२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

१० औं कान्तिपुर हाफ म्याराथन शनिबार बिहान

काठमाडौँ — ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण शनिबार (जेठ २१) हुने भएको छ । सिटी म्याराथनको अवधारणामा अगाडि बढाइएको कान्तिपुर हाफ म्याराथनको पछिल्लोपल्ट २०७६ जेठ ११ मा भएको थियो ।

१० औं कान्तिपुर हाफ म्याराथन शनिबार बिहान

महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजक कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले जनाएको छ । हाफ म्याराथनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा १ हजार ५ सयभन्दा बढीले नाम दर्ता गराएको केएमजीले जनाएको छ ।

सामाजिक विषयवस्तुलाई अभियानको रूपमा सञ्चालन जनचेतना जगाउने उद्देश्यमा कान्तिपुर हाफ म्याराथन सुरु भएको हो । पछिल्लोपल्ट ‘एन्टी पोलुसन रन’को रुपमा नवौं संस्करण सम्पन्न भएको थियो । उक्त संस्करण पुरुषतर्फ अनिश थापामगर र महिलातर्फ विश्वरुपा बुढाले जितेका थिए ।

अनिशले १ घन्टा ०८ मिनेट ०४ सेकेन्ड र विश्वरुपाले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।

कोभिड–१९ महामारीका कारण पछिल्लो दुई वर्ष यो हाफ म्याराथन प्रभावित भई आयोजना हुन सकेको थिएन ।

म्याराथनमा सहभागी हुनेले विभिन्न एउटा बिरुवा (वनस्पति) साथै लैजान पाउनेछन्, जसलाई आफ्नो घर वा कार्यालयमा सजाउन सकिनेछ । हाफ म्याराथनमा देशकै नाम चलेका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । २१.१ किमिमा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमश : ५० हजार, ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

विभिन्न कर्पोरेट हाउसमा संलग्न व्यक्तिहरूका लागि ५ किमिको कर्पोरेट विधा राखिएको छ । विजेतालाई पोखरा र दोस्रो हुनेलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेजको व्यवस्था गरिएको छ भने तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट हात पार्नेछन् । शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि ह्विलचियर दौड निकै रोचक हुने गर्छ । यो रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेले ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

एनआईसी एसिया बैंक मुख्य प्रायोजक रहेको कान्तिपुर हाफ म्याराथनलाई नेपाल एथलेटिक्स संघको पनि मान्यता रहेको छ । तीन महिनाभित्र अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगितामा सहभागिता जनाए खेलाडी छनोटको आधार यसै प्रतियोगितालाई लिइने संघले जनाएको छ ।

दौडको सुरुआती र अन्तिम बिन्दु कान्तिपुर पब्लिकेशन्सको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क हुनेछ । ह्विलचियर रेस थापाथलीबाट सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारबाट घुमेर पुन: थापाथलीमै आएर सकिनेछ । ५ किलोमिटर कर्पोरेट दौड थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुनेबाट फर्किएर पुन: सोही रुटमा थापाथली आएर टुंगिनेछ ।

हाफ म्याराथन पनि थापाथलीबाटै सुरु हुनेछ । माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर सकिनेछ ।

कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणसम्म आइपुग्दा महिलातर्फ कान्छीमाया कोजु पाँचपल्ट र पुरुषतर्फ आर्मीका हरिकुमार रिमाल चारपल्ट च्याम्पियन भइसकेका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७९ २३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?