुद्ध नै आफ्नो पहिलो खेलदेखि नै नेपाल मध्यम खाले लक्ष्य लोभिएर फस्ने गरेको छ । दुई वर्षअघि कीर्तिपुर मैदानमा १ सय ८० रनको लक्ष्य पाउँदा नेपाल शरद भेषावकरको अर्धशतकका बावजुद १ सय ७९ रनमै अलआउट भयो ।

तीन महिनाअघिमात्र यूएईसँग दुबईमा नेपालले दुवै खेलमा यस्तै नतिजा भोग्नुपर्‍यो । पहिलो खेलमा यूएईलाई १ सय ६८ रनमा रोके पनि नेपाल १ सय २० रनमा अलआउट हुन पुगेको थियो । यूएईसँगको दोस्रो खेलमा नेपालले यही नतिजा दोहोर्‍यायो । यूएईले छाडेको २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ३ रनमै अलआउट भयो ।

‘नेपालसँग खेल्दा कुनै पनि टोलीले असाधारण हिसाबमा जित्न सकेका छैनन्, हामीले नै केही गल्ती गरेर उनीहरूले जितेका छन् । जबसम्म हामी आफ्नो गल्ती सुधार्न सक्दैनौं, तबसम्म नतिजा यस्तै नै रहनेछ,’ कप्तान सन्दीप लामिछानेले ओमानसँगको खेलपछि निराशा पोखे, ‘पछिल्ला दुई शृंखलादेखि हाम्रो ब्याटिङ चलिरहेको छैन भन्दै आएका छौं, तर अझै हामीलाई ब्याटिङमै विश्वास छ । यो विश्वास खेलमा देखाउनुपर्‍यो ।’

उनले भने, ‘ब्याटिङको असफलताका कारण हामीले यो लक्ष्य पूराा गर्न सकेनौं । यूएईसँगको खेलमा दुई पटक र अहिले ओमानसँगको खेलमा एक पटक जित्ने राम्रो मौका पनि गुमाउन पुग्यौं । यो तीन हारले अंकतालिकामा ठूलो फेरबदल गर्न सक्छ । पहिला फिल्डिङ गरिसकेको तथा सबै कन्डिसन थाहा भइसके पनि ब्याटिङका कारण हामी चुक्न पुग्यौं ।’

निराशाजनक ब्याटिङ

नेपाललाई अन्तिम ओभरमा विजयनिम्ति १४ रन चाहिन्थ्यो । तर मोसा क्रिकेट मैदानमा पहिलो तीन बलमा कुनै रन बनाउन नसकेका आरिफ शेखलाई बिलाल खानले एलबीडब्लू आउट गरी नाटकीय खेलमा ओमानलाई विजय दिलाए । उनै आरिफको ६६ रनमा नेपालले खेल अन्तिम ओभरसम्म लम्ब्याएको थियो । आरिफको एकदिवसीय अन्तर्राष्ट्रियमा यो उच्च स्कोर पनि हो । उनले ७९ बल खेल्दा ६ चौका प्रहार गरे ।

नियमित दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भई विकल्पमा काठमाडौंबाट झिकाइएका सुवास खकुरेल ३ रनमै आउट भएपछि नेपाली ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो । अर्का ओपनर सुनील धमला पनि खुलेर खेल्न सकेनन् । उनी ३८ बल खेलेर १२ रनमै आउट भए ।

अमेरिकामा रहेका नेपाली मैदान पुगेर नेपाली टिमलाई हौसला प्रदान गर्दै।

देव खनाल र रोहित पौडेल राम्रो लयमा देखिए पनि दुवैले आफ्नो विकेट फाल्न पुगे । देवले ५३ बलमा ५ चौकासहित ३४ र उपकप्तान रोहितले १७ बलमा ३ चौकासहित २० रन प्रहार गरे । दीपेन्द्रसिंह ऐरी १६, विनोद भण्डारी १४, करण केसी ८, सोमपाल कामी १३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए । ओमानका कप्तान जेसन मक्सुद पुरै छाए । उनले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । उनकै उत्कृष्ट क्याचमा दीपेन्द्र पेभेलियन फर्किए । विनोदले ४६ बल खेले पनि कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

‘साझेदारी भइरहेको समयमा विकेटहरू गुमाउन पुग्यौं र नयाँ ब्याटरले विकेटमा जम्न समय लिन लाग्यौं । केही विकेटहरू हामीले आफैं गुमाउन पुगेका थियौं । जुन बेलामा साझेदारी र रनरेट चाहिएको थियो, त्यो बेलामा हामी ठ्याक्कै उल्टो गरिरहेका थियौं । डट बल प्रतिशत पनि अलिक धेरै नै भयो, त्यसले पनि प्रभाव पयो,’ सन्दीपले ब्याटिङप्रति दोष थोपर्दै भने, ‘हाम्रो युवा टोली छ, केही असमझदारी पनि हुनसक्छ । यस्तो मौका फेरि नआउन सक्छ । २ सय १२ रनको लक्ष्य पनि पूरा गर्न सक्दैनौं भने त्यसमा कुनै एकको गल्ती हुँदैन । यो ब्याटिङमा पूर्ण असफलताकै कारण हो ।’

मक्सुदको एकल प्रदर्शन

टस जितेर ब्याटिङ गरेको ओमानलाई नेपालले २११–८ को स्कोरमा रोकेको थियो । मक्सुदले अविजित १ सय ४ रन बनाउँदै ओमानको इनिङ्स उकासेका थिए । ओमान २५ ओभरमा ८६–५ को स्थितिमा पुगेको थियो । मक्सुदले धैर्यपूर्वक खेल्दै १ सय २६ बलमा १२ चौका प्रहार गरे ।

इनिङ्सको दोस्रो अन्तिम बलमा चौका प्रहार गर्दै मक्सुदले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक बनाए । यसअघि उनले २०२० को फेब्रुअरीमा कीर्तिपुर मैदानमा अमेरिकाविरुद्ध १ सय ९ रन बनाएका थिए । मक्सुदको तारिफमा सन्दीपले भने, ‘जेसनले जसरी खेले त्यो मैले देखेकोमा अहिलेसम्मकै उत्कृष्ट इनिङ्समध्ये एक थियो । हाम्रो लक्ष्य ओमानलाई १८० देखि १९० रनसम्म रोक्ने थियो, तर अन्तिम १० ओभरमा जसरी फिल्डिङ गर्‍यौं, त्यो दुर्भाग्यपूर्ण नै थियो ।’

खाबर अलीले ६३ बल खेली ३ चौकासहित ३०, शोएब खानले ४९ बलमा४ चौकासहित २७ रन बनाए । मक्सुदको सानदार शतक र ओमानको जितका कारण नेपालका करण केसीको ५ विकेट ओझेल पर्‍यो । करणले सानदार बलिङपछि ओमानको ब्याटिङ खुल्न सकेको थिएन । करणले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएका थिए । करणले एकदिवसीय अन्तर्राष्ट्रियमा ५ विकेट लिएको यो पहिलो अवसर हो । यो नेपाली बलरको एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो उत्कृष्ट प्रदर्शन हो । उनले खेलको पहिलो बलमै कश्यप प्रजापतीलाई एलबीडब्लू आउट गरे । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ र सोमपाल कामीले एक विकेट लिए ।

‘ब्याटिङ नचले पनि यस खेलबाट धेरै लिन सकिन्छ, जस्तै करण दाइको ५ विकेट, आरिफ दाइले जसरी खेल्नुभयो,’ सन्दीपले भने, ‘यसबाट आगामी खेलमा अरूले पनि प्रेरणा लिन सक्यौं भने र अलिकति सुधार गर्न सक्यौं भने निश्चय पनि जित्ने छौं ।’

मलाई हार मनपर्दैन : सन्दीप

लिग २ का १३ खेलमा नेपालको यो सातौं हार हो । यसले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइ राख्ने नेपालको सम्भावना कठिन बनाउँदै लगेको छ । लिग २ को शीर्ष तीन टोली जुलाईमा हुने विश्वकप छनोटमा पुग्छन् भने त्यसपछिका थप दुई टोलीले एकदिवसीय मान्यता जोगाइराख्छन् । नेपाल १२ अंकसहित छैटौं स्थानमा छ ।


‘हामी विश्वकप छनोटमा पुग्न लायक टिम छौं । सबैले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउ भनेर भनिरहेका छन्, मेरो भिजन अर्कै छ । म विश्वकप खेल्न चाहन्छु । विश्वकप खेल्यौं भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रहने भइहाल्यो । त्यसको ५ वर्षसम्म हाम्रो क्रिकेट जिउँदो नै हुनेछ । यो उद्देश्य नै लिँदैनौं भने त्यो आत्मविश्वास आउँदैन,’ लिग २ को अंकतालिकामा नेपाल जहाँ छ, सन्दीप त्यसभन्दा धेरै माथि नै सोच्छन् ।

नेपालले फेब्रुअरीमा ओमानमै ट्वान्टी–२० विश्वकप छनोटको सेरोफेरोमा ओमानमाथि लगातार तीन जित हात पारेको थियो । तर लिग २ का ५ खेलमा ओमानले नेपाललाई चारपल्ट पराजित गरिसकेको छ ।

‘एउटा कप्तानको रूपमा भन्नुपर्दा हाम्रो टोलीमा उच्च क्षमताका खेलाडीहरू छन् । हामीले आफ्नो क्षमताअनुसार त्यसको आधामात्र खेल्यौं भने धेरै पनि परिवर्तन हुन्छ । नेपाली टोली परीक्षण कालमा छ तर हामीसँग परीक्षणका लागि धेरै समय छैन,’ सन्दीपले भने, ‘म जहिल्यै पनि जित्न चाहन्छु, मलाई पराजय स्वीकार्य छैन । बारम्बार हामी खाली त्यही एउटा कारण दिएर पन्छिन सक्दैनौं ।’

प्रकाशित : जेष्ठ २८, २०७९ ०७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×