फ्रेन्च ओपन : स्वाटेक र झेङ भिड्ने

एएफपी

पेरिस — विश्व नम्बर एक इगा स्वाटेक लगातार ३१ खेल जित्दै शनिबार फ्रेन्च ओपन टेनिसको उपाधि होडमा कायम रहने शीर्ष दसकी एक्ली खेलाडी भएकी छन् । तेस्रो वरीयताकी स्पेनकी पाउला बाडोसा र सातौं वरीयताकी बेलारुसकी आर्यना सबालेन्का भने तेस्रो चरणबाटै बाहिरिएका छन् ।

फ्रेन्च ओपन : स्वाटेक र झेङ भिड्ने

सन् २०२० की च्याम्पियन स्वाटेकले तीनपल्ट सर्भिस गुमाए पनि ९५ औं वरीयताकी मोन्टोनेग्रोकी डान्का कोभिनिकमाथि ६–३ र ७–५ को जित रचिन् । कोभिनिचले दोस्रो सेटमा १–४ ले पछाडि परेको स्थितिमा सुधार गरेर ५–४ को अग्रता लिएकी थिइन् । तर, पोलिस खेलाडीले खेल नियन्त्रणमा लिँदै उत्कृष्ट सर्भिसमार्फत जित निकालिन् ।

‘म वास्तवमै आक्रामक खेल्न चाहन्थें तर कहिलेकाहीं लाग्थ्यो कि मैले अलि बढी नै शक्ति लगाएर प्रहार गरिरहेकी थिएँ, जसलाई नियन्त्रण गर्न गाह्रो भइरहेको थियो,’ २० वर्षीया स्वाटेकले भनिन् । स्वाटेकले लगातार हात पारेको जित टुरमा अमेरिकी सेरेना विलियम्सले सन् २०१३ मा निकालेको निरन्तर ३४ जितयताकै उत्कृष्ट हो । उनले अर्को चरणमा चिनियाँ किशोरी झेङ क्विनवेनको सामना गर्नेछिन् ।

डेब्युमै अन्तिम १६ मा स्थान बनाएकी झेङले लगातार ६१ औं ग्रान्ड स्लाम खेलिरहेकी फ्रान्सकी भेट्रान एलिजे कोर्नेटले प्रतिस्पर्धा त्यागेपछि सफलता पाएकी थिइन् । उनी ४४ मिनेटभित्र ६–०, ३–० ले अगाडि रहेको अवस्थामा कोर्नेट रिटायर्ड भएकी थिइन् । चिनियाँ ली नाले सन् २०११ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । पेरिसमा अन्तिम १६ मा पुग्ने चौथो चिनियाँ बन्नेक्रममा झेङले यसअघि २०१८ की च्याम्पियन सिमोना हालेपलाई दोस्रो चरणमा हराएकी थिइन् ।

‘मैले गनुपर्ने सबै गरेकी थिएँ,’ १९ वर्षीया झेङले भनिन्, ‘मलाई सधैं थाह थियो कि मैले स्तर राम्रो बनाउनुपर्छ । अब यसलाई कायम राख्न चाहन्छु ।’

गत वर्ष क्वाटरफाइनल पुगेकी स्पेनी बाडोसा यसपालि चोटका कारण अन्तिम ३२ बाटै बाहिरिनुपर्‍यो । उनले रुसकी भेरोनिका कुडर्मेटोभा विरुद्ध ६–३, २–१ ले पछाडि रहेको अवस्थामा खेल त्यागेकी थिइन् । सबालेन्काको चुनौती इटालीकी क्यामिला जर्जीले ४–६, ६–१, ६–० ले समाप्त पारिन् । क्यामिला पहिलोपल्ट चौथो चरणमा प्रवेश गरेकी हुन् । पुरुषतर्फ शीष १० का खेलाडीमध्ये नौजना अझै प्रतिस्पर्धामा छन् । विश्व नम्बर एक डानिल मेद्भेदेभले सर्बियाली मियोमिर केच्मानोभिच (२८ औं वरीयता) लाई ६–२, ६–४, ६–२ ले पराजित गरे । तेस्रो चरणसम्म मेदभेदेभले कुनै पनि सेट गुमाएका छैनन् । उनले अन्तिम १६ को लागि यूएस ओपन च्याम्पियन मारिन सिलिच वा फ्रान्सेली जिल्स सिमोनविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

रुसका मेदभेदेभ गत वर्ष क्वाटरफाइनल पुग्नुअघि पेरिसमा सुरुका चार यात्रामा पहिलो चरणबाटै फर्किएका थिए । ‘यो निकै कठिन रह्यो,’ युएस ओपन च्याम्पियन रहेका उनले भने, ‘सबैले भनिरहेका छन् कि पहिलो चरण पनि पार नगरी म कसरी विश्व नम्बर २ भएँ ।’ उनले करिअरका १३ मध्ये १२ उपाधि हार्डकोर्टमा जितेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?