१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आरोही ओलम्पियन सब्रिनासँग सदस्यसचिवको भेटघाट

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी सब्रिना फिल्जमोसर शुक्रबार भेटघाट गरेकी छन् ।

आरोही ओलम्पियन सब्रिनासँग सदस्यसचिवको भेटघाट

सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् । सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

सदस्य–सचिव घिसिङले सब्रिना र उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गरे । सब्रिना पनि आईजेएफको कमिटीमा आबद्ध छन् ।

सदस्य–सचिव घिसिङले सगरमाथा सफलतापूर्वक आरोहण गरेकोमा सब्रिनालाई बधाइ दिँदै खेलाडीले खेल्नुका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन सब्रिना सफल भएको बताए । सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्यसचिव घिसिङलाई जानकारी गराइन् ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन् । त्यहाादेखी बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरेकी थिइन् । त्यो यात्रामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गरेका थिए । सदस्य–सचिव घिसिङले उनीहरुलाई पनि मायाको चिनो प्रदान गरे ।

सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । विश्व च्याम्पियनसिपमा २ कांस्य सब्रिनाको नाममा छ । युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै भइन् । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् । सब्रिना जुन ८ तारिखमा स्वदेश फर्किदै छिन् ।

प्रकाशित : जेष्ठ २०, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?