२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रिमियर गल्फमा शुक्र च्याम्पियन

धराने प्रो शुक्रबहादुर यो सिजनमा तीन उपाधि जित्दै सूर्य नेपाल गल्फ टुरको नम्बर एक प्रो बने

काठमाडौँ — धराने प्रो शुक्रबहादुर राईले अन्तिम चरणमा गोकर्ण गल्फ क्लबमा बिहीबार तीन अन्डर ६९ खेल्दै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । उनले कुल ७२ होलको प्रतियोगिता १९ अन्डर २६९ मा टुंग्याउँदै सिजनको तेस्रो उपाधि कब्जा गरेका हुन् ।

प्रिमियर गल्फमा शुक्र च्याम्पियन

यसै सिजन प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) को प्रतियोगितामा छनोट भएका शुक्रले दोस्रो दिन शीर्षस्थानमा रहेका नीरज तामाङमाथि ६ स्ट्रोकको अग्रता लिँदै करिअरको सातौं उपाधि हात पारेका हुन् । चौथो दिन २ ओभर ७४ खेलेपछि नीरज उपाधि होडमा शुक्रलाई चुनौती दिन असफल भएका थिए । उनको कुल स्कोर १३ अन्डर २७५ रह्यो ।

शुक्रले नीरजमाथि एक स्ट्रोकको अग्रतासहित अन्तिम दिनको खेल सुरु गरेका थिए । उनले सुरुका ९ होल एक अन्डर ३५ मा टुंग्याउँदै दुई स्ट्रोकको अग्रता लिए । शुक्रले पछिल्ला ९ होल दुई अन्डर ३४ मा राख्दै उपाधि पक्का गरे । नीरजले अन्तिम ९ होलमा खराब प्रदर्शन गर्दै दुई ओभर ३८ को कार्ड बनाउन पुगेका थिए ।

कुल १४ लाख ६१ हजार रुपैयाँ पुरस्कार रहेको सूर्य नेपाल गल्फ टुर २०२१–२२ को आठौं तथा अन्तिम प्रतियोगिताको ट्रफीसँगै शुक्रले २ लाख ५० हजार हात पारे । यससँगै उनी सिजनमा ६ लाख ६३ हजार ५ सय पुरस्कार हात पार्दै ‘अर्डर अफ मेरिट’ का आधारमा २०२१–२२ टुरकै नम्बर एक गल्फर भए । उपविजेतामा रोकिएका नीरजले १ लाख ५५ हजार प्राप्त गरे ।

दुई अन्डर ७० स्कोर गरेका भुवन नगरकोटी (समग्रमा १२ अन्डर २७६) तेस्रोमा रहे र उनको भागमा १ लाख १० हजार रह्यो । उनी अघिल्लो सिजनका नम्बर एक प्रो हुन् । तर, उनी टुरमा सिजनको शीर्ष वरीयता कायम राख्न असफल रहे । यो सिजन दुई उपाधि जितेका भुवन कुल ५ लाख ८० हजार ५ सय कमाइसहित वरीयतामा दोस्रो भए । उनलाई अर्डर अफ मेरिट (पुरस्कारका आधारमा वरीयता) मा शुक्रले उछिने ।

अन्तिम चरणमा एक ओभर ७३ खेलेका वान्चेन ढोन्डुपले कल ११ अन्डर २७७ को प्रदर्शनसँगै एमेच्योरतर्फको उपाधि जिते । उनी समग्रमा चौथो स्थानमा रहे । एमेच्योरतर्फ उपविजेता भएका महेन्द्र फगामीको स्कोर १० अन्डर २७८ रह्यो । समग्रमा पाँचौंमा रहेका उनले अन्तिम चरणमा तीन अन्डर ६९ स्कोर गरे । यो सिजनमा टुरकै दुई मुख्य उपाधि जितेका सुभाष तामाङ सात अन्डर २८१ सहित छैटौंमा रहे । अन्तिम चरणमा उनले ५ अन्डर ६७ को कार्ड बनाए ।

इभन पार ७२ स्कोर गरेका पूर्णप्रसाद शर्मा (समग्रमा सात अन्डर २८१) सहित सुभाषसँगै संयुक्त सातौंमा रहे । एमेच्योर आरभ शाह ५ अन्डर २८३ स्कोरसहित आठौंमा रहे । उनले पनि अन्तिम दिन इभन पार ७२ को कार्ड बनाए । भुवनकुमार रोका र रवि खड्का (समान तीन अन्डर २८५) शीर्ष दसमा अटाए । अन्तिम चरणमा भुवनले ७४ र रविले ७३ स्ट्रोक खेले । उदीयमान एमेच्योर सद्भव आचार्य दुई अन्डर २८६ सहित ११ औं स्थानमा रहे । उनले अन्त्मि चरण एक ओभर ७३ मा टुंग्याए ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?