२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

'जलवायु परिवर्तन' नारासहित यस वर्षको कान्तिपुर हाफ म्याराथन हुने

काठमाडौँ — नेपाली एथलेटिक्सकै प्रतिष्ठित प्रतियोगिताको रूपमा स्थापित 'कान्तिपुर हाफ म्याराथन' आयोजना हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले १० वर्षयता नियमित रुपमा सञ्चालन गर्दै आएको यस प्रतियोगिता कोभिड १९ महामारीका कारण पछिल्ला तीन वर्ष स्थगित भएको थियो ।

'जलवायु परिवर्तन' नारासहित यस वर्षको कान्तिपुर हाफ म्याराथन हुने

यस वर्षको प्रतियोगिता भने कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यस वर्षको 'कान्तिपुर हाफ म्याराथन' को मुख्य नारा 'जलवायु परिवर्तन' तय गरिएको छ । साथै ह्यासट्यागको रुपमा 'रन फर ग्रीन नेपाल' राखिने बताइएको छ ।

२०६७ सालमा आयोजित 'कान्तिपुर हाफ म्याराथन' पहिलो संस्करणमा एक हजारभन्दा धेरै प्रतियोगी सहभागी थिए। २०६८ सालमा १ हजार ३ सय जनाले दौडमा भाग लिए ।

यस्तै २०६९ सालमा सहभागी संख्या २ हजारभन्दा बढी पुगेको थियो । मुख्य स्पर्धा (२१ दशमलव १ किलोमिटर दूरी)मा मात्रै ८ सय १२ धावकले प्रतिस्पर्धा गरेका थिए ।

२०७० मा हजार ३ सय ६५ जना सहभागी भएका थिए । त्यस्तै २०७१ सालमा २ हजार ३ सय जना थिए भने २०७२ सालमा १ हजार ६ सय ५७ जना सहभागी थिए । २०७३ सालमा भने १ हजार ५ सयभन्दा धेरै दौडिएका थिए ।

२०७५ सालमा २ हजार ५ सय ६० जनाले कान्तिपुर हाफ म्याराथनमा सहभागिता जनाएका थिए। २०७६ सालमा अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार ५ सय जना सहभागी थिए ।

जुन संख्या घरेलु भूमिमा आयोजना हुने दौडमध्ये धेरै सहभागिता मानिएको छ । सबै विधामा गरी यसपटक ४ हजार धावक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

कान्तिपुर हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमी) र ह्वीलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । म्याराथनको पहिलो स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः १ लाख ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। महिलातर्फ यसअघिका आठमध्ये ५ संस्करणमा कान्छीमाया कोजुले उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चार पटक कान्तिपुर हाफ म्याराथन जितिसकेका छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने बताइएको छ ।

कर्पोरेतर्फको विजेतालाई पोखरामा २ रात ३ दिनको घुम्ने प्याकेज उपलब्ध गराइने छ । त्यस्तै दोस्रो हुनेलाई नगरकोटमा १ रातको प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फलाइटको टिकट प्रदान गरिने छ ।

ह्वीलचियरतर्फ पहिलो पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ३० हजार, २० हजार र १० हजार पाउने छन् । कान्तिपुर पब्लिकेशन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवसँगै फागुन ७ गते नै 'कान्तिपुर हाफ म्याराथन' आयोजना गर्दै आएको थियो । तर यसलाई छुट्टै विद्याको रुपमा ८औं संस्करणदेखि फरक मितिमा प्रतियोगिता आयोजना गर्न थालिएको हो ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने 'कान्तिपुर हाफ म्याराथन' थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकने, बानेश्वर, माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

कर्पोरेट दौड सेन्ट्रल बिजनेस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल, अगाडिबाट घुम्ती लगाएर पुन: बानेश्वर, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्क पुगेर टुंगिनेछ ।

सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ह्वीलचियर रेस थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुन: सेन्ट्रल बिजनेस पार्कमै पुगेर टुंगिने छ । यस प्रतिस्पर्धामा गत वर्ष भने माल्दिभ्सका दुई खेलाडी सहभागी थिए । आयोजक संस्था कान्तिपुर पब्लिकेशन्सले यस प्रतिस्पर्धालाई भविष्यमा बृहद् बनाउँदै अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य राखेको छ ।

'कान्तिपुर हाफ म्याराथन' को प्रमुख प्रायोजक एनआईसी एसिया बैंक रहेको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनका लागि द ब्रिटीश कलेज, पाठशाला नेपाल फाउण्डेशन, सिटिजन लाइफ इन्स्युरेन्स, टर्किस एयरलाइन्स, केएफसी, पिज्जा हट, ह्याम्स हस्पिटल, डिश होम फाइबर नेट र वेलडन एड्भरटाइजिङले सहप्रायोजन गरेका छन् ।

आयोजकले प्रतियोगीहरूका लागि नाम दर्ता गर्न कान्तिपुर पब्लिकेशन्सको कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा जेठ ११ गते नै सुरु दर्ता सुरु गरिसकेको जनाएको छ । दर्ता जेठ १७ गतेसम्म खुला रहने बताइएको छ । सहभागी हुन चाहनेले नाम दर्ता गर्न कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट फर्म लिन सक्ने बताइएको छ । साथै kantipur-marathonkmg.com.np बाट फर्म डाउनलोड पनि गर्न सकिने छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?