जति नजिक, उति टाढा- खेलकुद - कान्तिपुर समाचार

जति नजिक, उति टाढा

‘नेपालसँग खेल्दा कुनै पनि टोलीले असाधारण हिसाबमा जित्न सकेका छैनन्, हामीले नै केही गल्ती गरेर उनीहरूले जितेका छन्’
विनोद पाण्डे, तस्बिर : हेमन्त श्रेष्ठ

ह्युस्टन, अमेरिका — जति नजिक, उति टाढा । नेपालका लागि आईसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेटका केही नतिजा यस्तै भएका छन् । विशेष गरी सामान्य जस्तो देखिने लक्ष्यमा ब्याटिङ पतन भएपछि नेपालले जित नजिक पुगेर नतिजा सुम्पने गरेको छ ।

लिग २ मा आफ्नो चौथो शृंखलाको पहिलो खेलमा नेपालले फेरि यस्तै नतिजा भोगेको छ । २ सय १२ रनको लक्ष्य पाएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै अलआउट भएपछि नेपाल बिहीबार ह्युस्टनमा लिग २ को शीर्ष टोली ओमानसँग १३ रनले पराजित भयो । अर्थात नेपालका लागि यस्ता सानो लक्ष्य जति नजिक देखिएको छ, त्यति टाढा बन्दै गएको छ ।

सन् २०२० को फेब्रुअरीमा लिग २ मा ओमानविरुद्ध नै आफ्नो पहिलो खेलदेखि नै नेपाल मध्यम खाले लक्ष्य लोभिएर फस्ने गरेको छ । दुई वर्षअघि कीर्तिपुर मैदानमा १ सय ८० रनको लक्ष्य पाउँदा नेपाल शरद भेषावकरको अर्धशतकका बावजुद १ सय ७९ रनमै अलआउट भयो ।

तीन महिनाअघिमात्र यूएईसँग दुबईमा नेपालले दुवै खेलमा यस्तै नतिजा भोग्नुपर्‍यो । पहिलो खेलमा यूएईलाई १ सय ६८ रनमा रोके पनि नेपाल १ सय २० रनमा अलआउट हुन पुगेको थियो । यूएईसँगको दोस्रो खेलमा नेपालले यही नतिजा दोहोर्‍यायो । यूएईले छाडेको २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ३ रनमै अलआउट भयो ।

‘नेपालसँग खेल्दा कुनै पनि टोलीले असाधारण हिसाबमा जित्न सकेका छैनन्, हामीले नै केही गल्ती गरेर उनीहरूले जितेका छन् । जबसम्म हामी आफ्नो गल्ती सुधार्न सक्दैनौं, तबसम्म नतिजा यस्तै नै रहनेछ,’ कप्तान सन्दीप लामिछानेले ओमानसँगको खेलपछि निराशा पोखे, ‘पछिल्ला दुई शृंखलादेखि हाम्रो ब्याटिङ चलिरहेको छैन भन्दै आएका छौं, तर अझै हामीलाई ब्याटिङमै विश्वास छ । यो विश्वास खेलमा देखाउनुपर्‍यो ।’

उनले भने, ‘ब्याटिङको असफलताका कारण हामीले यो लक्ष्य पूराा गर्न सकेनौं । यूएईसँगको खेलमा दुई पटक र अहिले ओमानसँगको खेलमा एक पटक जित्ने राम्रो मौका पनि गुमाउन पुग्यौं । यो तीन हारले अंकतालिकामा ठूलो फेरबदल गर्न सक्छ । पहिला फिल्डिङ गरिसकेको तथा सबै कन्डिसन थाहा भइसके पनि ब्याटिङका कारण हामी चुक्न पुग्यौं ।’

निराशाजनक ब्याटिङ

नेपाललाई अन्तिम ओभरमा विजयनिम्ति १४ रन चाहिन्थ्यो । तर मोसा क्रिकेट मैदानमा पहिलो तीन बलमा कुनै रन बनाउन नसकेका आरिफ शेखलाई बिलाल खानले एलबीडब्लू आउट गरी नाटकीय खेलमा ओमानलाई विजय दिलाए । उनै आरिफको ६६ रनमा नेपालले खेल अन्तिम ओभरसम्म लम्ब्याएको थियो । आरिफको एकदिवसीय अन्तर्राष्ट्रियमा यो उच्च स्कोर पनि हो । उनले ७९ बल खेल्दा ६ चौका प्रहार गरे ।

नियमित दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भई विकल्पमा काठमाडौंबाट झिकाइएका सुवास खकुरेल ३ रनमै आउट भएपछि नेपाली ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो । अर्का ओपनर सुनील धमला पनि खुलेर खेल्न सकेनन् । उनी ३८ बल खेलेर १२ रनमै आउट भए ।

अमेरिकामा रहेका नेपाली मैदान पुगेर नेपाली टिमलाई हौसला प्रदान गर्दै।

देव खनाल र रोहित पौडेल राम्रो लयमा देखिए पनि दुवैले आफ्नो विकेट फाल्न पुगे । देवले ५३ बलमा ५ चौकासहित ३४ र उपकप्तान रोहितले १७ बलमा ३ चौकासहित २० रन प्रहार गरे । दीपेन्द्रसिंह ऐरी १६, विनोद भण्डारी १४, करण केसी ८, सोमपाल कामी १३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए । ओमानका कप्तान जेसन मक्सुद पुरै छाए । उनले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । उनकै उत्कृष्ट क्याचमा दीपेन्द्र पेभेलियन फर्किए । विनोदले ४६ बल खेले पनि कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

‘साझेदारी भइरहेको समयमा विकेटहरू गुमाउन पुग्यौं र नयाँ ब्याटरले विकेटमा जम्न समय लिन लाग्यौं । केही विकेटहरू हामीले आफैं गुमाउन पुगेका थियौं । जुन बेलामा साझेदारी र रनरेट चाहिएको थियो, त्यो बेलामा हामी ठ्याक्कै उल्टो गरिरहेका थियौं । डट बल प्रतिशत पनि अलिक धेरै नै भयो, त्यसले पनि प्रभाव पयो,’ सन्दीपले ब्याटिङप्रति दोष थोपर्दै भने, ‘हाम्रो युवा टोली छ, केही असमझदारी पनि हुनसक्छ । यस्तो मौका फेरि नआउन सक्छ । २ सय १२ रनको लक्ष्य पनि पूरा गर्न सक्दैनौं भने त्यसमा कुनै एकको गल्ती हुँदैन । यो ब्याटिङमा पूर्ण असफलताकै कारण हो ।’

मक्सुदको एकल प्रदर्शन

टस जितेर ब्याटिङ गरेको ओमानलाई नेपालले २११–८ को स्कोरमा रोकेको थियो । मक्सुदले अविजित १ सय ४ रन बनाउँदै ओमानको इनिङ्स उकासेका थिए । ओमान २५ ओभरमा ८६–५ को स्थितिमा पुगेको थियो । मक्सुदले धैर्यपूर्वक खेल्दै १ सय २६ बलमा १२ चौका प्रहार गरे ।

इनिङ्सको दोस्रो अन्तिम बलमा चौका प्रहार गर्दै मक्सुदले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक बनाए । यसअघि उनले २०२० को फेब्रुअरीमा कीर्तिपुर मैदानमा अमेरिकाविरुद्ध १ सय ९ रन बनाएका थिए । मक्सुदको तारिफमा सन्दीपले भने, ‘जेसनले जसरी खेले त्यो मैले देखेकोमा अहिलेसम्मकै उत्कृष्ट इनिङ्समध्ये एक थियो । हाम्रो लक्ष्य ओमानलाई १८० देखि १९० रनसम्म रोक्ने थियो, तर अन्तिम १० ओभरमा जसरी फिल्डिङ गर्‍यौं, त्यो दुर्भाग्यपूर्ण नै थियो ।’

खाबर अलीले ६३ बल खेली ३ चौकासहित ३०, शोएब खानले ४९ बलमा४ चौकासहित २७ रन बनाए । मक्सुदको सानदार शतक र ओमानको जितका कारण नेपालका करण केसीको ५ विकेट ओझेल पर्‍यो । करणले सानदार बलिङपछि ओमानको ब्याटिङ खुल्न सकेको थिएन । करणले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएका थिए । करणले एकदिवसीय अन्तर्राष्ट्रियमा ५ विकेट लिएको यो पहिलो अवसर हो । यो नेपाली बलरको एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो उत्कृष्ट प्रदर्शन हो । उनले खेलको पहिलो बलमै कश्यप प्रजापतीलाई एलबीडब्लू आउट गरे । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ र सोमपाल कामीले एक विकेट लिए ।

‘ब्याटिङ नचले पनि यस खेलबाट धेरै लिन सकिन्छ, जस्तै करण दाइको ५ विकेट, आरिफ दाइले जसरी खेल्नुभयो,’ सन्दीपले भने, ‘यसबाट आगामी खेलमा अरूले पनि प्रेरणा लिन सक्यौं भने र अलिकति सुधार गर्न सक्यौं भने निश्चय पनि जित्ने छौं ।’

मलाई हार मनपर्दैन : सन्दीप

लिग २ का १३ खेलमा नेपालको यो सातौं हार हो । यसले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइ राख्ने नेपालको सम्भावना कठिन बनाउँदै लगेको छ । लिग २ को शीर्ष तीन टोली जुलाईमा हुने विश्वकप छनोटमा पुग्छन् भने त्यसपछिका थप दुई टोलीले एकदिवसीय मान्यता जोगाइराख्छन् । नेपाल १२ अंकसहित छैटौं स्थानमा छ ।


‘हामी विश्वकप छनोटमा पुग्न लायक टिम छौं । सबैले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउ भनेर भनिरहेका छन्, मेरो भिजन अर्कै छ । म विश्वकप खेल्न चाहन्छु । विश्वकप खेल्यौं भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रहने भइहाल्यो । त्यसको ५ वर्षसम्म हाम्रो क्रिकेट जिउँदो नै हुनेछ । यो उद्देश्य नै लिँदैनौं भने त्यो आत्मविश्वास आउँदैन,’ लिग २ को अंकतालिकामा नेपाल जहाँ छ, सन्दीप त्यसभन्दा धेरै माथि नै सोच्छन् ।

नेपालले फेब्रुअरीमा ओमानमै ट्वान्टी–२० विश्वकप छनोटको सेरोफेरोमा ओमानमाथि लगातार तीन जित हात पारेको थियो । तर लिग २ का ५ खेलमा ओमानले नेपाललाई चारपल्ट पराजित गरिसकेको छ ।

‘एउटा कप्तानको रूपमा भन्नुपर्दा हाम्रो टोलीमा उच्च क्षमताका खेलाडीहरू छन् । हामीले आफ्नो क्षमताअनुसार त्यसको आधामात्र खेल्यौं भने धेरै पनि परिवर्तन हुन्छ । नेपाली टोली परीक्षण कालमा छ तर हामीसँग परीक्षणका लागि धेरै समय छैन,’ सन्दीपले भने, ‘म जहिल्यै पनि जित्न चाहन्छु, मलाई पराजय स्वीकार्य छैन । बारम्बार हामी खाली त्यही एउटा कारण दिएर पन्छिन सक्दैनौं ।’

प्रकाशित : जेष्ठ २८, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

चोरी सिकारका आरोपित छुटे, कुकुर थुनामा

राजबहादुर शाही

मुगु — डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।

गत चैत १४ मा मुगुम कार्मारोङ–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक तामाङ समातिएका थिए । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।

जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।

सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेन । जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले भने, ‘चोरी सिकारीको मुद्दामा कुकुर भन्ने शब्द उल्लेख गरिएको छैन, कसरी आदेश दिने ?’ अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले अझैसम्म थुनेर राखेको हो ।

घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको अदालती बयानमा दावाछोर्देनले बताएका छन् । उनले घोरल मारेको र घरनजिक चौतारामा बसेको गाउँलेले देखेपछि घटना प्रहरीले चाल पाएको थियो । मारेको घोरल र सिकारी कुकुरसहित ४ जनालाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

डिभिजन वन अधिकृत गगन महताराले कुकुरका विषयमा अदालतबाट कुनै आदेश नआएकाले त्यत्तिकै छाड्ने वा मार्ने भन्ने टुंगो नलागेको बताए । प्रतिवादी छुटे पनि थुनामै रहेको कुकुरको हेरविचार गर्दा भने वन कार्यालयलाई आपतै परिरहेको छ । कुकुरको खान्कीमा मात्र २५ हजार खर्च भइसकेको महतारा बताउँछन् । वन कार्यालयमा पशुपन्छीलाई दाना खुवाउने भनेर बजेट छुट्याइएको हुन्छ, जसमा कुकुरबारे उल्लेख नभए पनि त्यही बजेटबाट कुकुरको खान्की पुर्‍याइएको छ । उनले भने, ‘सिकारी कुकुर भएकाले थुनामा समेत मासुभात खुवाउँदै राख्नुपरिरहेको छ ।’

वन्यजन्तुलाई हानिनोक्सानी पुर्‍याउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन् । महताराले भने, ‘कुकुर सिकारी हो, त्यसलाई छाड्यो भने घर फर्किन्छ । त्यसले फेरि जंगली जनावर मार्छ ।’ यस्तोमा राष्ट्रिय निकुञ्ज ऐनअनुसार आदेश लिएर सिकारी कुकुरलाई मार्ने नियम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । तर यसबारे कार्यालयले निर्णय गर्न सकेको छैन । मुगुम कार्मारोङ गाउँपालिकाको चितैगाउँमा पर्ने वन क्षेत्रमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×