कृतिकाको कप्तानीमा टोली- खेलकुद - कान्तिपुर समाचार

कृतिकाको कप्तानीमा टोली

कान्तिपुर संवाददाता

काठमाडौँ — कृतिका मरासिनीको कप्तानीमा नेपालले मलेसियामा हुने आईसीसी यू–१९ विश्वकप एसिया क्वालिफायरका लागि अन्तिम टोली छनोट गरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले जेठ २० देखि मलेसियामा हुने प्रतियोगितामा १४ सदस्यीय टोली चयन गरेको छ । नेपालले जेठ २० मा कतार, जेठ २१ मा यूएई, जेठ २३ मा भुटान, जेठ २४ मा थाइल्यान्ड र जेठ २५ मा आयोजक मलेसियाविरुद्ध खेल्ने तालिका छ ।

नेपाली टिम शीर्षस्थानमा रहन सके अर्को वर्ष (सन् २०२३) दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । यू–१९ महिला विश्वकप पहिलोपल्ट हुन लागेको हो । कृतिकासहित स्नेहा महरा (उपकप्तान), सृष्टि जैसी, मनीषा उपाध्याय, मनीषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रवीण, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुसाल छन् ।


प्रकाशित : जेष्ठ १५, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

‘मंकीपक्स’ मा सतर्कता जरुरी

ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए हटलाइन १११५ मा जानकारी गराउन स्वास्थ्य मन्त्रालयको अनुरोध
अतुल मिश्र

काठमाडौँ — बीसभन्दा बढी मुलुकमा देखिएको ‘मंकीपक्स’ रोगबाट नेपाल पनि जोखिममा परेको छ । विश्वको कुनै एक भागमा संक्रमण फैलिएपछि हजारौं किलोमिटर टाढा रहेका मुलुकसमेत जोखिममा रहने र संक्रमण विस्तार हुन सक्ने भएकाले सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् । नेपालमा यो भाइरस हालसम्म देखिएको छैन ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले मंकीपक्सको शंकास्पद केस नेपालमा पत्ता नलागे पनि निरन्तर निगरानी गरिरहेका जानकारी दिए । ‘धेरै डराउनु पर्दैन तर सबै सचेत हुन आवश्यक छ,’ उनले भने । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सल्लाह र जानकारीका आधारमा सम्भावित संक्रमणविरुद्घको रणनीति बनाइरहेको पनि उनले बताए । स्वास्थ्य मन्त्रालयले कुनै व्यक्तिलाई ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा दाग वा डाबर देखिए हटलाइन १११५ मा जानकारी गराउन आग्रह गरेको छ ।

मंकीपक्स देखिएका मुलुकबाट आएकालाई कम्तीमा तीन सातासम्म स्वास्थ्य निगरानीमा राख्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । ‘प्रभावित देशबाट आउनेलाई सरकारले निगरानीमा राख्नुपर्छ,’ ईडीसीडीका पूर्वनिर्देशक डा.जीडी ठाकुरले भने, ‘आमव्यक्तिमा संक्रमणबारे सुसूचित गर्न जरुरी छ ।’

डब्लूएचओका अनुसार यो भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट अर्को व्यक्तिमा सर्छ । श्वासप्रश्वास, थुक, र्‍याल, संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट सर्ने जोखिम रहन्छ । बालबालिका, गर्भवती र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको गम्भीर संक्रमण देखिने गरेको छ । संक्रमण भएदेखि सामान्यतया ६ देखि १३ दिन शरीरमा लक्षण देखिन सक्छ । कहिलेकाहीं यो समय ५ दिनदेखि २१ दिनसम्म पनि हुने विज्ञ बताउँछन् ।

यसको प्रारम्भिक लक्षण मौसमी रुघाखोकी (फ्लु) जस्तै हुन्छ । मंकीपक्स संक्रमण देखिएका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, कम्मर दुख्ने, जीउ काम्ने र थकाइ लाग्ने लक्षण देखा पर्छन् । त्यसपछि बिफरमा जस्तै पीप भएको खटिरा आउँछ र त्यो शरीरभरि फैलिएर केही दिनमा सुक्छ । खटिरा सुके पनि बिफरमा जस्तै दाग बस्ने विज्ञहरूको भनाइ छ । संक्रमण जटिल बनेको खण्डमा मस्तिष्क ज्वर, आँखाको दृष्टि गुम्ने, निमोनियाजस्ता थप जटिलता देखिन सक्छन् । हालसम्म मंकीपक्सको संक्रमणको मृत्युदर सामान्य जनसंख्यामा ० देखि ११ प्रतिशतसम्म छ ।

मंकीपक्स भाइरस सन् १९५८ मा पहिलोपटक खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइयो । मान्छेमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसताका यो संक्रमण कंगो र मध्य एवं पश्चिम अफ्रिकालगायतका मुलुकमा देखिइसकेको छ ।

डब्लूएचओले शुक्रबार आयोजना गरेको ‘लाइभ टेक्निकल ब्रिफिङ’ मा पछिल्लो तीन सातामा २० मुलुकमा यो भाइरस फैलिएको, दुई सयभन्दा धेरै केस प्रमाणित भएको र थप एक सयभन्दा बढी शंकास्पद केस रहेको जनाइएको छ । गत मे ७ मा बेलायतको एक प्रयोगशालाले डब्लूएचओलाई सूचित गर्दै मंकीपक्सको पहिलो केस पुष्टि गरेको थियो । डब्लूएचओकी संक्रामक रोग महामारी विशेषज्ञ मारिया भान केरखोवले शंकास्पद वा प्रयोगशालामा प्रमाणित बिरामीलाई अलग्गै राखेर उपचार व्यवस्था गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङसमेत गर्नुपर्ने बताइन् ।

हालसम्म मंकीपक्सविरुद्ध खोप पत्ता लागेको छैन । तर, मंकीपक्स बिफर (स्मल पक्स) परिवारकै एक भाइरस भएकाले बिफरविरुद्धको खोपले केही हदसम्म जोगाउने डब्लूएचओले जनाएको छ ।

डा. ठाकुर पनि बिफरको खोप मंकीपक्सका लागि ८० देखि ८५ प्रतिशत प्रभावकारी देखिएको बताउँछन् । बिफर उन्मूलन भएको भन्दै नेपालमा ४२ वर्षअघि नै खोप लगाउन बन्द गरिएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×