च्याम्पियन्स लिग फाइनल

'फाइनलको मज्जा लिने हो'

एएफपी

म्याड्रिड — कार्लो एन्सेलोट्टी जत्तिको अनुभवी र शान्त प्रशिक्षक बिरलै पाइएला । रियल म्याड्रिडले उनलाई सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो । र, सफलता पनि मिलेको छ रियललाई । यसकै एउटा कडी हुनेछ रियलले शनिबार खेल्ने युरोपेली च्याम्पियन्स लिगको फाइनल । अहिलेसम्म कोही पनि प्रशिक्षकले पाँचपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको कीर्तिमान छैन । जुन अब यी ६२ वर्षीय प्रशिक्षकमा नाममा बन्ने छ । 

'फाइनलको मज्जा लिने हो'

अझ पछिल्ला चार फाइनलमध्ये तीनमा उनको टिम नै विजयी छ । यसमध्ये पनि पहिलो सफलता सन् २००३ मा मिलेको थियो । दुई दशकजति अगाडि एसी मिलानका लागि । तर, उनी जत्तिका प्रशिक्षक भने च्याम्पियन्स लिगको फाइनल भनेपछि आत्तिने रहेछन् । उनले ठट्यौलो पारामा भनेका छन्, ‘खेल अगाडिको ३–४ घण्टा वास्तवमै निकै तनावपूर्ण हुन्छ । शारीरिक रूपमा पनि यो समय गाह्रो हुन्छ । यसपल्ट मैले अलि बढी नै तनाव बेहोरेको छु ।’

खचाखच भरिएको मिडिया कन्फ्रेन्समा उनले थपे, ‘म त खेलको तनावले पसिना–पसिना हुने गर्छु । मनको ढुकढुकी बढ्ने गर्छ र मनमा अनेक खराब विचार आउने गर्छन् । फुटबलमा यस्तो स्थिति हुँदा त्यसबाट बच्नका लागि अहिलेसम्म कुनै पनि औषधि बनेको छैन । हाम्रो काम भनेको त्यसलाई सामना गर्ने नै हो ।’ उनले यस्तोभन्दा पत्रकारमाझ हाँसो फुटेको थियो । यसै क्रममा उनले थपे, ‘फाइनलमा खेल हेर्ने र त्यसको मज्जा लिने त हो ।’

अझ उनी भन्छन्, ‘हामी शान्त र चुपचाप छौं । लिभरपुल पनि शान्त र चुपचाप छ । सबै खुसी छन् । निश्चित छ फाइनलका बेला रमाइलो वातावरण रहनेछ । खेल जति–जति नजिक आउने गर्छ, सबैको तनाव बढ्ने गर्छ । खासमा यो स्वाभाविक छ, सामान्य छ । अहिले तत्काल हामीले सोच्ने भनेको एक अर्को फाइनल खेल्न लागेका छौं भनेर मात्र हो ।’ तर यत्तिभन्दा पनि उनी आफ्ना खेलाडीलाई राम्रो खेल्न प्रेरित गर्न माहिर छन् ।

रियलले यसपल्ट स्पेनी ला लिगा चार चरणको खेल बाँकी छँदै जितेको थियो । लिग टुंगिँदा रियललाई दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि १३ अंकको अग्रता प्राप्त थियो । केही महिनाअगाडि मात्र रियलमा रक्षापंक्तिको समस्या थियो, सर्जियो रामोस र राफेल भाराने गएपछि । त्यसलाई पनि एन्सेलोट्टीले ठीक पारिसकेका छन् । अहिलेको टिममा उनले एक नयाँ स्टार पनि खोजेका छन् । उनी हुन् भिनिसियस जुनियर । उनी भर्खर २१ वर्षमात्र पुगेका ब्राजिली खेलाडी ।

यी खेलाडीलाई लिएर एन्सेलोट्टी भन्छन्, भिनिसियस जुनियरको खुट्टामै मोटरबाइक छ जस्तो लाग्छ । त्यसमाथि रियलसँग करिम बेन्जेमा जस्ता खेलाडी पनि छन् । एन्सेलोट्टी भन्छन्, ‘क्लोप र थोमस टचेल त्यस्ता जर्मन रणनीतिकार हुन्, जसले आ–आफ्नो टिममा गहनता ल्याएका छन् । मलाई के लाग्छ भने म आफैं पनि पुरानो पुस्ताका प्रशिक्षकमा पर्दिनँ । मैले फुटबलमा आएको परिवर्तन आफ्नै आँखाले देखेको छु । फुटबल मैदानमा मात्र होइन, दिमागमा पनि खेलिन्छ ।’

प्रकाशित : जेष्ठ १४, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?