वेल्सको ठूलो उपलब्धि- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेल्सको ठूलो उपलब्धि

रोयटर्स

कार्डिफ — वेल्सले अन्तिम पटक विश्वकप खेलेको पनि ६२ वर्ष भइसकेको छ । तर कतारमा हुने अबको प्रतियोगिताका लागि छनोट भइसकेयता निमित्त व्यवस्थापक रब पेज समूह चरणमा आफ्नो टिमको पर्याप्त सम्भावना देख्छन् । वेल्सले प्लेअफ फाइनलमा युक्रेनलाई १–० ले हराएर विश्वकप अन्तिम चरणलाई छनोट भएको थियो । अब समूह ‘बी’ को खेलमा वेल्सले छिमेकी इंग्ल्यान्डसँगै अमेरिका र इरानको सामना गर्नेछ ।

पेजले भनेका छन्, ‘हामीले यसअघि अमेरिकासँग खेलिसकेका छौं र यो बलियो टिम छ । अमेरिकाका धेरै खेलाडी युरोपमा खेल्छन् । मलाई लाग्छ, इरानविरुद्धको खेल हामी जित्न सक्छौं । कतारमा हामी आत्मविश्वासले खेल्नेछौं । हामी सबै प्रतिद्वन्द्वी टिमविरुद्ध समान हैसियतले खेल्छौं । अहिले हाम्रो टिमको आत्मविश्वास पनि त्यहीअनुसार बढेको छ ।’

वेल्ससँग विश्वकप खेलेको अनुभव पुरानो भइसककेको भए पनि अहिलेको टिमसँग दुई संस्करणको युरो खेलेको अनुभव छ । युरो २०१६ मा क्रिस कोलमनको व्यवस्थापनमा वेल्सले क्वाटरफाइनलमा बेल्जियमलाई स्तब्ध पारेको थियो । सेमिफाइनलमा भने वेल्स क्रिस्टियानो रोनाल्डोसहितको टिमसँग पराजित रह्यो । वेल्स गत वर्ष युरो २०२० मा भने टर्की र स्विट्जरल्यान्ड सम्मिलित कठिन समूहबाट अन्तिम १६ मा पुगेको थियो । त्यसमा वेल्स डेनमार्कको हातबाट पराजित रह्यो । यी दुई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि वेल्समा फुटबल समर्थक बढेको छ ।

‘हाम्रो देशको खेलकुद भन्नु नै रग्बी हो । हामीसँग कार्डिफ सिटी र स्वान्सी सिटी जस्ता टिम नभएका पनि होइनन् । तर, रग्बी नै नम्बर एक खेल रहेको छ । अब यसमा विस्तारै परिवर्तन आइरहेको छ । यसको कारण हाम्रा खेलाडीले राम्रो मात्र खेलेका छैनन्, नतिजा पनि ल्याइरहेका छन् । जतिबेला जित हात पार्छ, त्यसमा सबैको नजर पर्छ ।’ व्यक्तिगत आरोपमा रायन गिग्सले प्रशिक्षकको भूमिका छाडेपछि अहिले वेल्स टिमको जिम्मा पेजको काँधमा छ ।

यसको धेरै अर्थ छ : वेल

गारेथ वेलले कतारमा हुने विश्वकपमा छनोट हुनु वेल्स फुटबलका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन् । युक्रेनी कप्तान आन्द्रे यारमिलेन्कोले गरेको आत्मघाती गोल वेल्सकै सटिक फ्रिकिकमा सम्भव भएको थियो । खेलपछि बेलले भने, ‘वेल्स फुटबल इतिहासमा यो सबैभन्दा ठूलो उपलब्धि हो र यसको धेरै अर्थ छ । हामीले विश्वकप खेल्ने सपना बुनेका थियौं र अहिले त्यो पूरा भएको छ । अहिले कस्तो अनुभव भइरहेको छ, त्यसको बयान गर्न सकिन्न ।’

उनले थपे, ‘विश्वकपमा छनोट हुनका लागि हामीले आफ्नो खेलजीवनमा मिहिनेत गरेका छौं । यो वेल्स फुटबल समर्थक, हामी र हाम्रो परिवार र पूरा देशकै लागि गर्व महसुस गर्ने समय हो । यसमा हामी सबैले खुसीयाली मनाउन सक्छौं । वेल्स फुटबलमा यो उपलब्धिले अझ अगाडि बढ्न मदत गर्नेछ ।’ बेलले पनि विश्वकपको समूह चरणमा आफ्नो टिमले राम्रो गर्नसक्ने पर्याप्त मौका रहेको दाबी गरे ।

प्रकाशित : जेष्ठ २४, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्

एसियन कप चीनमा नहुने

रोयटर्स

हङकङ — कोभिड–१९ द्वारा सिर्जित परिस्थितिको कारण चीन एसियन कप २०२३ आयोजकको रूपमा नरहने जनाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ आयोजक देशबारे निर्णय गर्ने प्रक्रियामा रहेको बताएको छ ।

प्रत्येक चार वर्षमा भइरहेको यो प्रतियोगितामा महादेशका २४ वटा राष्ट्रिय टिमले खेल्ने गर्दछ र यो दस सहरमा अर्को वर्षको जुन १६ देखि जुलाई १६ सम्म सञ्चालन गर्ने तय गरिएको थियो ।

‘एएफसीलाई सीएफए (चिनियाँ फुटबल संघ) ले औपचारिक रूपमा एसियन कप २०२३ आयोजना गर्न नसक्ने सूचना दिएको छ,’ एएफसीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘एएफसी कोभिड–१९ महामारीबाट आएको असाधारण परिस्थितिलाई स्वीकार गर्दछ कि त्यसैको कारण चीनले आयोजनाको अधिकार त्यागेको छ ।’

यो खबर चिनियाँ सामाजिक सञ्जाल वेइबोमा शनिबार ट्रेन्डिङमै रह्यो । उक्त समाचार एक घण्टाभित्रै झन्डै ६ करोडले पढेका थिए । धेरै पाठकले शून्य कोभिड नीतिका कारण अर्को वर्षका लागि प्रतियोगिता सारेको बुझेर सोधेका थिए भने अरूले नयाँ निर्माण गरिएका र मर्मतसम्भार गरिएका १० रंगशाला के हुन्छ भनेर प्रश्न गरे । केहीले फिफा वरीयतामा ७७ औं स्थानमा रहेको धेरै बदनाम भएको पुरुष राष्ट्रिय टिमका लागि राम्रो भएको भन्दै व्यंग्य गरे, ‘अब राष्ट्रिय टिमले सुधार गर्ने पर्याप्त समय पाएको छ । कडा मिहिनेतलाई कायम राख ।’

चीनले महामारीलाई परास्त गर्ने प्रयासमा प्रभावित भएको ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा यो एसियन कप सबभन्दा पछिल्लो हो । अघिल्ला महिना एसियाली ओलम्पिक परिषद् (ओसीए) ले बृहत् खेलकुद प्रतियोगिता एसियाली खेलकुद २०२२ पनि स्थगित गरेको थियो, जुन हाङजोउमा आयोजना गर्ने तय गरिएको थियो ।

ओमिक्रोन भेरिएन्ट तीव्र फैलिएपछि शून्य–कोभिड नीति र देश र सहरमा कडा निगरानी गरेको चीनले सन् २००४ यता पहिलोपल्ट एसियन कप आयोजना गर्न लागेको थियो । सांघाईमा लकडाउन गरिएको एक महनिा बढी भयो । बेइजिङलगायत अन्य सहरमा थप कडाइ गर्दै परीक्षणलाई तीव्रता पारिएको छ र लकडाउनतिरै लक्षित गरिएको छ ।

महामारी सुरु भएयता चीनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित वा रद्द गरेको छ । गत फेब्रुअरीमा स्वास्थ्यमा निक्कै कडा निगरानी गर्दै विन्टर ओलम्पिक भने आयोजना गरेको थियो । सन् २०१९ देखि चाइनिज फर्मुला वान ग्राँ प्री आयोजना गरिएको छैन । चिनियाँ खेलाडी पेङ सुईको सरक्षामा गम्भीर हुँदै डब्लूटीए (वर्ल्ड टेनिस एसोसिएसन) ले प्रतियोगिता निलम्बन गरिएको छ । यो वर्ष सांघाई मास्टर्स र चाइना ओपनसहित चार एटीपी इभेन्ट्स चीनमा हुने तालिका थियो ।

चाइनिज सुपर लिगको नयाँ सिजन कहिले सुरु हुने भन्ने अहिलेसम्म घोषणा गरिएको छैन । यो जुलाईमा हुने इस्ट एसियन च्याम्पियनसिपको आयोजना अधिकार पनि सीएफएले पाएको थियो, जुन प्रतियोगिता अब जापानमा हुँदै छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×