खुला दौड प्रतियोगिताको उपाधि अजय र अनिषालाई

अमृता अनमोल

बुटवल — गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा बुटवलमा आयोजित खुला दौड प्रतियोगिता (रोड रेस) को उपाधि कपिलवस्तुका अजय पाण्डे र घोराहीकी अनिषा चौधरीले पाएका छन् ।

खुला दौड प्रतियोगिताको उपाधि अजय र अनिषालाई

लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना भएको थियो ।

कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पसका पाण्डेले १६ मिनेट ३० सेकेन्डमा पाच किलोमिटरको दुरी पार गरेका थिए । प्रतियोगितामा नवीन औद्योगिक माविमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दुरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए । कालिका मानवज्ञानका राजन बलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए ।

यसैगरी महिलातर्फ दाङको घोराहीकी अनिषा चौधरीले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरी प्रथम भएकी थिइन् । यसैगरी कालिका माविकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दुरी पार गदै प्रतियोगितामा तेस्रो भइन् ।

लुम्बिनी प्रदेशमा भौतिक पुर्वाधारसंगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम गरिएको परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्र पाउनेछन् । उनीहरुलाई आइतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने छ ।

त्यसअघि कार्यक्रमको एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताएका थिए । दौड प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मी लगायतका एक सय बढी खेलाडीहरु सहभागी रहेका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?