१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शाहीलाई ‘ड्रिम फाप्ला’ साकार पार्ने जिम्मेवारी

मोहन बुढाऐर

धनगढी — नेपाल सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा अभियन्ता सुवास शाहीलाई नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्यमा मनोनीत गरेको हो । शाही र दियाकोटीले बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट नियुक्तिपत्र बुझेका छन् ।

शाहीलाई ‘ड्रिम फाप्ला’ साकार पार्ने जिम्मेवारी

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९ अनुसार दुई जना सरकारबाट मनोनीत र ७ जना पदेन सदस्य रहने व्यवस्था छ । गत वैशाख २६ मा उक्त आदेश राजपत्रमा प्रकाशित भएको थियो ।

उक्त आदेशबमोजित मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिएको हो । नियुक्ति पत्र बुझ्दै अध्यक्ष शाहीले जीवनमा सबैभन्दा ठूलो खुसी मिलेको र सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् । शाही नै कैलालीको धनगढी उपमहानगरपालिका–३ को मोहना नदी किनारको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि सपना देख्ने ब्यक्ति हुन् । उनले जुन दिन सपना देखे त्यही दिनदेखि ‘ड्रिम फाप्ला’ को अभियान चलाएका थिए ।

उनी ड्रिम फाप्लाको अभियानलाई साकार रूप दिन लागिपरेको दस वर्ष भएको छ । सरकारले वैशाख २६ मा फाप्ला क्रिकेट मैदान र खेलग्राम पूर्वाधार निर्माणलाई राष्ट्रिय प्राथमिकताको योजना राख्ने घोषणा गरेपछि ड्रिम फाप्लाको अभियानले साकार रूप लिने उनले विश्वास गरेका थिए । तर, एक वर्ष नपुग्दै सरकारले शाहीलाई नै पूर्वाधार निर्माण समितिको अध्यक्षमा नियुक्त गरेर ड्रिम फाप्लालाई साकार पार्ने जिम्मेवारी सुम्पेको छ ।

धनगढीको मुख्य सहरबाट ३ किलोमिटर बोराडाँडीदेखि पश्चिम मोहना नदी छेउको गौचरणमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने घोषणाले स्थानीयवासी खुसी भएका छन् ।

शाहीको नेतृत्वमा सन् २०१५ देखि नै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान थालिएको थियो । गौचरणका रूपमा रहेको फाप्लालाई शाहीले स्तरोन्नति गर्दै सुरुमा स्थानीय लिगहरू सञ्चालन गरेका थिए । नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रूपमा धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजना शाहीले फाप्लामै गराएपछि यसले चर्चा पाएको थियो ।

अध्यक्ष शाहीले विकास समिति गठनसँगै अब फाप्ला अन्तर्राष्ट्रिम क्रिकेट मैदान निर्माणको कामले गति पाएको बताए । उनले आफ्नै नेतृत्वमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम बनाउने अभिभारा सुम्पेको नेपाल सरकारप्रति आभार व्यक्त गरे । गठन आदेशमा तीन वर्षको कार्यकाल रहेको छ । यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्न सक्ने आदेशमा उल्लेख छ । अध्यक्ष शाहीले आफ्नै कार्यकालमै क्रिकेट रंगशाला निर्माण भइसक्ने दाबी गरेका छन् ।

उनका अनुसार गठित समितिले क्रिकेट मैदान तथा खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन तयारी गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा वातावरणीय मूल्यांकन गराउने र स्रोत जुटाउनेलगायतका मुख्य जिम्मेवारी पहिलो चरणभित्र परेको छ । शाहीको अध्यक्षतामा बन्ने ९ सदस्यीय समिति सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहनेछन् । सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पदेन सदस्य हुनेछन् । खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका महिलामध्येबाट सरकारले मनोनयन गर्ने एक सदस्यमा कल्पना दियाकोटी रहेकी छन् ।

प्रकाशित : जेष्ठ २६, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?